दृष्‍टिकोण

भारत सरकारको मेगा राहत प्याकेज, नेपालमा गफको पोको घरघरमा

[लकडाउनले नसिकाएको सामाजिक दुरी]

काठमाडौँ । भारतीय वित्त मन्त्री निर्मला सीतारमणले बिहिबार दोस्रो चरणको जानकारी दिँदै २० लाख करोड भारतीय रुपैयाँको राहत प्याकेज ल्याएकी छन् । वित्त मन्त्रीले आप्रवासी मजदूर, स्ट्रीट भेन्डर, साना व्यापारी र किसानको लागि यो महत्वपूर्ण राहत घोषणा गरेकी हुन् ।

साना किसानको लागि प्रदान गरिने कर्जामा व्याज छूटलाई ३१ मेसम्म बढाइएको छ । घर फर्किरहेका आप्रवासी मजदूरलाई सरकारले काम दिनेछ । उनीहरुलाई सरकारले २ महिनासम्म ५ किलो गहुँ वा चामल प्रतिव्यक्ति र १ किलो चना प्रति परिवार निःशुल्क दिनेछ । अगष्टसम्म देशमा एक देश-एक राशन कार्ड लागू हुनेछ जसले ६७ करोड गरिबलाई फाइदा हुने सरकारले बताएको छ ।

यस्तै मेगा प्याकेज अन्तर्गत प्रवासी मजदूर र शहरी गरिबलाई भाडामा घर दिने योजना छ । उद्योगपति जो घर बनाउँछन उसलाई छुट दिने पनि योजनामा छ । स्ट्रीट भेन्डरलाई ५००० कारोड रुपैयाँको विशेष क्रेडिट सुविधा मिल्ने सरकारको योजनामा छ । यस्तै राहत प्याकेजमा साना व्यवसायीलाई मुद्रा शिशु लोन अन्तर्गत ५० हजार सम्म लोनमा २ प्रतिशत व्याजदरको स्किम भारत सरकारले ल्याएको छ ।

नेपालमा प्रधानमन्त्रीसहित अर्थमन्त्रीले पनि बैशाख अन्त्यसम्म उनका अनुसार ८० करोडको राहत बाँडेका छन् जसको सर्वत्र आलोचना र भ्रष्टाचारको गन्ध फैलिएको छ । हुन त कोरोना परीक्षण महँगो चाहिँ अवश्य छ तर सोभन्दा माथिको खर्च राहतमा देखाउँदा जनता आजित बनेका छन् । स्वास्थ्यको खर्च छुट्टै भएपनि राहतमा भएको अनियमितता जनताले पचाएका छैनन, जुन संक्रमण शान्त भएपछि देखिएला ।

महामारी र सो बाट जोगिनको लागि देश लकडाउनमा भएको २ महिना पुग्न लागेको छ । यो समयमा राहत र आहतका नाममा कोरोना छर्नेको अझै पत्तो छैन । फ्रन्टमा रहेका सबैमा जोखिम छ र उनीहरुको सुरक्षा नै पहिलो प्राथमिकताभित्र परिनुपर्नेमा त्यसो अझै हुन सकेको छैन । स्वास्थ्यकर्मी, प्रहरी, उद्धारटोली, राहत बाँड्ने, स्वयंसेवक कति सुरक्षित भएर सेवा दिइरहेका छन् ? त्यसको अनुगमन भएको छ सरकार ! सामाजिक दुरीभित्र रहेर यी सब भइरहेका छन् ? लकडाउनले सामाजिक दुरी सिकाउँदैन, बानी परिवर्तनमा सकारात्मकता ल्याउँदैन भने भुत्राको बन्दाबन्दी !

देशमा संक्रमितको अवस्था दिनकै उचोदरमा बढिरहेको छ । जनता छट्पटिन थालेका छन् । भरे बेलुका कहाँ खाने, के खाने भन्नेमा चिन्तित बन्दै गएका छन् । यो समयमा भारतले जस्तो मेगा राहत प्याकेज ल्याउनुपर्नेमा सरकार ढिकुटी रित्तियो भन्न थालेको छ । सरकार ! के अब जनता भोकभोकै मर्ने हो ? खै मेगा राहत प्याकेज ? कि राहतजति सबै सरकारका आफन्तजन र हनुमानजी हरुलाई मात्र हो ? यदि जनताप्रेमी हो भने बम्पर राहत प्याकेज ल्याउन र बाँढ्नमा ढिला नगर । कम्तिमा सरकार छ भन्ने पार । जनताको घर जाउ, जसलाई जे अभाव छ त्यो पूरा गर, काेराेनासँग जिउन सिकाउ ।
 

गाउँ सहर डेस्क

तपाईँको मत