गाउँ सहर

मनै लाेभ्याउने धार्मिक तथा प्राकृतिक पर्यटन क्षेत्र- ‘बडिमालिका’ (फाेटाे फिचरसहित)

बाजुरा । सुदुरपश्चिमकाे बडिमालिका प्रकृतिको अनुपम उपहार हाे । धार्मिक तथा पर्यटकीय दुबै दृष्टिले चर्चित गन्तव्य पनि हाे । ५ महिना हिँउ र ४ महिना कुहिरोले ढाक्ने उक्त क्षेत्रबाट बाजुरासहित अछाम, बझाङ्ग, डडेल्धुरा र डोटी तथा मध्यपश्चिमका कालीकोट, मुगु लगायतका जिल्लामा यो दृश्य नियाल्न सकिन्छ । 

याे क्षेत्र स्थानीयकाे धार्मिक तिर्थस्थल पनि हाे । याे क्षेत्र १४ हजार फिटको उचाईमा रहेको छ । हिउँले ढाक्ने ४ महिना बाहेक अन्य महिना भेडा च्याङ्ग्रा, घोडा खच्चड र भैँसीहरुलाई चरिचरनमा प्रयोग हुन्छ ।

वर्षको दुई पटक गँगा दशहरा र जनै पूर्णिमाको अघिल्लो दिन साउने चतुदर्शीका  दिन भब्य मेला लाग्ने गरेको छ । साे समयमा सुदूरपश्चिम तथा मध्यपश्चिमका सबै जिल्ला र देशका अन्य जिल्लाबाट पनि दर्शनार्थीहरु आउने गरेको मन्दिरका पूजारी भानुभक्त पाध्यायले बताए । 

बाजुरा र कालीकोट जिल्लाको प्रमुख हक रहने गरेको छ । बडिमालिका क्षेत्र जिल्लाको बडिमालिका र त्रिवेणी नगरपालिकाको सिमानामा पर्ने गर्दछ । बडिमालिका त्रिवेणी नगरपालिकाको स्वामित्वमा रहेको छ । 

विगत झैँ यो वर्ष पनि साउन १८ गते मेला लाग्ने भएको छ । मेलाका लागि तत्कालिन डोटी राज्यबाट पठाउने पूजा सामान लिएर सरकारी टोली प्रस्थान गरिसकेको छ । १२ दिन लगाएर डोटीबाट र १० दिन लगाएर जुम्लाबाट सरकारीटोली बडिमालिका पुग्ने गरेको छ । गंगा दशहरामा पनि मेला लाग्ने भएपनि साउने चुतदर्शीका दिन दर्शनार्थीहरुको घुईँचो बढी हुन्छ । 

मालिका देवीको स्वागतका लागि बाजुरा लगायत कालीकोट, डोटी, हुम्ला र जुम्ला जिल्लाबाट सयुक्त टाँगो (पुजापाठमा आवश्यक पर्ने सामाग्री) सहितको टोली आउने गरेको छ । २०६८-६९ को आर्थिक वर्षको बार्षिक बजेटमा बाडिमालिका संरक्षित क्षेत्र घोषणा गरे ता पनि आवश्यक पहल अझै सुरु भएको छैन । यो भने प्रदेश सरकारले प्रमुख गन्तव्यको सूचीमा राखेर लगानी गर्ने प्रस्ताव गरेको छ ।

प्राकृतिक अनुपम सौन्दर्यताले भरिएको शक्ति पीठ बडिमालिका माईको दर्शन गर्नाले मनको इच्छा पुरा हुने विश्वास छ । सो क्षेत्रमा २२ वटा हरियाली फाँटहरु, दुईसय जति प्रजातीका रँगीचँगी, फूलहरु एक सय बढी जातीका बहुमुल्य जडिबुटीहरु, आश्चर्यजनक पौराणिक स्थहरु, हरियाफाँटहरुको बीचबाट बग्ने आकर्षक नदीहरुको सँगम स्थल त्रिवेणी क्षेत्र प्रमुख आर्कषण हुन् । बडिमालिका क्षेत्रको दर्शनपछि फर्किने सबै लुकेको स्वर्गको संज्ञा दिने गर्दछन् । 

शुद्ध आत्म भएका दर्शनार्थी मात्र पार गर्न सक्ने धर्मद्धार आस्थाको केन्द्र विन्दु जस्तै बनेको छ । गंगा दशहरामा तत्कालिन राजपरिवारको सदस्यले हेलिकप्टर लिएर जाने गरेका थिए । बडिमालिका दर्शनका लागि तत्कालिन राजा वीरेन्द्र, महेन्द्र लगायत पुगेको पुजारी भानुभक्त पाध्याय सुनाउँछन् । हालपनि नेपाली सेनाका कर्णेल तहको अधिकारीले पूजा गर्न गरेका छन् । धार्मिक आस्थाको धरोहरको पूजा पाठसँगै सम्म परेका पाटन र अन्य मनोमहक दृश्यको अवलोकन गर्नु प्रमुख लक्ष्य हुने गरेको सैनिक अधिकारी बताउँछन् । 

बडिमालिका क्षेत्रमा हयिालीफाँटमा भेडा र घोडा खच्चडका बथानहरु बर्षादका चार महिनासम्म देख्न सकिन्छ । लोपन्मुख प्रजातीका बन्य जन्तु तथा पशु पँक्षीहरु (डाँफे, मुनाल, कस्तुरी, झारल आदि) पनि भेटिन्छन् । 

पौराणिक समयमा राक्षस र भगवती बीच लडाईँ हुँदा बगेको रगतको अवशेष र राक्षसहरुलाई भगाएको स्थान सुरक्षित छ । यो दृश्य नियाल्न भारतको काशी, उत्तराअञ्चलका विभिन्न क्षेत्रबाट आउने गरेका छन् । खेतीवेती भन्ने स्थानमा धान रोप्नका लागि बनाएका गरा, धानको बीउ खेत जस्ताको तस्तै देखिने आश्चर्यजनक दृष्यले पनि दर्शनार्थीको मन लोभ्याउने गरेको छ । 

निसन्तानीलाई सन्तान, गरिबलाई धन, जस्तै मागेको वर पाइन्छ भन्ने धार्मीक विश्वास छ । यहि आकांक्षा लिएर वर्षेनी हजारौँ भक्तजनहरुले दर्शन गर्ने गरेका छन् । बडिमालिका क्षेत्रमा मार्तडीबाट तीन दिनमा पुग्नुपर्ने मान्यता छ । बीचमा भैँसी गोठ र पाल टाँगेर बस्नु पर्ने बाध्यता छ । 

त्रिवेणीमा पितृकार्य पनि गरिन्छ । सो ठाउँमा कालीकोट र बाजुराले धर्मशाला निर्माण गरेपनि त्यो मासलाई धान्न सक्ने छैन् । दर्शनार्थीको आवास र बसोबासका लागि कुनै व्यवस्था गरिएको छैन् । 

आर्थिक श्रोत संकलन र जिल्लाको पहिचानमा योगदान पुग्ने गन्तव्यलाई नै बेवास्ता गरेको प्रति नागरिक अगुवाहरु गुनासो गर्ने गरेका छन् । बडिमालिका क्षेत्रको विकास गर्नसके सुदूर पश्चिमका अन्य गन्तव्यलाई पनि राज्यको मुल प्रवाहिकरणमा लिन सकिने निश्चित छ । नजिक न्युज 

गाउँ सहर डेस्क

तपाईँको मत