विश्व

‘यदि आधारभूत नियमहरु पालना गरिएन भने यो महामारी निरन्तर रहने छ र थप खराब र भयानक हुनेछ’ : डब्लुएचओ

जेनेभा । सरकारहरु प्रभावकारी प्रयास गर्न सफल नभएमा कोरोनाभाइरसको विश्वव्यापी महामारी थप खराब र भयावह बन्दै जाने विश्व स्वाथ्य संगठन (डब्लुएचओ) ले चेतावनी दिएको छ ।

डब्लुएचओका महानिर्देशक डा टेड्रोस एडनोहम गेब्रियेससले धेरै देशहरु खराब दिशामा गइरहेकाे इंगित गर्दै साे कुरा बताएका हुन् । 

संक्रमण रोक्न वा नियन्त्रणमा लिन प्रभावकारी हुने भनेर प्रमाणित भएका उपायहरु बेवास्ता गरिएका देशहरुमा संक्रमण तीव्र गतिमा बढिरहेको उनले बताए ।

उनले भने- विश्वव्यापी महामारीको हालको इपिसेन्टर उत्तर तथा दक्षिण अमेरिका रहेको छ ।

जेनेभमा सोमबार भएको पत्रकार सम्मेलनमा डब्लुएचओका महानिर्देशक डा टेड्रोसले नेताहरुले समान खालको रणनीति नअपनाउँदा समस्या उत्पन्न भएको बताए । नेताहरुबाट आउने फरक खालका सन्देश वा भनाईले महामारी नियन्त्रणमा लिने प्रयासमा सर्वसाधारणको विश्वास टुटेको उनले बताए ।

उनले भनेका छन्, ‘कोरोनाभाइरस अझै पनि मानिसको सबैभन्दा ठूलो शत्रु हो । तर धेरै देश तथा नेता एवम् व्यक्तिहरुका कार्य त्यससँग मेल खाने खालका छैनन् ।’

भौतिक दूरी, हात धुने तथा मास्क लगाउनेसहितका उपायहरु प्रभावकारी रुपमा कार्यान्वयन हुनु पर्ने उनले बताए । उनले चेतावनी दिँदै भने, ‘निकट भविष्यमा विश्व पुरानै सामान्य अवस्थामा फर्किने सम्भावना देखिँदैन ।’

उनले भने, ‘यदि आधारभूत नियमहरु पालना गरिएन भने यो महामारी निरन्तर रहने छ र थप खराब र भयानक हुनेछ ।’

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक करोड ३० लाख ६१ हजार भन्दा बढी पुगेको छ । यस्तै अहिलेसम्म पाँच लाख ७१ हजार ८ सय भन्दा धेरैको ज्यान गएको छ ।

यस्तै डा टेड्रोसले चाँडै नै कोरोना भाइरसविरुद्धको खोप उपलब्ध हुन्छ भन्नु वास्तविकतामा आधारित नरहेको बताएका छन् । खोप बनाउनका लागि अति तीव्र गतिमा काम भइरहेको तर त्यसका लागि समय लाग्ने उनले बताए । एजेन्सीकाे सहयाेगमा

गाउँ सहर डेस्क

तपाईँको मत