दृष्‍टिकोण

“काेराेना लाग्नसक्छ, गलत बानी लाग्नु हुँदैन”

[व्यवहार र साेचमा परिवर्तन ल्याउनै पर्छ, निच साेच हावी हुन दिनुहुँदैन]

काेराेना सबैलाई लाग्न सक्छ, नलाग्न पनि सक्छ । तर भाइरससम्बन्धित हेराइकाे नजर लाग्नु हुँदैन । गलत बानी लाग्नुहुँदैन जस्तैः फलानाेलाई लागेछ है, अबुई..छ्या...! हाे याे कुरा लाग्नु हुँदैन अर्थात राेगसँगकाे साेचाइमा छिछि..थूथू... जस्ता गलत बानी लाग्नुहुँदैन ।

राेग लाग्नु राेगीकाे दाेष हाेइन । अपराधिजस्ताे व्यवहार कदापि गरिनु हुँदैन । हामीले अब व्यवहार र साेचमा परिवर्तन ल्याउनै पर्छ । निच साेच हावी हुन दिनुहुँदैन ।

समय छ अझै सिकौँ । खाली मृत्युको दर हेरेर र संक्रमणको अवस्था हेरेर अर्कालाई मात्र लाग्छ, मलाई त कहाँ लाग्छ ? भन्ने नजरले कोरोनालाई नहेरौँ । गलत बानी छाडेर सबैको सहयोगी बनौँ । नत्र अरूतिरको तिर आफैँतिर फर्केको दिन असामान्य हुनसक्छ ।

रोग भित्रिइसक्यो, सरकारका काम अपूरा होलान तर गरिरहेकै छ । सबैले आ-आफ्नो क्षेत्रमा सावधानी अपनाउन सके न संक्रमण फैलन्छ न जनधनको क्षति हुन्छ । सोच र कार्य सो तिर हुनपर्छ । सकारात्मक सोच्नुपर्छ, आफ्नो ठाउँबाट सकेको सहयोग गर्ने बेला यहि नै हो ।

संक्रमण फैलिइरहेको छ, लकडाउन बढिरहेको छ, जनताको अवस्था असामान्य बनिरहेको छ । तर के गर्ने ? विकल्प नै छैन । यो संक्रमण फैल्याउन कतै हामी त दोषी छैनौँ या सरकार !, जो भएपनि एकै देश हो आफू ठेगान लागेकै राम्रो ।

यसैबीचमा क्वारेन्टाइनबाट भागेका खबरहरू त्यसै आएनन् । विचार गरौँ त ! रोगीले निको हुन चाहँदैन ? पक्कै कमिकै कारण उ भागेको हुनसक्छ । तर उसको सोचाइपनि एकतर्फि देखिन्छ । सरकारले दिएन भन्दै भाइरस बाहिर लानु उसले हुँदैन बरू सरकारसँग माग गर्नुपर्थ्यो । जे भयाे छाडाैँ तर पछिका दिनमा याे कुरा दुबै पक्षले ध्यानमा राखाैँ ।

सरकारको यी लकडाउनका बीच धेरै त्रुटि छ, स्वीकार गर । लकडाउन गरेर न परीक्षणको दायरा बढाउन सक्यौ न ओहोर-दोहोरमा सुरक्षा पद्धति अपनायौ । सीमाको हालत उस्तै पतला गर्यौ । अत्यावश्यक सवारी र व्यक्तिलाई पनि तिमीले चेकजाँच नगरी र सुरक्षित नबनाइ हिँड्न दियौ । यो तिम्रो सरासर गल्ति हो । अनि फ्रन्टलाइनकालाई तिमीले सुरक्षाका सामाग्री पनि अहिलेसम्म दिन सकेका छैनौ । दोष कसको भन त सरकार !

राहत बाँढ्नेलाइ खुकुलाे, स्वयंसेवकलाई खुकुलाे, प्रहरी आफ्नै सुरक्षा छैन, डाक्टर्स तथा नर्सकाे हालत उस्तै । पत्रकार स्वयं पीडित, सबैमा सामाजिक दुरीसहित सुरक्षा कवचकाे अभाव छ । कर्मचारी (निजी/सरकारी) असुरक्षित अब भन्नुहाेस सर्वसाधारणकाे अवस्था झनै कस्ताे हाेला । तिम्रै हातमा डाडू पुन्यू पाे छ अरूमा त छैन नी ! याे अवस्था तिम्रै कारण भएकाे हाे, तर तिमी अझै स्वीकार गर्दैनाै, गरेका छैनाै र लकडाउन बढाकाेबढाइ छाैँ बिना कुनै सकारात्मक परिणाम ।

विज्ञहरूले हामी मानसिक तथा भौतिक रुपमा तयार रहनुपर्ने बताएका छन् । भ्रम र हल्लाको भरमा त्रसित हुनु नहुने भन्दै आधिकारिक सूचना लिने र विज्ञका सल्लाह अनुसरण गर्नु उपयुक्त हुने बताउँदै आएका छन् । 

स्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेका अनुसार, "एउटा कुरा हामीले आत्मसात गर्नुपर्छ कि कोरोना संक्रमण समुदायमा हल्का रुपमा फैलिएको छ । त्यसैले फाट्टफुट्ट रुपमा धेरै जिल्लामा देखिएको छ । नेपालमा सक्रिय उमेरका व्यक्ति तथा बालबालिकामा संक्रमण देखिएको हुँदा घर बाहिर नजाने, अत्यावश्यक काम परे मास्क, चस्मा तथा पंजा लगाएर जाने, सामाजिक दुरी कायम गर्ने, भीडभाडमा नजाने, सरसफाईमा ध्यान दिने गर्नु आवश्यक छ । जीवन रह्यो भने कमाउन सकिन्छ । जीवन नै नरहे कमाएको के अर्थ रह्यो र ? त्यसैले घरमै बसौं, सुरक्षित बनौं ।"

यसकारण काेराेना संक्रमित जाे भएपनि कर्के नजर र भेदभावकाे शैलीमा प्रस्तुत हुनु भनेकाे मानवीयता गुमाउनु हाे । नेपालमा अहिले फ्रन्टमा काम गर्नेहरूमा अनुचित व्यवहार गरेकाे घटनाहरू देखिन/सुनिन थालेका छन, जुन गलत र निन्दनिय साथै क्षमा गर्न नसकिने किसिमकाे छ । जसले देशवासी जाेगाउँदैछ, उमाथिकाे यस्ताे तुच्छ र अमानवीय व्यवहार सह्य छैन र हुँदैन ।

देशमा भाइरसबाट मृत्युकाे पहिलाे केश पुष्टि भएकाे छ । संक्रमितकाे प्रतिशत दिनकै बढ्दाे छ । संक्रमित स्थानमा अझ प्रभावकारी परीक्षण र सुरक्षा अपनाउनुपर्ने देखिएकाे छ । यसकाे लागि सबैकाे साथ उत्तिकै आवश्यक रहेकाे छ । काेहिपनि पन्छिन पाउँदैन र मै हुँ भन्नपनि पाइँदैन । सम्वेदनशील समयमा हतारो नगरौँ । डब्लूएचओको नियमानुसार प्रस्तुत होऔँ ।

राेग जसलाई पनि लाग्न सक्छ, गलत बानी सुधाराैँ र सचेत बनाैँ । तनाव कम लिँदै शरीरकाे प्रतिराेधात्मक क्षमतामा बल गराैँ । सकारात्मक साेच र व्यवहार बनाउँ । जबसम्म भाइरसकाे प्रभावकारी भ्याक्सिन बन्दैन, याे संघर्ष गर्नैपर्ने देखिन्छ । सम्यम बनाैँ, सहयाेगी बनेर जीउँ र जीउन दिउँ । सबैकाे जीवन अमूल्य छ भन्ने बुझाैँ ।

 

 

गाउँ सहर डेस्क

तपाईँको मत