स्वास्थ्य

भारतमा संक्रमण तीव्र, सीमामा खुला आउजाउले नेपालतर्फ जोखिम बढ्याे

काठमाडौं । पछिल्लाे साता नेपालमा काेराेना संक्रमित समुदायमा पुगेकाे स्वास्थ्य विज्ञहरूकाे अनुमान छ । तराईका केही जिल्ला र सुरक्षाकर्मी लगायत घरबाहिर नगएकाहरूमा पनि काेराेना संक्रमण देखिएपछि उक्त अनुमान गर्न थालिएकाे हाे । तर सरकार याे कुरा मान्न तयार छैन । अहिले नेपालमा लकडाउन खुकुलाे पारिएकाे छ । जसले गर्दा मानिसहरू एकअर्काप्रति विभिन्न कारणले सम्पर्कमा पुगेकै छन् । मुख्य कुरा भारतीय सीमानामा कडाई नहुँदा काेराेना संक्रमण जाेखि बढ्ने विज्ञहरूकाे भनाई छ । 

नेपालमा लकडाउन हटेसँगै भारततर्फका सीमा नाकाहरूबाट निस्फिक्री आवागमन हुन थालेको छ । भारतमा संक्रमण तीव्र भइरहेका बेला सीमामा भएको खुला आउजाउले नेपालतर्फ जोखिम बढाएको छ । खासगरी, भारतमा अलपत्र परेका नेपाली र नेपालमा रहेका भारतीयको आउजाउ लकडाउनको अन्त्यपछि बाक्लिएको हो ।

सीमावर्ती भारतीय सहरमा संक्रमण बढ्दो अवस्थामा भएका बेला यस किसिमको निस्फिक्री हिँडडुल र संक्रमित क्षेत्रबाट भित्रिएकाहरू स्वास्थ्य जाँचबिना नै घरतर्फ गइरहेकाले स्थिति जोखिमपूर्ण देखिएको हो ।

नेपाल–भारत सीमा क्षेत्रको सुरक्षाको जिम्मा सशस्त्र प्रहरीलाई छ । सशस्त्र प्रहरीलाई नाकाको तीन–तीन सय मिटरको दूरीमा खटाइएको भए पनि रातको समयमा मानिस आवतजावत गर्ने क्रम रोकिएको छैन । सीमा क्षेत्रमा प्रहरीले कडाइ गरे पनि उनीहरूको आँखा छलेरसमेत आउजाउ भइरहेको सीमा क्षेत्रका बासिन्दाको भनाइ छ ।

नेपालमा लकडाउन हटाइएपछि सडक र बजारमा सवारी साधनसहितको आवागमन र भीड अहिले ह्वात्तै बढेको छ । सम्पूर्ण पसल खुलेका छन् । व्यवसाय र निर्माण कार्य पनि सञ्चालन हुन थालेको छ । सीमावर्ती भारतीय गाउँबाट मजदुरी गर्न नेपालमा ठूलो संख्यामा आउने गर्छन् । घर निर्माण, वायरिङ, प्लम्बर, मार्बल टायल जोड्ने, भारी बोक्ने लगायत कामका लागि भारतबाट कामदार आउने क्रम सुरु हुन थालेको छ । चोरी नाकाबाट उनीहरूको आवागमन हुन थालेको हो ।

परिचयपत्रका आधारमा नेपाल छिरेका उनीहरूले कहाँ पुगेर दिनभरि के कस्तो काम गर्छन् भन्नेबारे प्रशासन बेखबर छ । यहाँका उद्योगी, व्यवसायीले धमाधम भारतीय कामदार बोलाएका छन् । असार अन्तिमसम्म भारतबाट आउनेलाई क्वारेन्टाइनमा बसाउने गरिएको थियो । अहिले सीमावर्ती जिल्लाका विद्यालयमा रहेका अधिकांश क्वारेन्टाइन बन्द भइसकेका छन् । 

सीमापारि उपचार, किनमेल र आफन्तकहाँ आवतजावत गर्न बाधा व्यवधान छैन । सीमामा खटिएका सुरक्षाकर्मी पनि चुपचाप बसेका छन् । अहिले भारतमा तीव्र रूपमा कोरोना भाइरसको संक्रमण फैलिइरहेको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत