गाउँ सहर

गृहमन्त्री थापा चीन उड्नु र एक हजार रुपैयाँ धरौटीमा १२२ चिनियाँहरु छुट्नु संयाेग मात्र हाे ?

काठमाडाैं । गृहमन्त्री रामबहादुर थापा 'बादल' ६ दिने चीन भ्रमणकाे क्रममा आज बेईजिङ प्रस्थान गरे लगत्तै दुई साताअघि काठमाडाैं विभिन्न स्थानबाट पक्राउ गरिएका १२२ चिनियाँ नागरिकहरुलाई जिल्ला प्रशासन कार्यालयले प्रतिव्यक्ति एक हजार रुपैयाँ धरौटीमा रिहा गरिदिएको छ ।

पक्राउ परेकामध्ये ३० जनाको राहधानी रहेको र बाँकीको नरहेको हुँदा उनीहरुलाई सोमबार अध्यागमनको जिम्मा लगाइने तयारी गरिएको छ । रिहा भएका उनीहरुलाई आइतबार प्रहरी कार्यालयमै राखिनेछ भने सोमबार अध्यागमनको जिम्मा लगाइनेछ बताइएकाे छ ।

चीनकै सुरक्षा एजेन्सीको सहयोगमा पक्राउ परेका उनीहरुलाई वैधानिक प्रक्रियाबाट स्वदेश लैजान समस्या आउने भएपछि देश निकाला गर्ने तयारी यसअघि थियो ।

प्रहरीले चीनमा गम्भीर अपराधमा संलग्न भएको आरोपमा उनीहरुलाई पक्राउ गरेको बताएको थियो । 

पहिला साइबर अपराधमा संलग्न भएको भनिए पनि पछि उनीहरूलाई अभद्र व्यवहार गरेको अभियोगमा मुद्दा दर्ता गरिएको थियो। पक्राउ परेका सबैलाई अभद्र व्यवहारमा सामान्य मुद्दा चलाइएको थियो । 

अब भने प्रहरीले उनीहरूले नेपालको अध्यागमन कानुन कानुन उल्लङ्घन गरेको आरोपसम्बन्धी पत्र आइतवार नै अध्यागमन विभागलाई बुझाउने तयारी गरेको छ।

दिनभरि उनीहरूको बयान लिएपछि प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उनीहरूले अभद्र व्यवहार गरेको ठहर गर्दै जरिबानाको फैसला सुनाएका हुन्।

यसबाट ती चिनियाँ नागरिकहरूलाई चीन पठाउने बाटो सहज भएको देखिएको छ।

पक्राउ परेलगत्तै उनीहरूलाई चीन लैजान खोजिएको भए पनि नेपालमा छानबिनपछि मात्रै निर्णय लिने भन्दै मुद्दाको प्रक्रिया अगाडि बढाइएको थियो।

चीनले विभिन्न देशमा बसेर चीनमा अपराध गरेको भन्दै सन्दिग्ध व्यक्तिहरूको खोजी गर्न सक्रियता देखाएकाले नेपालमा पक्राउ परेका सबै जनालई चीन नै लैजान सक्ने अनुमान गरिएको छ।

उनीहरूको दोस्रो पटक म्याद थप गर्दा 'अभद्र व्यवहार' उल्लेख गरिनुले नेपालमै कारबाही गर्न नचाहेको देखिएको कतिपय जानकारहरूले बताएका छन्।

गत हप्ता गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईले प्रारम्भिक अनुसन्धान पूरा भएपछि 'कसुर हेरेर कैयौँलाई नेपालबाट निकाला (डिपोर्ट) गरिने' बताएका थिए।

गृहमन्त्री थापाकाे चीन भ्रमणअघि नै पक्राउ परेका चिनियाँहरूलाई डिपोर्ट गर्ने कुनै योजना नभएको बताएका थिए।

यसअघि चीनको विदेश मन्त्रालयका एक प्रवक्ताले नियमित पत्रकार सम्मेलनमा सोधिएको प्रश्नमा नेपालमा पक्राउ परेका चिनियाँहरू सीमापार साइबर अपराधमा संलग्न रहेकोले दुई देशको संयुक्त प्रयासमा पक्राउ परेको बताएका थिए। 

 

गाउँ सहर डेस्क

तपाईँको मत