दृष्‍टिकोण

देश लकडाउन गरेर सरकार तिमी यी काम गर्दैछौ कि छैन ?

काठमाडौँ । देश तथा विदेशका अधिकांश स्थानहरु अहिले कोरोनाभाइरसका कारण लकडाउनमा छन् । सबैले हरसम्भवले भाइरस नछिरोस र बच्ने उपायका विभिन्न माध्यमहरुलाई प्रयोग गरिरहेका छन् । आशा गरौँ यी प्रयासहरु सबै सम्भव बनून र कोरोना भगाउन हतियार बनून् ।

देश हप्तादिनदेखि लकडाउनमा छ । एक अर्को जिल्लामा पनि आवागमन प्रायः ठप्प छ । दैनिकी दिनकै असहज बन्दै गएको अवस्था छ । अत्यावस्यकीय बस्तुको ढुवानी, एम्बुलेन्सजस्ता कुराहरु खुला गरिएको छ । तर दैनिक उपभाेग्य सामानको अभाव हुँदै गएको छ भने ग्यास, औषधि, मास्क, सेनिटाइजरजस्ता कुराहरुको अभाव हुँदै गएको छ । सरकार भन्छ सबैकुराको अभाव छैन भनेर तर धरातलमा यी कुराहरुको प्राप्तिमा असहजता भइरहेको छ ।

सरकार नोभेम्बरदेखि लकडाउन हुँदासम्मको अवस्थामा विदेशबाट नेपाल फर्किएका व्यक्तिहरुको घरमा पुगिसक्नुपर्ने तर संख्यामै अलमल गरिरहेको छ । उनीहरुको तथ्याँक यकिन गरेर बसेकै ठाउँ र संगत गरिएको आंकडा निकालेर उचित व्यवस्थापनमा सरकार अझै चुकिरहेको छ ।

किट तथा उपकरणको अभावमा चेकजाँच गर्न चाहनेको कोरोनापरीक्षण गर्न सरकारले सकेको छैन । रिफर गरिएकाहरुको मात्र, त्यहिँमाथि २ दिन लगाएर नतिजा दिने व्यवस्थाले कोरोना परीक्षणनै राम्रोसँग हुन नसकेको स्पष्ट हुन्छ ।

डाक्टर, नर्स, मेडिकलकर्मी, विरामीलाई चाहिने उपकरणको अभावले गर्दा र मेडिकल सचेतनाको कमीले गर्दा स्वास्थ्यकर्मी अत्तिएको अवस्था छ, विरामी भेट्न डराइरहेको अवस्था छ, विरामी अस्पताल पुग्दा भाग्नुपर्ने अवस्था छ । यो किन भएको भन्ने थाहा पाएर पनि उचित कदम नचालिनु दुर्भाग्य बनेको छ ।

संक्रमित व्यक्ति जो आइसोलेशन र क्वारेन्टाइनमा छन उनीहरुको दैनिक चेकजाँच हुन नसक्नु, मृत्युपछि कोरोना टेष्ट गरिनु अत्यन्तै लापरवाही देखिएको छ । युद्धस्तरमा ल्यावसेन्टर खडा गर्न नसक्नु मन्त्रालयको कमजोरी देखिएको छ ।

स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ता दिएर आँखामा चारो हालेपनि उचित उपकरण र लुगा अनि सुरक्षित स्थानबेगर उनीहरुले पनि काम गर्न नसक्ने अवस्थालाई वेवास्ता गरिएको छ ।

सरकारले स्क्रिनिङ्ग प्रणाली अवलम्बन गर्नुपर्नेमा त्यो सुरु गरिएको छैन । लकडाउनमा आवत-जावत हुने सवारीसाधन, व्यक्तिलाई खाली ज्वरो नापेर यताउता गर्न दिइएको छ, यो खतराको संकेत हो । आवश्यक निगरानी र दवाई छिरेर मात्र साधनको आवतजावत गर्न सरकार चुकेको छ ।

हामी अधिकांश गरिब छौँ, केहीदिन बाहेक धेरैसँग दैनिक उपभोग्य सामान जोहो र खरिद गर्ने क्षमता राख्न सक्दैनौँ । खै सरकार घरमै पुग्नुपर्ने, पुग्नेछ भन्ने कुरा अहिलेसम्म देखिएको छैन । अब कतिदिन लकडाउन हुने र जीवन चलाउने भन्नेमा जनता त्राहिमाम बनेका छन् ।

तपाईं देश बाहिरबाट आउनुभएको भए यस्तो रोग आउनसक्ने कुरालाई खै तपाईं तथा तपाईंको परिवारले सजगता अपनाएको ? भौतारिनु, पार्टी गर्नु, भिडभाडमा जानू, भोज गर्नु तपाईंको नैतिकता त्यहि हो ? चुपलागेर एक्लै बस्नुहोस, सरकार यो कुरामा तिमीपनि चुकेका छौ । खै तथ्याँक निकालेर जस्ताको तस्तै राख्न सक्या ? खाली रेमिट्यान्स आउँछ र खाउँला भन्ने शैली त्याग, काम गर ।

मौसमनै खराब छ जसका कारण अधिकाँशत् जनता रुघा, खोकी, ज्वरो, घाँटी दुख्ने, खसखस गर्ने जस्ता सिजनल फ्लूबाट पीडित छन् । के उनीहरु शंकाको घेरामा पर्दैनन् ? उनीहरु सबैको घरमै गएर रोग परीक्षण गर्नु पर्दैन ? किट तिमीले जुगाड गर्नैपर्छ, घरमै सबैको परीक्षण गर्नैपर्छ ।

यो मर्कामा सरकार तिमीले सबैलाई आर्थिक भार हुने र हुनसक्ने कुरामा अनुदान दिनुपर्छ । नागरिकप्रेमी सरकारको खम्बा बन्न सक्नुपर्छ । कालाेबजारी नियन्त्रण गर ।

नेपाल भारत सीमामा रोकिएका जनताको सबै परीक्षण गरेर उचित व्यवस्थापन तिमीले गर्नैपर्छ । यो समयका सबैको परीक्षण गरेर उनीहरुको व्यवस्थापनमा तिमी चुक्नु हुन्न ।

भनिन्छ रोग बाहिरबाट मानिसले ल्याउने हो, बाहिरबाट आउनेको समयमै उचित व्यवस्थापन गरौँ सरकार !

हेलचेक्राइँ नगरौँ सरकार, सबैकुरामा जनता साथमै छन् ।
 

गाउँ सहर डेस्क

तपाईँको मत