गाउँ सहर

वैदेशिक रोजगारीमा प्रलोभन, मानव तस्कर र बेचबिखनको अवस्था डरलाग्दाे

रोजगारी र जीविकोपार्जनका लागि अन्य देश जाने र बस्ने प्रकृयालाई सामान्य रुपमा आप्रवासन भनिन्छ । आप्रवासीहरु जुन देशमा पुगेको हो त्यहि देशको कानुन अनुसारको सेवा सुविधाको मान्यता पाउनु पर्छ भन्ने सन्देश फैलाउन सन् २००० देखि हरेक वर्ष डिसेम्बर १८ मा यो दिवस मनाइदै आएको छ ।

सन् १९९० मा संयुक्त राष्ट्रसङ्घले आप्रवासी कामदार र तिनका परिवारको सदस्यको अधिकार संरक्षणसम्बन्धी महासन्धि पारित गरेको दिनको स्मरण गर्दै राष्ट्रसङ्घले सन् २००० देखि डिसेम्बर १८ लाई विश्वभर अन्तर्राष्ट्रिय आप्रवासन दिवसका रूपमा मनाउने निर्णय गरेको थियो ।

आप्रवासी दिवस नेपाल लगायत विश्वभरी विभिन्न कार्यक्रम गरी मनाइदैछ । ‘सीप र रोजगारः आर्थिक समृद्धिको आधार’ भन्ने राष्ट्र नाराका साथ अन्तर्राष्ट्रिय आप्रवासन दिवस सप्ताहव्यापी रूपमा कार्यक्रम भइरहेका छन् । आप्रवासी श्रमिकको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धि र आप्रवासी श्रमिकको सेवा सुविधाका बारेमा अन्तर्राष्ट्रिय मापदण्ड बनाइएको भए पनि प्रभावकारी कार्यान्वयन हुनसकेको छैन ।

विश्व समुदायले आप्रवासी श्रमिकको सेवा सुविधासम्बन्धी मापदण्डलाई आधार मानेर प्रवासी श्रमिकमाथि व्यवहार गर्ने गरेको छ ।

विदेशमा काम गर्न जाँदा आप्रवासी कामदारमाथि पारिश्रमिक अन्य सेवा सुविधा, न्यूनतम मानव अधिकार विदेशी नागरिक भएका कारण विभेद नहोस् भन्ने उद्देश्यसहित यो दिवस मनाउने गरिएको छ ।

अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ)का अनुसार विश्वभर २३ करोडभन्दा बढी मानिस आप्रवासीका रूपमा रहेकोमा १५ करोडभन्दा बढी आप्रवासी कामदारको रूपमा रहेका छन् ।विश्वभर २ अर्ब ४४ करोड आप्रवासीमध्ये १ अर्ब ५० लाखभन्दा धेरै श्रमका लागि एक देशदेखि अर्को देश जाने गरेको अन्तर्राष्ट्रिय श्रमिक संगठन आइएलओको तंथ्याकमा उल्लेख छ । विश्वमा आप्रवासी श्रमिक ५२ प्रतिशत पुरुष र ४८ प्रतिशत महिला छन् । ७४ प्रतिशत आप्रवासी श्रमिक २० देखि ६४ वर्ष उमेर समूहका रहेको आइओएमको प्रतिवेदनमा छ । तीमध्ये एक चौथाइ मानिस एसिया तथा प्रशान्त क्षेत्रमा मात्र छन् ।

यस दिवसका अवसरमा नेपालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाहरुले आप्रवासी श्रमिकहरुको अधिकार सुनिश्चतता सम्बन्धि कानुनको चर्चा र सरकार तथा राजनीति दलहरुलाई यी बिषयमा ध्यानाकर्षण गराउँदै आएका छन् । 

नेपालमा वर्षेनी आप्रवासी दिवस मनाइए पनि कामदारका समस्या भने उल्लेख्य रुपमा घट्न सकेको छैन । आप्रवासीको हकहितका लागि विश्वभरी आप्रवासी दिवस मनाइए पनि कामदारहरुले रोजगारदाताबाट पारिश्रमिक नपाउने, पाए पनि समयमा नपाउने, सामान्य स्वास्थ्य उपचार सेवा पनि नपाउने, तोकिएको काम र कार्यक्षेत्रभन्दा अन्य अन्यत्रै काम गर्नुपर्ने, पारिवारिक सम्पर्कमा कठिनाई बनाईदिने र बेचबिखनमा पर्ने जस्ता ठुला मानवीय समस्याहरुबाट गुज्रिंदै आएका छन् ।

वैदेशिक रोजगारको क्षेत्रमा काम गर्ने सरकारी र गैरसरकारी संस्थाले अन्तर्राष्ट्रिय आप्रवासन कामदार दिवसको अवसर पारेर देशभर सप्ताहव्यापी रूपमा कार्यक्रम गरिरहेका छन् तर वैदेशिक रोजगार विभागअन्तर्गतको ताहचलस्थित वैदेशिक रोजगार श्रम कार्यालयमा यति बेथिति छ कि एउटा व्यक्ति श्रम स्वीकृतिका लागि हप्ताैं धाउनुपर्ने बाध्यता छ ।

पछिल्लो एक दशकको अवधिमा वैदेशिक रोजगारीमा रहेकामध्ये झन्डै साढे सात हजारभन्दा बढी आप्रवासी नेपाली कामदारले ज्यान गुमाएका छन् । वैदेशिक रोजगार बोर्डले सार्वजनिक गरेको एक तथ्याङ्कअनुसार आर्थिक वर्ष २०६५-०६६ देखि २०७५-०७६ सम्म आइपुग्दा सात हजार ४५५ नेपाली कामदारले विभिन्न कारणबाट ज्यान गुमाएका छन् ।

विश्वमा सबैभन्दा बढी एक करोड ७५ लाख भारतीय नागरिक आप्रवासी श्रमिकका रूपमा विश्वका विभिन्न देशमा छन् । भारतपछि मेक्सिको र चीन छन् । नेपालबाट पनि वार्षिक रुपमा करिब १० लाख नेपाली विभिन्न देश रोजगारीका लागि जाने गरेको सरकारी तंथ्याकमा छ । सरकारी तथ्यांकअनुसार नेपालमा रोजगारीको अवसर नपाएर वार्षिक करिब ६ लाख युवा भारत बाहेकका देश विदेसिने गरेका छन् ।

वैदेशिक रोजगारीमा जाने क्रम बढेसँग रोजगारीको प्रलोभनमा पारी मानव तस्कर र श्रमिक बेचबिखनको क्रम पनि उतिकै बढ्दो अवस्थामा छ । विदेशमा जोखिमयुक्त कामका कारण औसत रूपमा दैनिक ३ जनाको शव नेपाल आउने गरेको वैदेशिक रोजगार विभागको तथ्यांकले उल्लेखमा उल्लेख छ । 

दैनिक करिब १ हजार २ सय जना कामको खोजीमा श्रम स्वीकृति लिएर विदेसिने गर्दछन् । देशका करिब ५६ प्रतिशत घरधुरीका व्यक्ति वैदेशिक रोजगारीमा छन् । नेपाली अर्थतन्त्रको कुल ग्रार्हथ्य उत्पादनमा विप्रेषणको योगदान २९ प्रतिशत पुर्‍याएको छ । आप्रवासनले देशको आर्थिक, सामाजिक र सांस्कृतिक संरचनामा परिवर्तन गर्ने समेत सहयोग गरेको छ ।

 

गाउँ सहर डेस्क

तपाईँको मत