दृष्‍टिकोण

मृत्युपछिको परिणाम : कति विश्वासनीय ! के पारा हो सरकार तिम्रो ?

काठमाडौँ । शनिबार र आइतबार नेपाली समाज अत्यन्तै त्रशित भयो र छ किनकी देशभित्र दुई जनाको कोरोनाभाइरसबाट मृत्यु भएको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले पुष्टि गरेको छ । याे घटनाले उपत्यकामा थप कडाइ गरिएकाे छ ।

सिन्धुपाल्चोककी पहिलो मृतक महिलाको मृत्युपछि कोरोना परीक्षण गरियो, पुनः बाँकेमा अर्का पुरुष जो भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए उनको पनि मृत्युपछि मात्र काेराेना परिणाम आयाे, त्याेपनि पोजेटिभ । 

दुबैको मृत्युपछि नै कोरोना परिणाम आएको थियो ।

अहिलेसम्म देशमा २९५ जनामा कोरोना संक्रमण देखिएको छ । पीसीआर परीक्षण २८,१६३ मा गरिएको छ भने आरडिटी परीक्षण ६७,७६९ मा गरिएको छ । देशभरमा क्वारेन्टाइनमा हुनेको सँख्या १८,३५७ रहेको र आइसोलेसनमा ३४६ छन भने निको हुनेको सँख्या ३६ पुगेको मन्त्रालयले जनाएको छ । याे संख्या स्थिर भने छैन ।

यो संक्रमण फैलनुमा सरकारदेखि तल्लो तहसम्म सबै नै जिम्मेवार छौँ । जब सरकारले यो समयभित्र गर्नुपर्ने कुरामा सतर्कता र सुरक्षा नअपनाएका कारण हामी सबै मुछिन पुगेका छौँ । सरकार खुट्टा तान्ने अनि नेताले सोर्सफोर्स लाउने, सुरक्षाकर्मी, स्वास्थ्यकर्मीलाई समयमा उपकरण तथा सुरक्षात्मक चिजहरु उपलब्ध नगराउने, छाडा स्वयंसेवक राहत बाँड्ने र खाना ख्वाउने, अत्यावश्यकमा कुनै चेकजाँच नगर्ने, विदेशबाट आएकाहरु लखरलखर हिँड्ने अनि भोज गर्ने/खान जाने, क्वारेन्टाइनमा नबस्ने, भाग्ने, जस्ता कारण नै संक्रमण फैल्याउनमा कारक बनेका छन् ।

सरकार लाज मान, क्वारेन्टाइन तिमीले व्यवस्थापन नगरेको प्रष्टै देखियो बाँकेको घटनाबाट । क्वारेन्टाइन, आइसोलेशन, उपचारमा बसेका विरामीहरुको तिमीले नियमित चेकजाँच, खानपानमा ध्यान दिएका रहेनछौँ, प्रष्ट भयो । लकडाउन भएको दुइमहिनामा तिमी कार्यविधि बनाउँदैछौ । अब त पत्यारै लाग्न छाड्यो तिमीले गर्यौ भन्ने । गरेको भए यी दुइ घटनाले तिम्रो मुख पहेँलो भएन ? अझै तिमीले यो कुरा छुटाएका होलाउ कार्यविधिमा— कोरोनाका कारण मृत्यु भएकालाई राहत के दिन्छौँ ? कि व्यवस्था छैन ! कोरोनाको नाममा ल्याएको रकम त्यता छुट्याएका छौँ कि छैनौँ ?

अब चुरो कुरा गरौँ । मृत्यु भएपछि लासको कोरोना परीक्षण गरेर तिमीले ढिला गरि दिएको निष्कर्श संसारले पत्याए होला । तर मरेपछि निस्कने परिणाममा प्रश्न गर्ने धेरै आधार छन, त्यो कुरा तिमीले पनि बुझेका होलाऊ । जाबो तिमीले क्वारेन्टाइनमा बसेका मानिसको त कोरोना परीक्षण गरेका रहेनछौँ, अब हामीले तिमीले परीक्षण गर्याै भन्दा कसरी विश्वास गर्ने ? स्वास्थ्यकर्मी, अस्पतालमा रहेका विरामी, प्रहरी, सेना, कर्मचारी, अत्यावश्यक पसलका धनी र परिवार, एम्बुलेन्स, चालक, सहचालक, पत्रकार, बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीलगायत अन्य यी तिम्रा परीक्षण गर्ने पहिलो क्षेत्र होइनन् ? खै यिनमा कति गर्यौ ? अहिले तातेर हुन्छ ? खाली तातोपानी खा भनेको छ अनि घर बस भनेको छ जनतालाई अनि सरकार गफ चुटेर बसेको छ भन्न पाउने कि नपाउने ?

भिडभाड नगर्ने भन्ने उर्दी जारी गर्ने ए सरकार, तिमीले राखेका क्वारेन्टाइनको हालतले के देखाउँछ ? बरु घरमै जाओ, जोगिएर क्वारेन्टाइनमा बस भनेको भए हुन्थ्यो कि । नत्र त क्वारेन्टाइनको यो पीडादायी खबर त्यहाँ रहेका पत्रकारहरुबाट प्रष्ट भइसक्दा पनि तिमीले गरेको व्यवस्थापन अत्यन्तै गएगुज्रेको देखिएको छ । भर्खरै अर्डर गरेर केहि हुँदैन, संक्रमण त तिमीले चेकजाँच नै गर्या रहेनछ । यो अवस्थामा तिमीले प्रत्येक दिन दिने सूचनाबाट हामीले के अब अंक मात्र गनेर बस्ने हो ?

फेरी झनै यो मृत्युपछिको कोरोना परीक्षण र मृत्युमा कोरोना कारण ! चिकित्सकीय गणितमा मरेको मान्छे कोरोनाकै कारणले मृत्यु भयो भन्ने कुनै प्रमाण छाडेको हुन्छ भने हामी केहि भन्न सक्दैनौँ तर शंका गर्ने धेरै आधार छन् । विरामीकाे इतिहास त पक्कै हेरिएला, धुलिखेलकाे हिस्ट्रि हेरेपनि, समय लगाएपनि बाँकेकाे के हाे ? यसमा लापरवाही भएकाे हाेइन ? मनलाई विश्वासमा राख्न सकेपनि तनले नमान्नसक्ने अवस्था विद्यमान छ ।

पहिलो मृतक महिला उनी भर्खरैकी सुत्केरी थिइन् । उनलाई छाडेर पनि बाँके क्वारेन्टाइनमा बसेका पुरुषको मृत्यु हुन्छ । यो लापरवाही होइन सरकार ? क्वारेन्टाइन भनेको बसाएर गलाएर मृत्युवरण गराउने स्थान हो कि बचाउने ? यसकारण पनि यी दुई नागरिकको मृत्युको आधार कोरोना नै भएपनि तिमीले दिएको परिणाम जनताले पत्याएका छैनन् ।

संस्थागत धारणा आएपछि पनि विश्वास नगर्दा दुनियाँले पागलकाे संज्ञा दिन्छन, याे समाजकाे पूरातन रित जस्तै छ । तर यी दुवैका मृत्यु पछिका परिणामले शंका गर्ने ठाउँ बनाइदिएकाे अवश्य छ । दुबै मृतकका वरपर र सम्पर्क सबैकाे परीक्षणमा ढिलाई नगर । यस्ता घटना नदाेहाेर्याउ ।

सरकार ! अब त सुध्र, समयमै परीक्षण गराउ र फ्रन्टलाइनसँगै जनतालाई व्यवस्थापन गर । नत्र मृत्यु हुँदै जाने अनि कोरोनाकै कारण मृत्यु भयो भन्न तिमीले छाड्दैनौ । जुन परिणाम के नपुगे, के नपुगेजस्तै भएको छ । यसकाे विश्वासनीयता कति ? म याे राेगकाे विरामी हुँ भन्न पाउने कि नपाउने ? अबका दिनमा जुनसुकै विरामीकाे पनि पहिल्यै काेराेना परीक्षण गर्ने हाे कि ! अनि बाँकेकाे जस्तै लापरवाहि नगर्ने हाे कि !

गाउँ सहर डेस्क

तपाईँको मत