गाउँ सहर

उता भीमेश्वरको शीलामा पसिना, यता सञ्चारमन्त्री बास्काेटाकाे राजीनामा !

काठमाडाैं । प्रसिद्ध दोलखा भीमेश्वरको शीलामा  विहिवार विहान ६ः१५ मा शीलाको दाहीने पट्टीबाट पसीना आउन सुरु भएको र केहि समयमै शीलाको सबैतिर पसिना आएर विहान ८ः२५ बजेसम्म आइरह्याे ।

शीलामा पसिना आउदा शुभ या अशुभ दुबै खाले प्रभाव पर्न सक्ने स्थानीय जेष्ठ नागरिकहरुको भनाई छ । शीलामा आएको पसिना पुछेको कपास साथमा राख्दा रोगव्याधी नलाग्ने, यात्रा सफल हुने, मनोकांक्षा पुरा हुने जनविश्वास समेत रहेको छ ।

भीमेश्वरको शीलामा दायाँ पट्टी पसिना आउदा राष्ट्रप्रमुखलाई असर गर्ने र बाँया पट्टी पसिना आउदा जनतालाई असर गर्ने जनविश्वास रहदै आएको छ ।

यता सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग ७० करोड कमिसनका लागि कुराकानी भएकाे अडियाे सार्वजनिक भएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएका छन् ।

बास्कोटाले राजीनामा दिँदै सामाजिक सञ्जालमा लेखेका छन्- 'मेरो बारेमा प्रश्न उठेकोले सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष नैतिकताको आधारमा मन्त्री पदवाट राजिनामा दिएको जानकारी गराउँदछु।\ 

सेक्युरिटी प्रेस स्थापनाको प्रक्रियामा कमिसन मागेको अडियो रेकर्ड सार्वजनिक भएपछि बाँस्कोटामाथि राजीनामा दिन दबाब परेको थियो । बाँस्कोटाले बुधबार ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएको थियो । सोही विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा बाँस्कोटालाई बर्खास्त गर्न माग गर्दै राष्ट्रियसभा बैठक अवरुद्ध गरेको थियो ।

प्रसिद्ध दोलखा भीमेश्वरको शीलामा पसिना आउनु र सञ्चारमन्त्रीकाे राजीनामाकाे कुनै तालमेत छैन हाेला तर कतिपयले भीमेश्वरको शीलामा पसिना अनिष्टकाे संकेत पुष्टी भएकाे बताउँछन् ।

दाेलखा भीमेश्वर नगरपालिकाका सागर कुमार श्रेष्ठ भन्छन्- 'भीमेश्वरको शीलामा दायाँ पट्टी पसिना आउदा राष्ट्रप्रमुखलाई असर गर्ने भन्ने जनविश्वास छ । अहिलेका सञ्चारमन्त्री बास्काेटा प्रधानमन्त्रीका प्रिय पात्र भएकाले यसपालीकाे दशा मन्त्रीकाे राजीनामासँगै टराेस् भन्ने कामना छ ।' 

शीलामा पसिना आएपछि स्थानिय समितिले क्षमा पुजा गरेको र शुक्रवार पसिना पुछेको कपास राष्ट्रप्रमुखकोमा पठाउने तयारी गरिएको छ । शीलाको पसिना पुछेको कपास राष्ट्र प्रमुख कहाँ पठाउने र राष्ट्रप्रमुखबाट क्षमा पुजा गर्ने परम्परा रहदै आएको छ ।

दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर २ दोलखा बजारमा रहेको प्रसिद्ध भीमेश्वरको शीलामा अहिलेसम्म १७ पटक पसिना आईसकेको स्थानियको भनाई छ ।

पछिल्लो पटक २०७४ असोज १० गते भीमेश्वरको शीलामा दुई पटक पसिना आएको र भीमेश्वरको शीलामा १९९०, २००७, २०२८, २०४५, २०६३, २०७१ मा पनि भीमेश्वरको शीलामा पसिना आएको स्थानीय जेष्ठ नागरीकहरूकाे भनाइ छ ।

 

गाउँ सहर डेस्क

तपाईँको मत