दृष्‍टिकोण

सरकार ! सीमामा चेकजाँच यस्तै हाे ? हावाहुरी थेग्ने देशभरका होटल, गेष्टहाउस किन क्वारेन्टाइन र आइसोलेसन वार्ड नबनाउने ?

कन्चनपुर, गड्डाचाैकीकाे शनिबारकाे दृश्यः तस्विर साैजन्य पुस्कर भट्ट

काठमाडौँ । चैत बैशाखको महिना हावाहुरी र प्रि-मनशुनको नजिककाे समय हो, यो कुरा सबैलाई थाहै छ । कोरोनाभाइरसले विश्व चपेटामा परेको छ । नेपाल सरकारले पनि सोबाट जोगिनका लागि अनेक प्रयास र विकल्पहरु सार्वजनिक गरेर द्रूतगतिमा कार्य गरिरहेको छ । 

यो समाचार तयार पार्दासम्म कोरोनाभाइरस १८६ देशमा फैलिसकेको छ । अहिलेसम्म भाइरसका कारण ११,८७५ जनाको ज्यान गइसकेको छ । संक्रमितको संख्या २८५,६९९ पुगेको र निको हुनेको सँख्या ९३,५८४ पुगेको छ । चीनपछि इटलीमा मृत्युको सँख्या ह्वात्तै बढैको छ । अहिलेसम्म त्यहाँ ४,०३२ जनाले ज्यान गुमाएको तथ्यांक सार्वजनिक भएको छ । तर यो मृत्यु कोरोनाभाइरसकै कारण हो कि होइन ? भन्ने कुराहरु पनि सार्वजनिक भएका छन् ।

नजिकैको खुला सीमाका मुलुकमा पनि कोरोना संक्रमणले ज्यान गएका छन् । भारतमा ४ जनाको मृत्यु भइसकेको छ भने ३०१ संक्रमित फेला परिसकेका छन् । उता बंगलादेशमा २ र पाकिस्तानमा ३ जनाको मृत्यु भइसकेको छ ।

नेपालले पनि भाइरस छिर्न नदिनका लागि नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय हवाई उडानहरु आगामी चैत ९ गते देखि १८ गतेसम्मको लागि स्थगित, सीमानाकाबाट आवागमन गर्ने यात्रुको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखी संक्रमणबाट जोगाउन अनिवार्य स्वास्थ्य जाँचको व्यवस्थासहित आवागमनको व्यवस्था, देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु आगामी चैत ९ गतेदेखि चैत २१ गतेसम्म बन्द, चैत १० गते देखि केही अवधिका लागि नेपालभर चल्ने सबै प्रकारका लामो दूरीका यात्रुवाहक सवारी साधनहरू सञ्चालनमा रोक, मानिसहरुको भडिभाड हुने स्थान सिनेमा घर आदि हाललाई बन्द, विद्यालय तथा विश्वविद्यालयका पठन पाठन तथा परीक्षाहरु हाललाई स्थगित, महामारीको अवस्थालाई हेरी, थप कदमहरु पनि चाल्न सकिने सरकारले बताएको छ ।  

सरकारको यति तयारी हुँदापनि अझैपनि क्वारेन्टाइन र आइसोलेसनका कक्षहरुको बारेमा खुला चौर र जंगलको बीचका दृश्यहरु सार्वजनिक भइरहँदा जनताको दैलोबाट प्रश्नहरु उठिरहेका छन्— सरकारले भएका अस्पताल, नभ्याए होटल तथा गेष्टहाउस प्रयोग गर्न सक्दैन ? के कुराले रोकेको छ ? सबै खाली त छन नि, केही रकमको जोहो गरेर प्रयोग गर्दा सुरक्षित र दिगो हुन्थ्यो की ! भन्ने प्रश्नहरु उठाएका छन्, जुन जायज छ ।

कामना गरौँ त्यो महामारीको अवस्था नआउला तर सीमा नाकाबाट जसरी ठूलो भिड लापरबाहीका साथ नेपाल प्रवेश गराइँदैछ, यहि नै एउटा खतराको संकेत हो । यसमा हामी आफैँले बुझेर जहाँ छौँ त्यहिँ बसेर सहयोग गर्नुपर्ने अवस्थामा हामी धेरै चलायमान हुन थाल्यौँ भने समस्या झनै बढ्छ, घट्दैन । ढिलै किन नहोस् अन्तर्राष्ट्रिय विमानस्थलमा आएका ६१ जनालाई खरिपाटीस्थित क्वारेन्टाइनमा लगेको छ, जुन सराहनीय छ । बाँच्नु र बचाउनु छ भने हामी सबै संयम र अनुशासित हुनै पर्छ । यो कुरामा असमान व्यवहार भन्ने शब्द घुसाउनु निच स्वार्थीपन हुनेछ ।

हो विपत्तीको समयमा सबैलाई गाह्रो हुन्छ । ठूलालाई पनि उही हो र सानालाई पनि उही हो । आखिर अफ्ट्यारो त सबैलाई पर्छ नै । समस्यासँग जुध्ने हो भाग्ने होइन । विश्वका बैज्ञानिक, चिकित्सक, अधिकारकर्मी, जनता र सरोकारवाला सबै भाइरस उन्मूलनको लागि लागिपरेका छन् । वहाँहरुको साथमा साथ दिँदै हामी अगाडि बढ्नुपर्ने देखिएको छ । संयमताले काम गर्नुपर्ने समयमा सरकारले पनि हावाहुरीले उडाउने क्वारेन्टाइन र आइसोलेशन वार्डको कल्पना र निर्माण गर्नु हुँदैन । जनता साथमा छन, दिगो काम गर्नमा सबै लागि पर्नुपर्छ । सबैको हातेमालोबाट मात्रै हामीले यो खतरनाक भाइरसलाई जित्न सक्छौँ ।

र, अर्को महत्वपूर्ण कुरा, दाजुभाई/दिदीबहिनी/जोकोही केही समयभित्र तपाईं नेपाल आउनु भएको छ भने कृपया तपाईं घरमा पनि आइसोलेशनमा बसेर नियमित चेकअप गरिदिनुहोस् । जसले गर्दा भाइरसको संक्रमण भए/नभएको थाहा हुन्छ र अन्यमा सर्नबाट तपाईंले बचाउन सक्नुहुन्छ । तपाईं एक जनाको सो कार्यले अन्य धेरैको ज्यानमा संक्रमण छिर्नबाट बच्न सक्दछ । 

तसर्थ, सरकार तात, जनताले साथ दिएकै छन् सम्पूर्ण निकायलाई चुस्त राखेर कुनैपनि पक्षमा फितलो नभइ काम गरेर कोरोना भगाऊ । अफवाह कसैले नफैल्याउँ, दैनिक सम्पर्क कम गरौँ, भेट भएका मानिसको पनि ठेगाना र नम्बर अनिवार्य राखौँ, हात धुन नबिर्साैँ, सेनिटाइजरकाे प्रयाेग गराैँ, सबै सचेत र सजग बनौँ ।
 

गाउँ सहर डेस्क

तपाईँको मत