स्वास्थ्य

सरकार तिमी हेलचेक्राइँ त गरिरहेका छैनौ, सावधान जनशक्ति परिचालन गर !

काठमाडौँ । विश्वव्यापी महामारीको रुप लिएको कोरोनाभाइरस (कोभिड-१९) १८५ देशमा फैलिसकेको छ । चीनको वुहानबाट सुरु भएको यो भाइरसको अहिलेसम्म औषधि बन्न सकेको छैन ।

वर्ल्डओमिटर्स डट इन्फोकोरोनाभाइरसको ताजा तथ्यांक अनुसार १८५ देशमा अहिलेसम्म भाइरसका कारण ११,४१७ जनाको मृत्यु भएको छ भने २,७६,४६२ जना संक्रमित भएका छन् । निको हुनेको संख्या पनि बढेर ९१,९४५ पुगेको छ ।

भाइरसको उत्पति चीनबाट भएपनि अहिले इटली सबैभन्दा बढी चपेटामा परेको छ । यो समाचार तयार पार्दासम्म इटलीमा ४,०३२ जनाले ज्यान गुमाइसकेका छन् । चीनमा ३,२५५ जनाको मृत्यु भइसकेको छ । यस्तै इरानमा १,४३३, स्पेनमा १,०९३, फ्रान्समा ४५०, अमेरिका २७५, दक्षिण कोरियामा १०२, यूकेमा १७६, नेदरल्याण्डमा १०६, जर्मनी ६८, स्वीटजरल्याण्ड ५६, बेल्जीयममा ३७, जापान ३५, इन्डोनेसिया ३२, फिलिपिन्समा १८, इराकमा १७, स्वीडेनमा १६ जना, सान मारिनोमा १४, अल्जेरिया ११, ब्राजिल ११, ग्रीस १० जनाले ज्यान गुमाइसकेका छन्, जुन स्थान अन्य देशको मृत्युदरभन्दा धेरै छ । अन्य देशमा मृतक संख्या सिंगल डिजीटमा छ ।

कोरोनाभाइरसको यो महामारीलाई लिएर विश्व अहिले एकढिक्का भएर लागिपरेका छन् । सबैले सबैको सहकार्य र एकतालाई अघि बढाएका छन् । भाइरस नपुगेका र अल्पविकसित मुलुकहरुपनि आफ्नो हैसियतले नभ्याएपनि सजगताका साथ मैदानमा उत्रिएका छन् जुन सराहनीय छ ।

नेपालले पनि कोभिड-१९ लाई लक्षित गर्दै पहिलो चरणका कार्यक्रमहरु लागू गरेको छ । लकडाउन त हैन तर अत्यावस्यकीय अवस्था र सामान बाहेक हिँडडुल, भेलाहुने स्थानहरु, शिक्षण सँस्था, डिस्को, सिनेमा जस्ता क्षेत्रहरु अर्को सूचना जारी नहुन्जेलसम्म बन्द गरेको छ । विभिन्न जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरेको छ । अस्पताल तथा नवनिर्मित पूर्वतयारीमा जुटेको छ सरकार । यति हुँदापनि विभिन्न स्थानमा अपरिपक्वता देखिएको छ जुन खतराको संकेत हो ।

नेपाल भारत सीमामा हेलचेक्राइँ देखिएको छ । कञ्चनपुरको गड्डाचौकिको यो भिडियोले प्रष्ट पार्छ । यस्तो अवस्थामा कसैले कसैलाई खेद्ने होइन, जो जहाँ छ त्यहिँ सुरक्षित बस्ने भन्ने कुरा बुझ्न र बुझाउनु जरुरी देखिएको छ । सीमामा चेकजाँच नगरी हुलका हुल मानिस ओहोर-दोहोर हुनुले सरकारको उपस्थिति नभएको स्पष्ट पारेको छ । यो कार्य बन्द गर्नु जरुरी छ ।

आवश्यक चेकजाँच पश्चात भित्राउनुपर्नेमा सो व्यवस्था देखिएको छैन । खै जनशक्ति खटाएको सरकार ? कम्तिमा थोरैपनि सजगता सोच्नु पर्दैन ? यसले नेपालतर्फ भाइरसको संक्रमण छिर्दैन, छिरेन भन्न सकिएला ? त्रसित बनायौ सरकार तिमीले ।

  1. त्रिनगर नाका कैलालीः भारतबाट किनमेल गरेर फर्किने नेपालीको स्वास्थ्य जाँच नै हुँदैन
  2. जमुनाहा नाका बाँकेः पारि भारततिरको बहराइचमा संक्रमित भेटिएका छन्, तर पनि नेपाली नाकामा उच्च सतर्कता छैन । दैनिक हजारौँ ओहोरदोहोर गर्ने नाकामा आठ स्वास्थ्यकर्मीले दुई थर्मोमिटर बोकेर ज्वरो नाप्दै छन् । 
  3. भैरहवा नाका रुपन्देहीः सरकारले झारा टारेको भन्दै स्थानीयको पहलमा बेलहिया नाकामा पाँच स्वास्थ्यकर्मी रहेको छुट्टै हेल्थ डेस्क सञ्चालन । 
  4. रक्सौल नाका पर्साः देशको सबैभन्दा व्यस्त यो नाका अस्तव्यस्त छ । घन्टामै करिब पाँच सय ओहोरदोहोर गर्छन्, तर हेल्थ डेस्कमा दुई अहेब र एक अनमि मात्रै छन् ।  
  5. जोगबनी नाका मोरङः यो नाकाबाट दैनिक १५ हजार मानिस आवतजावत गर्छन् । तर, सीमामा सामान्य स्वास्थ्य जाँच मात्रै हुन्छ ।  
  6. भन्टाबारीः भारतबाट सुनसरीको भन्टावारी नाका हुँदै नेपाल प्रवेश गर्ने सर्वसाधारणको स्वास्थ्य जाँच पनि प्रभावकारी हुन सकेको छैन । 
  7. कांकडभिट्टाः करिब १२ हजार ओहोरदोहोर हुने यो स्थानमा तिनवटा इन्फारेड थर्मोमिटर बोकेका तीन स्वास्थ्यकर्मी छन् । जोखिम न्यूनीकरण होइन, बढाउने ठेलमठेलबीच सामान्य रूपमा ज्वरो नापेर यात्रुहरूलाई छाडिन्छ । स्रोतः नयाँपत्रिका

कञ्चनपुर गड्डाचौकीबाट आज विहान सञ्चारकर्मी पुस्कर भट्टले खिचेको भिडियाेले सहजै भन्न सकिन्छ सरकार तिमीपनि चुक्दैछौ र हामीलाई पनि चुकाउँदैछौ । बेलैमा होस नगरे परिणाम हाम्रो पक्षमा नहुनेतर्फ तिमीले कहिले विचार गर्ने र एक्शनमा आउने ?

याे हेलचेक्राइँ हाेइन ?, तत्काल उचित कदम चालियाेस् ।
 

गाउँ सहर डेस्क

तपाईँको मत