दृष्‍टिकोण

ट्रम्पको बोलीको दम : “चीनले चाहेको भए कोरोना वुहानमै लक गर्न सक्थ्यो”

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पटक पटक विवादमा आइरहने, रुखा, अड्डि र घमण्डी भनिन्छन, त्यो फरक कुरा हो । यो मानिसको व्यक्तिगत आचरण होला, नितान्त व्यक्तिगत कुरामा जानू हाम्रो सरोकार पनि हुँदैन ।

भर्खरै पनि डब्लूएचओलाई सहयोगको कटौतिलाई लिएर उनको सर्बत्र आलोचना भएको छ र सायद उनले यसो नगर्लान भन्ने सद्वुद्धिको कामना पनि गरौँ ।

अर्को कुरा उनले जी-२० को बैठकमा ‘चीनीयाँ भाइरस’ को नामपनि जोडतोडले उठाए तर कोरोनाभाइरस परिवर्तन गर्न मानेनन् अन्य राष्ट्रहरुले ।

संक्रमणले देशमा डाँडा काट्दापनि राष्ट्रपति ट्रम्प बाङ्गा कुरा बोल्न भने छाड्दैनन् । उनले पुनः भन्दै आए डब्लूएचओले भाइरसको जोखिमता उजागर गरेन भनेर । साथै उनले चीनले चाहेको भए कोरोना यसरी संसारभर फैलँदैनथियो र यो महामारी हुँदैनथियो, उसले वुहानमै सीमित गर्नसक्ने कुरापनि बताएका छन् ।

भाइरस अहिलेसम्म दुईसय १२ मुलुक तथा भूभागमा फैलिएको छ । कोरोनालाई जितेर घर फर्कनेको संख्या पाँचलाख ९६ हजार ५ सय ३७ पुगेका छन् । वर्ल्डाेमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार अहिलेसम्म भाइरसका कारण मृत्यु हुनेको संख्या एकलाख ६० हजार ७ सय ५५ र संक्रमित संख्या २३ लाख ३० हजार ९ सय ३७ पुगेका छन् । सक्रिय घटना १५ लाख ७३ हजार ६ सय ४५ मध्ये ५५ हजार २ सय ६५ जना अर्थात ४ प्रतिशत गम्भीर छन् । भाइरसका कारण ज्यान गुमाउनेको संख्या अमेरिकामा धेरै छ । अहिलेसम्म त्यहाँ ३९ हजार १४ जनाले ज्यान गुमाइसकेका छन भने संक्रमितको संख्या सातलाख ३८ हजार ८ सय ३० पुगेको छ । 

सर्सति हेर्दा र सुन्दा राष्ट्रपति ट्रम्पलाई यी कुराहरुको आधारमा पागलको सम्म आरोप लगाएको पाइन्छ । तर गहिरो गरी सोचौँ त चीनले चाहेको भए भाइरसलाई वुहानमै लक र हल हुन सक्दैन थियो !

उत्तर सहज आउँछ— सक्थ्यो ।

हुन त सकिएको कुरा कोट्याउँदा राम्रो होइन, त्यसले प्राप्तिपनि गुमाउन सकिन्छ । तर चीनले रोगको चेतावनी दिने चिकित्सकको कुरा सुनेन, धेरै संक्रमित पुग्दापनि रोगबारे समयमै उजागर गरेन, समयमै गम्भीर बनेको भए वुहान लक गरेर भएपनि यो भाइरस अन्यत्र जानबाट रोक्न सक्थ्यो । तर यी कुराहरुमा चीन चुक्नाले डब्लूएचओलाई पनि मुछेर ट्रम्पले आक्रोस पोखे— जुन उनको ठाउँबाट बोल्नुपर्ने शब्द र प्रहारभित्रै पर्छ ।

भाइरसकाे अर्काे रेडजाेनहरू इटलीमा मृतकको संख्या २३ हजार २ सय २७, संक्रमित संख्या एकलाख ७५ हजार ९ सय २५ रहेको छ । स्पेनमा २० हजार ६ सय ३९ को मृत्यु र एकलाख ९४ हजार ४ सय १६ जना संक्रमित भएका छन् । अर्को पीडित मुलुक फ्रान्समा १९ हजार ३ सय २३ को मृत्यु र एकलाख ५१ ह्जार ७ सय ९३ संक्रमित, बेलायतमा १५ हजार ४ सय ६४ को मृत्यु र एकलाख १४ हजार २ सय १७ मा संक्रमण रहेको छ । यस्तै बेल्जियम, ईरान, चीन, जर्मनी, नेदरल्याण्ड, ब्राजिल माथिपछिका पीडित मुलुक भएका छन् ।

भाइरसका कारण भारतमा ५२१ जनाको मृत्यु भएको छ भने १५ हजार ७ सय २२ जना संक्रमित भएका छन् । यता नेपालमा संक्रमितको संख्या ३१ रहेको जसमध्ये ३ जना निको भएका छन् ।

हुन त भाइरसलाई सीमा लगाउन गाह्रो होला तर मानिसको मुभमेन्टलाई रोकेर तत्कालै एक्शनमा आउनसक्थ्यो चीन, तर विडम्बना ! त्यो भएन जसका कारण कोशौँ दूरका देश अनि विश्व अहिले कोरोना आतंकबाट आजित बनेको छ । वैश्विक महामारीले थप चिन्ता बढाइदिएको छ अनि वैश्विक अर्थतन्त्र डामाडोल बनाइदिएको छ । यसमा पनि विकासोन्मुख र गरिब राष्ट्रहरुमा रोगले भन्दापनि अरुकुराले असहजताको अवस्थासँग लड्नु परेको छ ।

तरपनि फैलिएकाे भाइरलाई लिएर विवाद गर्नेभन्दा अब समाधानकाे बाटाेमा लाग्नु बुद्धिमानी हुन्छ । समय बितिसकेकाे छ, अब पछुताउनुबाहेक केहि हुन्न । तसर्थ, मिलेर लड्नुकाे विकल्प छैन, जति असमझदारी बढ्छ त्यति नै राेगले जित्दै जान्छ ।

हिसावकिताब पछि गराैँला तर महामारी रोक्नेतर्फ सबैकाे ध्यान जानू आवश्यक छ । राष्ट्रपति ट्रम्पले पनि याे कुरा मनन गर्नैपर्छ ।

गाउँ सहर डेस्क

तपाईँको मत