दृष्‍टिकोण

काेराेनाकाे जाेखिम रहेकाे बेला कसैको ध्यान नपुगेको रोहिंग्या बस्ती

नेपालमा सन् २०१२ मा बंगलादेशबाट भारतको बाटो हुँदै केही रोहिङ्ग्या मुस्लिम समुदायका मानिसहरु नेपाल प्रवेश गरे । उनीहरुलाई नेपाल प्रवेश गर्न भारत र नेपालका केही मुस्लिम समुदायका ब्यक्तिहरुले सहयोग गरे । रोहिङ्ग्या मुस्लिम समुदायका मानिसहरुले उनीहरु बसोबास बढी मात्रामा गरेको बंगलादेशभन्दा नेपाल बस्नलाई सुरक्षित महसुश गरेपछि उनीहरुले आफ्ना परिवारलाई पनि नेपाल ल्याउने प्रयास गर्न थाले र केहीले आफ्ना परिवारका सदस्यहरुलाई नेपाल ल्याउन सफल भए ।

सुरुमा जे जति रोहिङ्ग्या मुस्लिम समुदायका मानिसहरु नेपाल प्रवेश गरे उनीहरु नेपालको तराइ हुँदै काठमाडाैं आए । काठमाडाैंमा आएपछि नेपालका मुस्लिम समुदायका नेताहरुसँग उनीहरुको सम्पर्क भयो । उनीहरुले आफूलाई काठमाण्डौमा बसोबासका लागि व्यवस्था गरी दिन नेपालका मुस्लिम समुदायका नेताहरुसँग अनुरोध गरे । त्यसपछि उनीहरुलाई काठमाडाैं जिल्लाको कपन हालको बुढानिलकण्ठ नगरपालिका क्षेत्रमा डेरा खोजी बस्न नेपाली मुस्लिम समुदायका मानिसहरुले सहयोग गरे । बिस्तारै सो क्षेत्रमा रोहिङ्ग्या मुस्लिम समुदायका मानिसहरुको संख्या बढ्दै गयो । उनीहरु एक आपसमा संगठित हुन थाले । उनीहरु आफ्नो जीवन धान्न आफूले जानेका विभिन्न कामहरु गर्न थाले । नेपाली समुदायसँग पनि उनीहरु घुलमिल हुन थाले ।

रोहिङ्ग्याहरुको संख्या दिन प्रति दिन बढ्दै गएपछि उनीहरुलाई डेरा भाडामा बस्न गाह्रो हुन थाल्यो । एक त उनीहरुको धर्मले नै परिवार नियोजनलाई स्वीकार नगर्ने हुनाले परिवारको संख्या बढी भएपछि घर धनीले उनीहरुलाई डेरा छोड्न दबाब दिन थाले । त्यसको विकल्पको रुपमा उनीहरुले कसैको जग्गा भाडामा लिई बस्ने सोच बनाए र बसोबासका लागि जग्गा भाडामा लिन खोज्न थाले । उनीहरुले बुढानिलकण्ठ नगरपालिका ११ स्थित राम मन्दिर र लसुनटारमा जग्गा भाडामा लिइ जस्ताका टहराहरु बनाइ बसोबास गर्न थाले । उनीहरु त्यसरी बसोबास गरेको पाँच वर्ष भयो ।

रोहिङ्ग्या मुस्लिम समुदायका मानिसहरुको बसोबास लगायत शिक्षा, स्वास्थ्य, खानेपानी आदि दैनिक जीवनयापनका लागि नेपालस्थित संयुक्त राष्ट्र संघीय शरणार्थी सम्बन्धी उच्च स्तरीय आयोगले सहयोग गरी रहेको छ । यसका लागि आयोगले मासिक रुपमा केही रकम सहयोग उपलब्ध गराउने उनीहरु बताउछन् । आयोगबाट प्राप्त सहयोग बापतको रकमबाट उनीहरुले बालबच्चाको शिक्षा, स्वास्थ्य लगायत दैनिक उपभोग्य सामानहरुको खरिदमा खर्च गर्दछन् । अन्य कुनै निकायबाट नियमित सहयोग र्छन । कहिलेकाही नेपालमा रहेका विभिन्न मुस्लिम समुदायका संघ संस्थाहरुले खाद्य सामाग्रीहरु सहयोग स्वरुप उपलब्ध गराउछन् ।

हाल विश्वलाई कोरोना भाइरसको संक्रमणले गाजी रहेको छ । नेपालमा पनि  केही व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भइ सकेको छ । सरकारले यो विश्वव्यापी महामारीको रुपमा देखिएको भाइरसको संक्रमण फैलिन नदिन देशलाई लकडाउन गरेको छ । सरकारले देशमा यो भाइरसको संक्रमण हुन नदिन अधिकतम प्रयास गरिरहेको छ तर यो रोहिङ्ग्या बस्तीमा कसैको ध्यान पुगेको छैन । रोहिङ्ग्या मुस्लिम समुदायका करिब दुइ सयको संख्यामा रहेका मानिसहरु जस्ताको टहरामा खादाखाद गरी बसी रहेका छन् ।उनीहरु चाहेर पनि एक अर्कामा दूरी कायम गर्न सक्दैनन् । कम ठाउमा परिवारका सबै सदस्यहरु कोचिएर बस्नु पर्ने बाध्यता छ । केही गरी कसैलाई कोरोना भाइरसको संक्रमण भएमा बस्ती भरी फैलने सम्भावना छ । यो बस्तीभित्र वृद्ध वृद्धाहरुको संख्या पनि अधिक छ जो दीर्घ रोगी छन् । अर्को संक्रमण फैलिन सक्ने सम्भावना भनेको यो समुदायका मानिसहरुमा सरसफाइ सम्बन्धी चेतनाको अभाव रहेको छ । उनीहरुको बस्ती ज्यादै नै फोहोर रहेको छ । उनीहरुमा कोरोना भाइरसबाट बच्न के के गर्नुपर्छ भन्ने चेतनाको समेत अभाव छ । सामान्य साबुन पानीले हात धुने कुराको जानकार समेत उनीहरु छैनन् । रुघाखोकी,ज्वरो आदिलाई उनीहरु सामान्य रुपमा लिन्छन् । उनीहरुमा यस्ता लक्षण कोरोना भाइरसका लक्षण हुन सक्छन् भन्ने न्युनतम ज्ञान समेत उनीहरुमा छैन । उपचारका लागि अस्पताल जाने कुरा पनि उनीहरुका लागि आर्थिक हिसाबले पनि गाह्रो कुरा हो । होम क्वारेण्टाइन, क्वारेण्टाइन, आइसोलेसन जस्ता शब्दसंग परिचित हुनु उनीहरुका लागि परको कुरा हो ।

विश्वमा कोरोना भाइरसले महामारीको रुप लिइ सकेको केही दिन अघि सम्म रोहिग्या बस्तीमा बाहिरी मानिसहरु धर्म प्रचार गर्न बाक्लै रुपमा आएका देखिन्थे । उनीहरुले बस्तीभित्र रहेको प्रार्थनाका लागि बनाइएको सानो मस्जिदभित्र सबै मानिसहरुलाई जम्मा पारी धर्म सम्बन्धी ज्ञानको प्रचार समेत गरे । त्यसरी आउने व्यक्ति स्वदेशी तथा विदेशी मुस्लिम समुदायका रहेको रोहिङ्ग्या बताउछन् । 

अर्को नेपालमा लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु रोग यसपाली पनि देखा पर्न थालिसकेको छ । यसको जोखिम पनि यो बस्तीमा उच्च रहेको छ । फोहोर स्थानमा यो रोग फैलिने सम्भावना बढी रहेको र त्यसका लागि अनुकूल वातावरण यो बस्तीमा रहेकोले डेंगीको समेत प्रकोप देखिन सक्ने सम्भावना छ ।

रोहिङ्ग्या मुस्लिम समुदायका मानिसहरुले खाना पकाउनका लागि दाउराको प्रयोग गर्ने गरेका छन् । यसले हावाहुरीको समयमा आगलागीको त्रास समेत रहेको छ । यदि आगलागी भयो भने पुरै बस्ती नै सखाप हुने सम्भावना देखिन्छ । यसबाट ठूलै मानवीय तथा भौतिक क्षती निम्तने खतरा छ ।

नेपालमा कोरोनाको सम्भावित जोखिमलाई नियन्त्रण तथा रोकथाम गरी संक्रमण फैलन नदिन नेपाल सरकारले सबै स्थानमा जनचेतना सम्बन्धी गतिबिधी सञ्चालन गरे पनि यो रोहिङ्ग्या बस्तीमा कसैको ध्यान पुगेको छैन, जुन संक्रमणका दृष्टिले जोखिममा छ । यो बस्तीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, प्रदेश सरकार, नगरपालिका र उनीहरुको व्यवस्थापनमा सहयोग गरी रहेको संयुक्त राष्ट संघीय शरणार्थी सम्बन्धी उच्च स्तरीय आयोगले समेत कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धी कुनै पनि गतिबिधी सञ्चालन गरेको छैन, जसले गर्दा स्वयम् रोहिङ्ग्या मुस्लिम समुदाय र स्थानीय बासिन्दामा भय र त्रासको वातावरण सिर्जना गरेको छ ।

यो रोहिङ्ग्या बस्तीमा बेलैमा सरोकारवाला निकायको ध्यान पुग्नु जरुरी देखिन्छ । यदि ध्यान नपुर्याउने हो भने केही गरी उनीहरुमा कोरोनाको संक्रमण भयो भने संक्रमण फैलन सक्ने संभावना बढी देखिन्छ किनकी उनीहरुमा संक्रमण फैलिन नदिन के गर्न हुने र के गर्न नहुने भन्ने न्यूनतम ज्ञानको अभाव छ । यसका लागि स्थानीय सरकारले सो बस्तीमा कोरोना सम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नु आवश्यक देखिन्छ साथै स्वास्थ्य परिक्षणका लागि बस्तीमै फिवर क्लिनिक सञ्चालन गर्नु पनि अहिलेको समयमा उपयुक्त हुन्छ । बस्तीमा सरसफाइ गतिविधि सञ्चालन गर्न लगाउनुका साथै हात धुनका लागि साबुन पानीको व्यवस्था मिलाउन सके  संक्रमण रोकथाम एवं नियण्त्रणमा प्रभावकारीता वृद्धि हुन सक्छ । उनीहरुका लागि मास्क, पञ्जा, स्यानीटाइजर जस्ता समाग्रीको वितरण गर्न सके जोखिम न्यूनिकरणमा थप सहयोग पुग्ने देखिन्छ साथै सम्भव भए डिस इन्फेक्सन स्प्रे कीटनाशक औषधी छर्न सके राम्रो हुन्छ । यसका लागि संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार लगायत अन्य सरोकारवाला निकाय सबैको ध्यान जानु आवश्यक देखिन्छ ।
 

गाउँ सहर डेस्क

तपाईँको मत