गाउँ सहर

महाशिवरात्री पर्वबाट नेपाललाई के फाइदा ?

काठमाडाैं । भाेली अर्थात फागुन ९ गते महाशिवरात्री पर्व । नेपालमा महाशिवरात्री पर्वको प्राचीन कालदेखि नै महत्त्व रहँदै आएको थियो। महाशिवरात्रीको बेला काठमाडाैंकाे पशुपतिनाथमा मात्र होइन सबैतिरका शिव मन्दिरहरूमा भक्तजनहरूको भिड लाग्ने गर्दछ।

शिवलाई वैदिक दर्शनले महान् आत्मा मानेको छ । शिव चिन्तन भन्नु अन्तरदेखि देखिने साक्षात्कार दृश्य झल्झली देखिनु हो । शिव उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्री प्रत्येक वर्षको फागुन कृष्ण चतुर्दशीका दिन मनाइने प्रचलन छ । कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री नामक चार प्रमुख रात्रीमध्ये एक पवित्र पर्वका रूपमा यसलाई पुराणमा वर्णन गरिएको छ ।

सम्पूर्ण दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने शिवको अति प्यारो दिनका रूपमा महाशिवरात्रीको दिनलाई लिइने प्रचलन छ । व्रतमा सर्वाेत्तम व्रतका रुपमा लिइने यस दिन भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजाअर्चना गरी व्रत बस्ने र शिवको पि्रय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् ।

यस पर्वका दिन उपवास गरी ‘ऊँ नमः शिवाय’ मन्त्र जप्ने गरेमा सर्वसिद्ध भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको छ । निर्जल व्रत, रात्री जागरण, चार प्रहरको पूजा, शिवलिङ्गमा दुग्धाभिषेक र शिव महिमा कीर्तन शिवरात्रीको पूजा अर्चनाका मुख्य अङ्ग मानिन्छन् । शिवरात्री पर्वलाई पर्वको राजा भनिन्छ र शिवरात्रीको पालनाले भोग र मोक्ष दुवैको प्राप्ति हुने प्राचीन जनविश्वास छ ।

पशुपतिनाथमा दर्शन गर्न हरेका वर्ष भारत लगायतका देशहरुबाट सयौंको संख्यामा भक्तजनहरु आउने गरेका छन् ।

के छ त महाशिवरात्री पर्वबाट नेपाललाई फाइदा ?

पहिलाे फाइदा भनेकाे पशुपतिनाथको मन्दिरमा ओइरिने तीर्थयात्री तथा अन्य पर्यटकहरूले नेपालभित्र प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा पैसा भित्र्याइरहेका हुन्छन् । उनीहरूको बढ्दो संख्याले देशको पर्यटन उद्योगलाई आर्थिक फाइदा पुर्‍याउने नै भयो । तीर्थालु तथा पर्यटकहरूले पशुपतिनाथको मन्दिरमा पनि भेटीघाटी, दान दक्षिणा, दस्तुर वा अन्य स्वरूपमा आर्थिक फाइदा पुर्‍याइरहेका हुन्छन् ।

छिमेकी भारत, मलेशिया, इन्डोनेशिया, मरिसस अन्य देशबाट आएकाहरूले पशुपतिनाथमा वर्षेनी करोडौँ रूपैयाँ नगद र सुनचाँदी जस्ता बहुमूल्य धातु भक्तजनहरूले चढाउने गर्दछन् । पशुपतिनाथ आउने यात्री नेपालका अन्य मठमन्दिरमा पनि आकर्षित हुने गरेका छन् । उनीहरूको नेपाल बसाइ लम्ब्याउन सकिन्छ, जसबाट नेपालले अर्थाेपार्जन गर्न सकिन्छ ।त्यसकाे लागि हामीले नेपालमा यातायात र मन्दिर क्षेत्रमा अन्य सेवा सुविधा विस्तार गर्न सकेमा त्यो अझै बढ्छ। त्यो देशको आम्दानीको अन्य श्रोत बन्न सक्छ ।

दाेसाे, पशुपतिनाथ धेरै हिन्दूहरूका लागि जीवनमा एक पटक नपुगी नहुने तीर्थस्थल हो। थुप्रै भारतीय हिन्दूहरू भारतमा मुख्य तीर्थहरू पुगिसकेपछि अनिवार्य रूपमा पशुपतिनाथको दर्शन गर्ने गर्दछन् । पशुपतिनाथको दर्शन गर्ने तीर्थालुहरूलाई मानवमा अन्तरनिहित पशुको जस्तो गुणबाट मुक्त हुन सहयोग पुग्दछ। पशुपतिनाथमा पूजा र दर्शन गर्नाले धेरै लाभ मिल्ने हिन्दू धर्मावलम्बीको विश्वास रहँदै आएको छ। विश्वभरिका मानिसहरू अहिले आध्यात्मिक ज्ञानको खोजीमा लागिरहेका छन् । महाशिवरात्रि पर्व मार्फत् पशुपतिनाथलाई विश्वको आध्यात्मिक केन्द्रको रूपमा विकास गर्न सकिने प्रचुर सम्भावना छ। धेरै मानिसहरूलाई पशुपतिनाथको दर्शन र भ्रमण गर्न आकर्षित गर्न सक्ने ठाउँ छ।

तेस्राे भनेकाे आर्थिक र आध्यात्मिक लाभसँगै महाशिवरात्री पर्वसँग पशुपति क्षेत्रको मात्र नभई नेपालको धार्मिक र सांस्कृतिक पक्ष पनि गाँसिएको छ । युनेस्कोको विश्व सम्पदा अङ्कित पशुपति क्षेत्र एउटा खुला संग्रहालय जस्तो छ। वाग्मती नदी किनारमा अवस्थित पाशुपत क्षेत्रमा प्राकृतिक एवं सांस्कृतिक विविधिताहरू देख्न सकिन्छ।

पशुपतिनाथको भ्रमणमा आउने तीर्थालु वा पर्यटकहरूले पशुपति क्षेत्रका तिनै विविधता हेर्न र तिनमा भिज्न सक्दछन् । विदेशी तीर्थालु र पर्यटकको आगमनले सांस्कृतिक आदानप्रदानमा सहयोग पुग्नदछ । धेरैभन्दा धेरै भारतीय र अन्य छिमेकी देशका तीर्थालु पशुपति क्षेत्रमा आकर्षित गर्न सकियो भने देश देशबीचको सम्बन्ध सुधारमा पनि सहयोग पुग्दछ ।

गाउँ सहर डेस्क

तपाईँको मत