कृषि

असार १५ मा रोपाइँमा सरिक नहुनेले पनि दही चिउरा खानैपर्ने हाे र ? दही चिउरा नै किन खाने ?

काठमाडौ । ‘असारको पन्ध्र’– आज अधिराज्यभर खेतमा रोपाइँ गरी दही–चिउरा खाएर मनाइँदैछ ।“असारको पन्ध्र दहीचिउरा खानू,साउनको पन्ध्र खीर” भन्ने लोकोक्ति प्रख्यात छ ।आज रोपाइँ गरी दही–चिउरा खानाले गति परिने विश्वासमा खेतीपाती नहुनेहरू पनि अरूको खेतमा वा आफ्नै करेसाबारीमा रोपाइँ गरेर हिलो छ्यापाछाप गरेर रमाइलो गर्छन् ।

असारको समयमा किसान अति व्यस्त हुने र खेतको पानी सकिएमा वर्ष दिन खाने बाली लगाउन नपाइने हुँदा धानको बीउ रोप्नेजस्तो व्यस्त समयमा घरमा मानिस मरे पनि घुमले छोपेर काममा जानुपर्छ भन्ने किंवदन्ती छ । बोलीचालीको भाषामा आफ्नो व्यस्तता दर्शाउन पनि ‘मलाई अहिले असारको पन्ध छ’ भन्ने गरिन्छ ।रोपाइँ गर्दा आफ्ना दुःख, पीर तथा जीवनका घटनालाई गीतका रूपमा असारे गीत गाउने पनि गरिन्छ । यसै अवसरमा केही समुदायमा असारे गीतमा जुहारी खेल्ने पनि गरिन्छ ।

असारे रोपाइँमा सरिक हुने वा नहुने सबैले दही चिउरा खाएर असार १५ मनाउँदै छन् । किसानले हिलो खेल्दै खाजा खाने समयमा दही चिउरा खाएर असारे भाकाको गीतमा रमाउने पुरानो प्रचलन छ । वैद्यराज सुवर्ण वैद्यकाअनुसार दही र चिउराले शरीरमा ऊर्जा र शीतलता प्रदान गर्नुका साथै दही पाचन प्रणालीका लागि निकै राम्रो खाद्य पदार्थ भएकाले अरू बेला पनि दही खानु स्वास्थ्यवद्र्धक हुने बताउँछन् । सरकारले २०६२ सालदेखि यो दिनलाई धान दिवसका रूपमा मनाउन थालेको छ ।  

संस्कृतमा दहिलाई दधि भनिन्छ । चिउरालाई भने शुष्कोदन भन्ने गरिन्छ । हाम्रो नेपाली समाजमा असार १५ मा दहि चिउरा खाने गरिन्छ । हाम्रो संस्कृतिमा आषाढ १५ लाई वर्षदिनभरिका चाडपर्वको द्वार पनि भन्ने गरिन्छ । त्यहि भएर पनि प्रत्येक असार १५ मा शुभ साइत सम्झेर दहि चिउरा खाने गरिन्छ । संस्कृतिविद्हरुका अनुसार धानखेतीको प्रारम्भ भएसँगै असारमा चिसो आलीको डिलमा बसेर रोपाईको काम सकिएपछि दहि चिउरा खाने गरिएको र पछिल्ला समय यो परम्परा परिष्कृत हुँदै रोपाईमा मात्रै नभई घरघरमा खाने चलन चलेको हो । यसरी खानाले पारिवारिकदेखि सामाजिक सद्भाव, भातृत्व र संस्कृतिकाे जगेर्ना हुने संकृतविद्हरू बताउँछन् । 

किन खाने त दही चिउरा ?

दहीः दहीमा प्रचुर मात्रामा क्याल्सियम पाइन्छ । यसका साथै, यसमा सोडियम, पोटासियम, भिटामिन ए, डी, बी–१२ पाइन्छ जसका कारणः

१. पाचन क्रियामा सघाउँछः दहीमा पाइने स्वस्थ ब्याक्टेरियाले पाचन क्रियालाई सहयोग पुर्याउँछ । दही चिसो हुने भएकाले यसले मसालेदार खानेकुराको असरलाई कम गर्दछ ।

२. मुटु स्वस्थ बनाउँछः दहीले कोलेस्ट्रोलको मात्रालाई पनि नियन्त्रणमा राख्छ जसका कारण दही नियमित खाने व्यक्तिको मुटु स्वस्थ हुन्छ ।

३. प्रतिरोधी क्षमता बढाउँछः दहीमा पाइने स्वस्थ ब्याक्टेरियाले प्रतिरोधी क्षमतामा वृद्धि गर्दछ ।

४. दाँत र हड्डी बलियो बनाउँछः दहीमा क्याल्सियम र फोस्फरसको मात्रा अत्यधिक हुने भएकाले यसले दाँत र हड्डीलाई बलियो बनाउँछ । नियमित रुपमा दहीको सेवनले हड्डीसम्बन्धि रोग लाग्नबाट जोगाउँछ ।

५. छालाको स्याहारका लागि उपयोग गरिन्छः दहीलाई घरेलु फेस प्याकमा अत्यधिक प्रयोग गरिन्छ । दहीमा जिंक, भिटामिन ई, फस्फरोसजस्ता मिनरल्स पाइने भएकाले यसले छालालाई जवान राख्छ ।

६. चायाँ हटाउँछः दहीमा पाइने ल्याक्टिक एसिडले कपालको चायाँबाट राहत प्रदान गर्दछ । मेहेन्दीमा दही मिसाएर लगाउँदा चायाँ हट्नुका साथै कपाललाई नरम र चम्किलो राख्न मद्दत गर्दछ ।

७. तौल घटाउन सहयोग गर्दछः हीमा पाइने क्याल्सियमले शरिरमा कार्टिसोल बनाउन सहयोग गर्दछ । शरिरमा कार्टिसोलको असन्तुलनले मोटोपना, हाइपरटेन्सन र कोलेस्ट्रोल बढाउने गर्दछ ।

८. तनाव र चिन्ताबाट राहतः खानामा दही समावेश गर्दा यसले शरिरलाई रिल्याक्स हुन मद्दत गर्दछ । एक अनुसन्धानका अनुसार दहीको सेवनले दिमागको त्यो भागको क्रियाकलापलाई कम गर्दछ जसले भावना र पीडालाई नियन्त्रण गर्दछ ।

चिउराका फाइदाबारे पनि थाहा पाइराख्नुहाेस्ः

१. चिउरामा भिटामिन ए, सि, क्याल्सिम र आइरनको प्रचुर मात्रा पाइन्छ ।

२. चिउरा फ्याट र ल्याकटोस नहुने भएकाले मुटुका लागि निकै स्वस्थ हुन्छ ।

३. यसमा आइरनको मात्रा धेरै हुन्छ । यसमा भिटामिन बी, कार्बोहाइड्रेट र प्रोटिन हुन्छ ।

४. चिउरामा थोरै तरकारी समावेश गर्दा यो खानाको रुपमा पनि प्रयोग गर्न सकिन्छ ।

५. यसमा कार्बोहाइड्रेटमा मात्रा धेरै हुने भएकाले शरिरमा ऊर्जाको स्तरलाई कायम राख्न सहयोग गर्दछ ।

६. चिउरा निकै सजिलै पच्ने भएकाले पाचनमा समस्या हुनेहरुले प्रयोग गर्न सक्छन् ।

७. चिउराले मधुमेह रोगीलाई निकै फाइदा पुर्याउँछ । यसको सेवन गर्दा धेरै बेरसम्म भोक नलाग्ने र रगतमा सुगरको संचार ढिलो गराउँछ ।

 

 

गाउँ सहर डेस्क

तपाईँको मत