दिगोविकास

घट्दैछन् सिमसार क्षेत्र, बेवास्ताले सुक्खा क्षेत्रमा परिणत हुँदै

काठमाडौं ।  सिमसार र जैविक विविधता नाराका साथ यस वर्षको सिमसार दिवस आज विभिन्न कार्यक्रम गरि मनाइदै छ ।

सिमसार क्षेत्रको सही ब्यवस्थापन गर्दै जैविक विविधता र वन्यजन्तु्को संरक्षणमा जोड दिन नेपालमा यो नारा तय गरिएको वन्यजन्तु संरक्षण तथा राष्ट्रिय निकुञ्ज विभागले जनाएको छ ।

सन् १९९७ देखि रामसार महासन्धिमा हस्ताक्षर भएको दिन फेब्रुअरी २ तारिखलाई स्मरण गर्दै सिमसारको महत्व बारे जनचेतना अभिबृद्धि गर्ने लक्ष्य सहित विश्व सिमसार दिवस मनाउन थालिएको हो ।

विश्वभर नै यो दिवसका अवसरमा विगतमा भए गरेका कार्यको समीक्षा गर्ने र भविष्यमा गरिने कार्यको खाका प्रस्तुत गरी सिमसारको महत्व, आवश्यकता र उपयोगिताबारे जनचेतना अभिवृद्धि गरिने गरि मनाइन्छ ।

के हो सिमसार ?
सिमसार भन्नाले पानीले भिजेको वा पानी भएको जमिनको भाग हो । यसअन्तर्गत पानीको मुहान, दलदल, धानबाली हुने पानी जमेको क्षेत्र सिमसार क्षेत्रमा पर्छ । त्यस्तै भूमिगत जलस्रोत वा वर्षाका कारण पानीको परिमाण रहने वा प्राकृतिक वा मानवनिर्मित स्थायी वा अस्थायी, जमेको वा बगेको, स्वच्छ अथवा नुनिलो पानी भएको धापिलो वा दलदले जमिन, नदीबाट प्रभावित भूमि, ताल, पोखरी, जलाशय र कृषिभूमि समेतलाई सिमसार भनिन्छ ।

रामसार महासन्धिको परिभाषाअनुसार सिमसार भन्नाले त्यस्तो घोल, दलदल वा पानीको क्षेत्र हो, जहाँ प्राकृतिक रूपले वा कृत्रिम तरिकाले स्थायी वा अस्थायी रूपमा, जमेको वा बगेको, स्वच्छ वा नुनिलो पानीले ढाकिएको जमिन भन्ने बुझिन्छ । साथै लघु ज्वारभाटाले ढाक्ने समुद्रको छ मिटरसम्मको गहिरो भागसम्मलाई पनि जनाउँछ । 

तर नेपालमा सिमसार क्षेत्रका रूपमा रहेका ताल, तलैया, घोल, नदी, चिस्यानका क्षेत्रमा ह्रास आएको संरक्षणकर्मी बताउँछन् । पर्सा राष्ट्रिय निकुञ्ज देशका विभिन्न संरक्षण क्षेत्रमध्ये अत्यधिक सुक्खा क्षेत्रमा परिणत हुँदैछ । चुरे भावर क्षेत्रमा रहेको यो निकुञ्जको सिमसार क्षेत्र र पानीको स्रोत भनेको चुरे क्षेत्र नै हो तर यस क्षेत्रमा वन विनाशसँगै प्राकृतिक स्रोतको अत्यधिक दोहन हुँदा निकुञ्जमा हरेक वर्ष पानीको अभाव हुने गरेको छ ।

सिमसार क्षेत्र प्राकृतिक अवस्थामा रिचार्ज नहुँदा कृत्रिम पोखरीमा अन्यत्रबाट पानी बोकेर जम्मा गर्नुपर्ने अवस्था छ ।

सुक्खा मौसममा पर्सा मात्र हैन, बाँके, शुक्लाफाँटालगायत सिमसार क्षेत्रमा पनि पानीको तह घट्दा कृत्रिम पोखरी बनाउनुपर्ने बाध्यता बढेको छ । सबैभन्दा राम्रो मानिने चितवन राष्ट्रिय निकुञ्जमा समेत पछिल्लो समय धेरै कृत्रिम ताल बनिसके । सिमसार क्षेत्रमा आएको ह्रासकै कारण एकसिङे गैँडाका लागि घोलको अभाव हुने गरेको छ । यसपाला पानी परिरहेकाले अहिलेसम्म समस्या देखिएको छैन ।

सिमसार क्षेत्रमा बढ्दो ह्रासकै कारण चराको बासस्थानमा गहिरो असर पर्दै गएको चराविद् डा. हेमसागर बराल बताउँछन् । “नेपालका स्थायी र बाहिरबाट बसाइ सरी आउने जलपक्षीको सङ्ख्या सिमसार विनाशकै कारण घट्दैछ, विकास र विनाशबीचको असन्तुलनले सिमसार नष्ट हुँदा प्रकृतिमा समेत असन्तुलन पैदा हुनसक्छ,” बरालले भने । उनका अनुसार काठमाडौँकै टौदह क्षेत्रमा सुक्खा बन्दरगाह निर्माण हुँदा सिमसार क्षेत्रमा पानीको अभावसँगै प्रदूषण बढ्दैछ ।

निकुञ्ज विभागका अनुसार नेपालको करिब पाँच प्रतिशत भू–भाग सिमसार क्षेत्रले ओगटेको छ । नेपालका तराई, पहाड र हिमाली क्षेत्रमा अन्तर्राष्ट्रिय महìव बोकेका सिमसार क्षेत्र छन् । नेपाल रामसार महासन्धिको पक्षराष्ट्र भएपश्चात् हालसम्म कोसी टप्पु वन्यजन्तु आरक्ष, जगदीशपुर जलाशय, बीसहजारी ताल, घोडाघोडी ताल, रारा ताल, गोसाइँकुण्ड ताल, फोक्सुन्डो ताल, गोकियो ताल, माईपोखरी र पोखराका नौवटा तालको समूह गरी नेपालमा रामसारमा सूचीकृत सिमसार क्षेत्रको सङ्ख्या १० पुगेका छ ।

पोखराका तालहरु वर्षदिन पिच्छे ताल खुम्चिदै अनि वस्ती बढ्दै गईरहेको छ, मान्छेले सहज आवासको खोजी गरेकाले पनि नेपालमा भु अतिक्रमण बढ्दै गईरहेको छ र सिमसार क्षेत्र जोखिममै छ । समुदायका अगुवा अनि सरकार स्वंले पनि आफू अनुकुल अनि ब्यवसाहिक नितीहरु ल्याएर क्षणिक पैसा कमाउनकालागि दीर्घकालिन घाटा हुने कार्य गरिरहेको पाईन्छ । कानुनको दायरा फराकिलो पार्दै अपराधीहरुलाई कानुनको कठघेरामा ल्याउन जरुरी छ । पृथ्वीको संरक्षण जरुरी छ नत्र मानव समुदायको अस्तित्व संकटमा छ । 

यी सिमसार क्षेत्रले ओगटेको कुल क्षेत्रफल ६० हजार ५६१ हेक्टर छ । सिमसार क्षेत्र संरक्षणको महìव जैविक एवं पर्यावरणीय संरक्षणको दृष्टिकोणले मात्र नभई स्थानीय बासिन्दाको आर्थिक, सामाजिक तथा सांस्कृतिक दृष्टिकोणले पनि महत्वपूर्ण क्षेत्रका रूपमा रहेको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत