दृष्‍टिकोण

भारत तथा अन्य देशबाट फर्किएका नेपालीलाई व्यवस्थापन गराैँ काेराेना नियन्त्रणमै हुन्छ

काठमाडौँ । मुलुकपनि २ महिना लकडाउनपश्चात कोरोनाको कहरबाट गुज्रिँदै गएको छ । लकडाउनको ७४ दिनमा आइपुग्दा ११ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या २३ सय नाघेको छ । बढेको संक्रमित संख्या प्रायः सबै भारतबाट फर्किएका नेपालीमा पाइएसँगै यो संख्या बढ्दै गएको हो ।

नेपाल सरकारले विभिन्न व्यवस्था गरेको भनिएपनि अभावका कारण क्वारेन्टाइनबाट नराम्रा समाचारहरू आउने क्रम जारी नै छ । यो अवस्थामा सरकारको सम्पूर्ण ध्यान सीमाबाट फर्किएकामा हुनुपर्नेमा सो हुन नसकेकै कारण संक्रमित व्यवस्थापनमा हम्मे हम्मे अहिले नै परिसकेको छ ।

अब त लकडाउन खुल्ला र दैनिकी चलाउन सुरू गर्नुपर्ला भन्ने जनतामा तुषारोपात भएको छ । लकडाउन खोल्ने होइन झनै सुरू गर्नुपर्ने अवस्थामा अहिले हामी पुगेका छौँ । तर के गर्नु सरकारको हेलचेक्राइँका कारण राहत बेगरको घरबन्दीले थलिएका जनतासँग अरू कुनैपनि विकल्प अब छैन ।

भारतबाट फर्किने तथा अन्य देशबाट आउनेको व्यवस्थापनमा सरकार चुकेकै कारण समस्या झनै बढेको छ । देश खुला गर्दापनि हुने तर आएकाहरूको उचित व्यवस्थापन गर्दा कोरोना नेपालमा नियन्त्रणकै अवस्थामा रहेको विज्ञको कुरा सुनेर पनि सरकारले नसुनेझैँ गरेको छ । 

सरकारले २० नाकाबाट आवगमन सुचारू गरेपनि लुकिछिपी अन्य स्थानबाट छिर्ने र छिराउने गलत तरिकापनि प्रयोग भएका देखिन्छन जुन विल्कुलै गलत छ । यसकाे दाेश पनि सरकारले लिनै पर्छ, आखिर याे अवस्था कसरी आउँदैछ ?

अर्को महत्वपूर्ण कुरा ५१ हजार बढि संघसंस्था जो सामाजिक सेवा गर्छौँ भन्थे तिनको नामोनिशान छैन । सरकार यो अवधिमा १० अर्ब खर्च गरेको बताउँछ तर सीमामा रहेको क्वारेन्टाइनको हालत यतिविघ्न गएगुज्रेको छ । अब भन्नुहोस्, संक्रमण फैलन नदिनमा सरकारले गरेका यी कार्यहरू काफी छन् ?

किट अभावै छ, स्वास्थ्य सामाग्री अभाव नै छ, क्वारेन्टाइन तथा आइसोलेशन अभाव नै छ, तिनीहरूलाई खाना अभाव नै छ, उपकरण अभाव नै छ, जनताको घरमा आगो बलेको छैन त्यहाँपनि अभावै छ, यो परिवेशमा संक्रमण बढ्छ कि घट्छ यसको उत्तर सरकारले देओस् ।

सरकार तिमीले उचित व्यवस्थापन गर्थ्याै त अगाडि नै कार्यविधि र बजेट हाल्थ्याै । त्याे भएन, अहिले काेराेना अघिअघि भएकाे छ र तिमी पछिपछि । गैरजिम्मेवार बाेलीहरू तिमीनै बाेल्दै र गर्दै हिँडेका छाै । झन शुक्रबारबाट थपिने जनसँख्या तिमीले कसरी व्यवस्थापन गर्छाै भन्ने चिन्ता जनताले लिन थालेका छन् । संख्या लाखाैँ थपिनसक्छ यसकाे तयारी खै तिमीले गरेकाे सरकार !

जनताकाे घरमा चुल्हाे नबलेकाे र बच्चाले दूध खान नपाएकाे अवस्था छ । रोजगारीमा भारतमा र नेपालकै सहरहरुमा रहेका युवा लकडाउनका बेला अनेक दु:ख सहँदै गाउँ फर्किएका छन् तर खेती किसानी गर्नसमेत मलबीउ नपाइएपछि उनीहरु चिन्तामा छन् ।

लकडाउनका बेला अनेक दु:ख सहँदै गाउँ फर्किएका युवाले ‘माटो खोस्रन’ समेत पाएका छैनन् । क्वारेन्टाइनबाट घर गएकाहरूकाे मृत्यु भइरहेकाे छ । धेरै स्थानहरूमा संक्रमित र संक्रमण नभएकालाई एकैठाउँ राखिएकाे छ । यी एकाध उदाहरण मात्र हुन् सरकार ।

तसर्थ अरू केहि गर्नुपर्दैन सरकार, विदेशबाट आएकालाई व्यवस्थापन मात्र गर । समुदायमा फैलिएकाहरूकाे पहिचान गर, अस्पताल सेवा दुरूस्त राख । नानाभाँति कुराहरूलाई अहिले पाखा लगाउ, जनतालाई राहत देउ र काेराेना केन्द्रित बन । आवश्यक परे लकडाउन थप जनता अझै साथमै छन तर जनताकेन्द्रित प्याकेजकाे घाेषणा गर ।

तिमी राहत पनि नदिने, आवश्यकता पनि पुरा नगर्ने, संक्रमितको व्यवस्थापन पनि नगर्ने, परीक्षणको पनि व्यवस्था नगर्ने, स्वास्थ्य अभावनै राख्ने अनि जनताले साथ दिएनन भन्ने कुरा गर्दै नगर । तिमी चुस्तदुरूस्त भएमा मात्र जनताले साथ दिन्छन् ।

 

गाउँ सहर डेस्क

तपाईँको मत