स्वास्थ्य

धन्यवाद मन्त्री ज्यू, कोरोनाभाइरस भगाउन तपाईंले आत्मबल बढाइदिनुभयो  

काठमाडौँ । नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले राम्रै कुरा गरेका हुन मंगलबार तर कुरा अर्कोतिर घुमेको छ । 

नेपालीलाई इख छिटो लाग्ने चिज हो जुन रक्सीभन्दा चाँडै र सेकेण्डमै लाग्छ । नभए हाम्रा परिवार तथा घर अंशबण्डामा पर्दैनथिए, जग्गाको मुद्धा चाङ लाग्दैनथियो, मरिन्जेलसम्म न्याय खोज्नु पर्दैनथियो ।

धन्न परिवारकै सदस्यले याे सबै बुझेर इख नै सहि, ओकलिदिनुभयाे । 

कोरोनाभाइरसको सन्त्रास विश्वभर छ, करिब ११५ देशमा यो फैलिसकेको छ भने ४ हजार बढीको मृत्यु भइसकेको छ । साथै १ लाख १४ हजार बढीमा यो संक्रमण छिरिसकेको छ । धन्न भन्नुपर्छ नेपालमा यसको भौतिक उपस्थिति छैन ।

तर बजार होशियारीको लागि तातेको छ, सजगताको लागि तातेको छ । क्षणभरमै चेतनाको स्तर वृद्धि गराएको छ र बजारपनि महामारीको फाइदातर्फ जकेडिएको छ । यही समयमा मन्त्री ज्यूको शंका लागेको भरमा क्वारेन्टाइनमा राख्न नसकिने सन्दर्भले बजार आज जमेरै तातेको छ ।

आज मन्त्रालयमा उनले चीनबाट विद्यार्थी ल्याएर क्वारेन्टाइनमा राखे जसरी नराख्ने बताएका थिए । विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार आफैँ क्वारेन्टाइनमा बस्नुपर्ने उनको भनाइ थियो ।

ज्वरो आउने र रुघाखोकी देखिएमा अस्पतालमा परीक्षण गराउने व्यवस्था सरकारले बताउने भन्दै उनले कुनैपनि व्यक्तिमा संक्रमण देखिए त्यसको जिम्मा सरकारले लिने बताएका थिए । मन्त्री ढकालले ठूलो समूहमा क्वारेन्टाइनमा राख्नुपर्ने अवस्थामा सरकारले खरीपाटी क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्ने उनले बताए ।

तर समाचारका शिर्षकहरु यसरी बन्न थाले कि सरकारले उपचारै गर्दैन, वास्तै गर्दैन जस्ता समाचार आए । अब सरकारले क्वारेन्टाइनमा राख्न सक्दैन जस्ता शिर्षकका समाचार बने, बनाइए र बिकाइए अनि बुझ्ने हामीले पनि शिर्षक अनुसारको व्याख्या गरिरहेका छौँ ।

एउटा मुद्धा पाएपछि अर्को नआइन्जेल तातिरहने बानी हाम्रो सदियौँ देखिकै हो । यसमाथि पछिल्ला दिनहरु त यस्तै यस्तै बबन्डरहरुको चौघेरामै छ । हामी इखालू छौँ, छोटै समयमै देखाइहाल्छौँ ।

मन्त्री ज्यूलाई धन्यवाद, रोग नआई डराएका थियौँ तर तपाईंको बोलीमाथि बनेका समाचारले सबै नेपालीलाई एउटा विख मार्ने आत्मबल प्रदान गरेको छ । आशा गरौँ, यो औषधिले कोरोनाभाइरसलाई जरैदेखि उखेल्ने तागत प्रदान गर्नेछ ।

जय पशुपतिनाथ ।
 

गाउँ सहर डेस्क

तपाईँको मत