गाउँ सहर

प्रदेश २ को नामकरण र राजधानीको विषय थप पेचिलो र अन्योलपूर्ण

काठमाडाैं । राजनीति दलबीच सहमति हुन नसक्दा प्रदेश २ को नामकरण र राजधानीको विषय थप पेचिलो र अन्योलपूर्ण बनेको छ । प्रदेशको नामकरणमा राजनीति दलबीच सहमति नभएपछि मतदान प्रक्रियाबाटै नामकरण र राजधानी टुङ्ग्याउन खोजिए पनि कुनै पनि प्रस्तावको पक्षमा दुई तिहाइ मत पुग्न सकेन ।

प्रदेश २ को नामकरणका लागि प्रदेशसभामा विभिन्न दलले छुट्टाछुट्टै चारवटा नाम दर्ता गराएका थिए । सत्तापक्ष समाजवादी पार्टी र राजपाले मधेश प्रदेश, प्रमुख प्रतिपक्षी दल नेकपाले जानकी प्रदेश, अर्काे प्रतिपक्षी दल नेपाली काँग्रेसले मिथिला भोजपुरा प्रदेश र अन्य केही प्रदेशसभा सदस्यले मध्य मधेश प्रदेशको नाम दर्ता गराएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

यस्तै प्रदेश २ को स्थायी राजधानी जनकपुरलाई राख्नुपर्ने, परिवर्तन गरी राजधानी वीरगञ्ज बनाउनुपर्ने र वीरगञ्ज तथा निजगढ क्षेत्रलाई समेटिएर राजधानी राख्नुपर्ने गरी तीनवटा प्रस्ताव प्रदेशसभामा दर्ता थिए ।

दर्ता भएका नामकरणका चार र राजधानीसम्बन्धी तीन गरी सातवटै प्रस्तावमा मङ्गलबार मतदान भएको थियो । पालैपालो भएको सो मतदानमा कुनै पनि प्रस्तावको पक्षमा दुई तिहाइ बहुमत नआएपछि प्रदेशको नामकरण र राजधानीको विषय थप पेचिलो र अन्योलग्रस्त बनेको प्रदेशसभा सदस्य बताउँछन् ।

मतदान प्रक्रियाबाट पनि परिणाम नआएपछि प्रदेश २ को नामकरण र राजधानीको विषय थप पेचिलो र अन्योलमा परेको छ । यसबाट प्रदेश २ को नामकरण र राजधानीको टुङ्गो लगाउने कार्य केही पछि धकेलिएको छ । लामो समयको रस्साकस्सीपछि प्रदेशको राजधानी जनकपुरमै राख्ने विषयमा सहमतिमा पुगेका मुख्य राजनीतिक दलहरु प्रदेशको नामकरणका लागि भएको मतदानसँगै विभाजित बनेका छन् ।

प्रदेशको नामकरणका लागि भएको निर्वाचनमा आफूहरुको पक्षमा मतदान नगरेको भन्दै प्रदेशसभा सदस्यले दलगत आधारमै राजधानीको फरकफरक प्रस्तावमा मतदान गरेका छन् । यसका कारण प्रदेश राजधानीका लागि प्रस्तावित कुनै प्रस्तावको पक्षमा पनि दुई तिहाइ मत पुग्न नसकेको प्रदेशसभा सदस्यको भनाइ छ । सबै दलको साझा प्रस्तावका रुपमा दर्ता भएको प्रदेशको राजधानी जनकपुरको प्रस्तावमा भएको मतदानमा पक्षमा ५२ र विपक्षमा ५२ मत नै खस्यो । राजधानी जनकपुरको प्रस्ताव पारित गर्नका लागि भएको मतदानमा तीनवटा मत बदर भएको छ ।

नेपालको संविधान, २०७२ अनुसार प्रदेशको नामकरण र राजधानी टुङ्गो लगाउन प्रदेशसभामा कायम रहेको सदस्य सङ्ख्याको दुई तिहाइ बहुमत चाहिन्छ तर प्रदेश २ सभामा कुनै पनि दलको स्पष्ट बहुमत छैन । सत्तारूढ समाजवादी पार्टी र राजपासँग सामान्य बहुमत अर्थात् ५४ जनामात्र छ ।

कूल १०७ सदस्यीय प्रदेशसभामा नेकपासँग ३२ र नेपाली काँग्रेसका १९ प्रदेश सांसद छन् । अब काँग्रेस वा नेकपामध्ये कुनै एक दलको समर्थन नभएसम्म सत्तारूढ दलले दुई तिहाइ पु¥याउन सक्ने स्थिति छैन । यसको परिणाम मङ्गलबारको मतदानले देखाएको छ । मतदानमा सत्तापक्षले अघि सारेको मधेश प्रदेशको पक्षमा ६० मत खस्यो भने विपक्षमा ४७ मत खस्यो ।

यस्तै नेकपाले प्रस्ताव गरेको जानकी प्रदेशको पक्षमा ३७ र विपक्षमा ७० मत खस्यो भने काँग्रेसले प्रस्ताव गरेको मिथिला भोजपुरा प्रदेशको पक्षमा २८ मत र विपक्षमा ७९ परेको छ । केही प्रदेशसभा सदस्यले दर्ता गराएको मध्य मधेशको पक्षमा ४२ मत खस्यो भने विपक्षमा ६५ मत खसेको निर्वाचन अधिकृत रञ्जीत यादवले जानकारी दिनुभयो । मतदानले कुनै दलको पक्षमा बहुमत नदिएपछि सत्तापक्ष र प्रतिपक्षबीच जुहारीसमेत शुरु भएको छ । एकपछि अर्काे गरी दलको प्रस्ताव असफल भएपछि सत्तापक्ष र प्रतिपक्ष एक अर्का बिरुद्ध खरो अभिव्यक्ति दिन थालेका छन् ।

 

गाउँ सहर डेस्क

तपाईँको मत