दृष्‍टिकोण

नाैटंकी नदेखाउ सरकार, क्वारेन्टाइन प्रत्येकको घरमै बनाऊ

काठमाडौँ । दुइमहिना लामो लकडाउन पश्चात भारतबाट नेपालीहरु फर्कन थालेसँगै नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्न गएको छ ।

घर बाहिर वा देश बाहिर भएकाले संकटको बेलामा गाउँ सम्झन्छन र सम्झनुपनि पर्दछ । धरातल हाम्रो यहि नै हो । हामी गरिब छौँ र रोजिरोटीको लागि बाहिर जानु हाम्रो बाध्यता हो । किनकी नोट चल्ने अनि ज्यान नचल्ने कदापी हुन सक्दैन र सुन्नपनि सकिँदैन ।

भारतबाट मात्र होइन अन्य देशहरुमा भएका नेपालीहरु जो आउन नेपाल भित्रिन चाहन्छन भने त्यसको सहजकर्ता नेपाल सरकारले गर्नै पर्दछ । अब रह्यो भित्रिएका नेपालीलाई कहाँ राख्ने त ! सरकारका केन्द्रीयदेखि स्थानीय तहले गरेका प्रयासहरु विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डका धेरै कम रहेको सम्बन्धीत स्थानकै स्वास्थ्यकर्मीले बताइरहेको यो परिवेशमा र क्वारेन्टाइनमा देखिएको हेलचेक्राइँ र अव्यवस्थित बसाई, ख्वाई र अन्य कुरा देख्दा लाग्छ अब मानवता विर्सिएछ मानिसले । यहि वेदनाले हुनसक्छ मानिसहरु क्वारेन्टाइनबाट निरन्तर भागिरहेका छन् ।

अति भयो सरकार, न लकडाउन गरेर संक्रमित घट्न सक्यो न संक्रमितको व्यवस्था नै । सीमा नाकाबाट नेपाल भित्रँदादेखि क्वारेन्टाइनसम्मको दृश्यले नै प्रष्ट्याउँछ, हाम्रो तयारी नै अत्यन्तै दयनिय छ भनेर । यसले संत्रमण निको हुनेभन्दा झन फैलने आंकलन सहजै गर्न सकिन्छ । भर्खरैपनि डडेल्धुरामा क्वारेन्टाइनमा बसेका एक बालकको मृत्यु भएको छ । नवदुर्गा गाउँपालिका ३ का साढे छ वर्षीय बालकको आइतबार राति १२ बजे मृत्यु भएको डडेल्धुराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिएका छन् । उनका अनुसार जिल्ला सदरमुकाम नजिकै रहेको डडेल्धुरा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बालकलाई राखिएको थियो । 

सीमादेखि नै व्यवस्थित गर्न सकिँदैन भने सम्बन्धीत नागरिककै घरमा अनुगमन गरेर क्वारेन्टाइन बनाउन सकिन्छ । तर यो विजोग नगरौँ, मानवीयता प्रस्तुत गरौँ । वर्तमान अव्यवस्थित व्यवस्थाले क्वारेन्टाइन र त्यहाँ बस्नेको हालत झनै पतला हुने र अवस्थामा सुधार पनि आउन सक्दैन । स्थानीय निकायलाई थप बजेट देऊ, जनप्रतिनिधिको पेट भर्न होइन क्वारेन्टाइन र औषधि लगायत स्वास्थ्यकर्मी, उपकरण र पहरेदारमा खर्च गर्न दिऔँ । अनुगमन २४ सै घण्टा गरौँ तर यो क्वारेन्टाइनको नाममा जनताको जीवनसँग खेलबाड नगरौँ ।

अवस्था यतिविघ्न हुँदापनि अधिकारकर्मी तथा संघ संस्थाहरुको अत्तोपत्तो छैन । कुनामा हराएका छन् । हुन त जीवन सबैलाई प्यारो नै हुन्छ तर नारा जुलुशमा सहभागी हुन सक्नेले यो क्वारेन्टाइन र उपचार विधि तथा उपकरणमा पनि चर्का नारा लगाउनु पर्ने होइन ? खै त कतै देखिएन !

सरकार ! सीमाबाट भित्रिएकामा परीक्षण गरिन्जेल व्यवस्थित राख, परिणाम चाँडो निकाल र स्वस्थलाई घरमा गएर समयसम्म क्वारेन्टाइनमा बस्न आग्रह गर नमाने कडा निगरानी गर्न स्थानीय तहलाई अर्हाऊ । र संक्रमितलाई पनि राम्रो स्थानमा आइसोलेशनमा राख । आखिर घरमै बसेर पनि कोरोना जितिने तथ्य सार्वजनिक हुँदापनि हामी किन यो कुरामा ढिलाई गरिरहेका छौँ । यदि घरमा साह्रो गाह्रो परे स्थानीय स्वास्थ्यकर्मीले अस्पताल लैजान्छन नै । 

गाह्रो विरामीको लागि अस्पताल छ तर लक्षण नदेखिएकालाई घरमै पनि सन्चो हुने तथ्य आउँदासम्म हामी चुप लागेर नबसौँ सरकार । मात्र परीक्षणको व्यवस्थालाई मात्र द्रूत गति देऊ, कोरोना जनताले त्यसै जित्छन् । मृत्युपछि तथाकथित काेराेना नामाकरण नगराैँ । यतिविध्न चरम लापरवाही गरेर अस्तव्यस्त क्वारेन्टाइनमा नराख । यसले रोग घटाउने होइन झनै तेब्रिने पक्का छ । खाली पैसा आउने ठाउँमात्र नखोज, स्वास्थ्य उपकरण आफूमात्र लगाएर सेल्फी हान्नमा व्यस्त नहोऊ, कम्तिमा जनता बचाउने काम गर होइन भने जनताले तिमीलाई नाङ्गेझार बनाउनेछन् ।
 

गाउँ सहर डेस्क

तपाईँको मत