प्रेरणा

महाभारत युद्धको ३६ वर्षपछि यसरी भएको थियो विनाश

भगवान श्रीकृष्णको जीवनलाई हेर्नुहोस, अनिमात्र थाहा हुन्छ, उनी केवल भगवान मात्र नभएर एक युग पुरुषपनि थिए । जसले धेरै यस्ता कामहरु गरे, जसलाई आजपनि हामी जोड्न सक्छौँ ।

दुविधामा रहेका अर्जुनलाई श्रीकृष्णले गीता ज्ञान दिएर सही र गलतमा अन्तर छुट्याएर न्याय युद्ध लड्नको लागि प्रेरित गरे तर आफ्नो पुत्र मोहमा गांधारीले यो न्याय युद्धलाई आफ्नो पुत्रको मृत्युको एक षडयन्त्र घोषणा गर्दै श्रीकृष्ण र उनको वंश नाश हुने श्राप दिइन् ।

गांधारीको श्राप

युद्धपछि महर्षि व्यासका शिष्य संजयले जब गांधारीलाई यो कुराको जानकारी दिए कि आफ्ना साथी र द्रौपदीसहित पाण्डव हस्तिनापुरमा आइपुगे, तब उनको दुखी मनमा झनै रिस भरियो, सारा पीडा बाहिर आयो । उनको मन प्रतिशोध लिनको लागि व्याकुल भइरहेको थियो तरपनि उनी शान्त थिइन् । तर जब उनले पाण्डवसँग भगवान श्रीकृष्ण पनि छन भनेपछि झनै क्रोधित भइन् । उनले श्रीकृष्णलाई श्राप दिइन् । गांधारीले भनिन, ‘यदि मैले भगवान विष्णुलाई साँचो मनबाट पूजा गरेको छु तथा निश्वार्थ भावले आफ्नो पतिको सेवा गरेको छु, जसरी मेरो कुल समाप्त भयो, त्यसरी नै तिम्रो वंश तिम्रै सामुन्ने समाप्त हुनेछ र तिमी हेरिरहने छौ । द्वारका नगरी तिम्रो सामुन्ने समुन्द्रमा डूब्ने छ र यादव वंशको पूर्ण नाश हुनेछ ।’

श्रीकृष्णले मुस्कुराउँदै गांधारीलाई उठाए र भने, ‘माता मलाई तपाईंसँग यही आशीर्वादको प्रतीक्षा थियो, म तपाईंको श्रापलाई ग्रहण गर्छु ।’

हस्तिनापुरमा युधिष्टिरको राज्यभिषेक भएपछि भगवान श्रीकृष्ण द्वारका गए ।

गांधारीले दिएको श्रापको प्रभाव

श्राप दिँदा गांधारीले जे भनेकी थिएन, त्यो साँचो भयो । द्वारकामा मदिराको सेवन गर्न प्रतिवन्धित थियो तर महाभारत युद्ध भएको ३६ वर्ष पछि त्यहाँ मदिराको सेवन गर्न थालियो । मानिसहरु संघर्षपूर्ण जीवन जिउनको साटो विस्तारै विस्तारै विलासितापूर्ण जीवनको आनन्दमा डूब्न थाले । गांधारी र ऋषिको श्रापको प्रभाव यादवतर्फ यतिविघ्न पर्यो कि उनीहरुले भोग-विलासको अगाडि आफ्ना आचरण, नैतिकता, अनुशासन तथा विनम्रतालाई त्यागिदिए ।

एकपटक यादव उत्सवको लागि समुन्द्र किनारमा जम्मा भएका थिए । उनीहरु मदिरा खाएर झुमिरहेका थिए । कुनै कुराले एक आपसमा झगडा गर्न थाले । झगडा यति तन्कियो कि त्यहाँ भएका विरुवा-घाँस उखेलेर एक अर्कालाई हान्न थाले । त्यहिँ घाँसबाट यदुवंशिहरुको नाश भएको थियो, द्वारका नगरी पनि समुन्द्रमा डूब्यो ।

भनिन्छ साम्बलाई दिएको श्रापको कारण ति घाँसमा विशालू तत्व थियो ।
 

गाउँ सहर डेस्क

तपाईँको मत