विश्व

चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या अहिलेसम्म ८० पुग्यो

  • एजेन्सी
  • १३ माघ सोमबार, २०७६ | १३:२९:०० मा प्रकाशित

बेइजिङ । चीनमा फैलिएको प्राणघातक कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या अहिलेसम्म ८० पुगेको छ । मुख्य सहरहरुमा गरिएको परीक्षणबाट दुई हजार ७४४ जनामा कोरोना भाइरसको नयाँ संक्रमणको आशंका गरिएको अधिकारीहरुले जनाएका छन् । 

स्वास्थ्य अधिकारीले सोमबार बिहान सार्वजनिक गरेको तथ्यांकअनुसार संक्रमितमध्ये ४६१ जनाको अवस्था चिन्ताजनक छ । पाँच हजार ७९४ जनालाई स्वास्थ्यकर्मीको निगरानीमा राखिएको छ । कोरोना भाइरसका कारण मृत्यु हुने अधिकांश उहान र हुबेई प्रान्तका छन् । 

यसैबीच अन्य देशहरुमा पनि कोरोनाका संक्रमितहरु लगातार बढ्दै गएका छन् । थाइल्याण्डमा आठजना कोरोना भाइरस संक्रमित भेटिएको त्यहाँका उपप्रधान एवं जनस्वास्थ्यमन्त्री अनुतिन चार्नविराकुलले पुष्टि गरेका छन् । तीमध्ये पाँचजना उपचारपछि घर फर्किएका छन् भने तीनजनाको उपचार भइरहेको छ । 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार चीनबाहेक एक दर्जनबढी देशमा कोरोना भाइरसको संक्रमण देखिएको छ । अस्ट्रेलियामा तीनजना, हङकङमा आठजना, जापानमा चारजना, मकाउमा पाँचजना, मलेसियामा चारजना, सिंगापुरमा चारजना, दक्षिण कोरियामा तीनजना, ताइवानमा चारजना, अमेरिकामा पाँचजना र भियतनाममा दुईजनामा कोरोना भाइरस पुष्टि भएको छ ।

नेपालमा पनि एकजनामा कोरोना भाइरस पुष्टि भएको अधिकारीहरुले जनाएको छ ।

एजेन्सी

तपाईँको मत