गाउँ सहर

अपराधकर्ममा कांग्रेसकाे ढ्वाङ्गे राजनीति, सिटाैलासमूहमा आलम घटनाले चिसाेपन !

काठमाडाैं । रौतहटको राजपुर बम बिस्फोट प्रकरणका आयोजनाकार भएको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका सांसद मोहम्मद अफताब आलम प्रहरी हिरासतमा छन् । 

कर्तव्य ज्यान मुद्दामा अनुसन्धानका लागि सांसद आलम असोज २६ गते पक्राउ परेका थिए । रौतहट कांग्रेसले आलम पक्राउको विरोधमा जिल्ला सदरमुकाम चन्द्रनिगाहपुरमा जुलुस पनि निकाल्याे । चन्द्रपुर र बृन्दावनका मेयरको नेतृत्वमा कांग्रेस कार्यकर्ताले टायर बालेका विरोध प्रदर्शन गरे । 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस सांसद आलमलाई प्रहरी लगाएर पक्राउ गरी सरकारले कांग्रेसविरुद्ध षड्यन्त्र शुरु गरेको आरोप लगाउन भ्याए । केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा मध्यपुरथिमिको बोडेमा  शुक्रबार आयोजित दुईदिने प्रशिक्षणको उद्घाटनमा उनले १२ वर्ष अघिको मुद्दालाई ब्यूँझाएर सरकारले कांग्रेसलाई प्रहार गर्न थालेको बताए ।

नेता कृष्णप्रसाद सिटौलाले सञ्चारमाध्यमले समेत षडयन्त्रमूलक रुपमा कांग्रेसको विरुद्धमा आएको आरोप लगाए । उनले भने, “पत्रपत्रिकालगायत सबै सञ्चारमाध्यमले समेत ‘ग्रान्ड डिजाइन’ बनाएर कांग्रेसविरुद्ध लागेका छन् । कांग्रेस सांसद मोहम्मद अफताब आलमको विरुद्ध आएका समाचार यसको नमूना हो ।”

कांग्रेस दिनप्रतिदिन सङ्कटमा पर्दै आएको उनले बताए । नेता सिटौलाले पार्टी सभापतिदेखि कार्यकर्तासम्मले आफ्नो आचरणमा सुधार नगरे पार्टी संकटमा पर्ने पनि सुझाए ।

२०६४ सालमा आलमद्वारा बम विष्फोट काण्ड हुँदा सिटौला गृहमन्त्री थिए । यो घटनामा सिटौलाले पनि गम्भीरता नदेखाएको आरोप लागेको छ ।  

तत्कालै कांग्रेसका नेता–कार्यकर्ताहरुले सामाजिक सञ्जालमा आलमलाई पार्टीले निलम्बन गरेर प्रहरीको अनुसन्धान प्रक्रियालाई सघाउनुपर्ने आवाज उठाए । कांग्रेस काभ्रेका सभापति मधु आचार्यले पनि हत्या आरोप लागेका आलमलाई अनुसन्धान नटुंगिदासम्म पदबाट निलम्बन गरेर सत्यतथ्य छानबिनमा सघाउनुपर्ने बताएका छन् । उनले ट्विटरमार्फत् सांसद आलममाथि लागेको आरोपको पार्टीले पनि छानबिन गरेर यथार्थ कुरो बाहिर ल्याउनुपर्ने माग गरे ।

सभापति आचार्यले लेखे, “पार्टी स्वयंले पनि छानबिन गरी यथार्थ बाहिर ल्याउनुपर्छ । दूधको दूध, पानीको पानी हुनुपर्छ । राजनीतिको अपराधिकरण र अपराधीको राजनीतिकरण अन्त होस् ।”

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीटरबाट ‘निर्दोष कहिल्यै पनि दण्डित हुनुहुन्न दोषी कसैले पनि उन्मुक्ति पाउनुहुन्न । अफताब पक्राउ प्रकरणमा पनि सत्य यही हो । कांग्रेस हुन् या कम्युनिस्ट कानुनको नजरमा सबै बराबर हुनुपर्छ ' भने । 

गगन थापाले पनि ढीलै भएपनि- 'जोसुकै होस्,जहाँ भएको होस्,जहिले भएको होस्,जुनसुकै ओहोदामा पुगेकोले गरेको होस्, अपराध गर्नेले दण्ड पाउनुपर्छ । दोषीको छिनोफानो अनुसन्धान र न्यायालयले गर्छ।निष्पक्ष छानबिनका लागी सहयोग गर्नु हाम्रो कर्तव्य हो। यही हो कांग्रेसको धारणा । बाँकी सबै व्यक्तिगत धारणा हुन्।‬' भन्दै पार्टी सभापति लगायत कांग्रेसीजनकाे बचाउ गरेका छन् । 

२०६४ चैत २७ गते राति राजपुर नगरपालिकाको फरदवा गाउँमा पहिलो संविधानसभा निर्वाचनलाई लक्षित गरेर बम बनाउँदै गर्दा बम बिस्फोट हुँदा त्यहाँ केही मानिसको मृत्यु भएको थियो भने केही घाइते भएका थिए । प्रमाण नष्ट गर्नका लागि घाइते भएकालाई इँटाभट्टामा जिउँदै जलाएर मारेको अभियोगमा किटानी जाहेरी परेपछि आलमलाई १२ वर्षपछि पक्राउ गरेकाे हाे । 

कांग्रेसको पार्टी विधानमा पार्टीको प्रतिष्ठा र मर्यादामा आँच पुर्याउने काम गरेको, नैतिक पतन देखिने फौजदारी कसुर गरेको, भ्रष्ट तथा अनैतिक आचारण गरेको कसुरमा पार्टी सदस्यबाट निष्कासन गर्नेसम्मको कारबाही गर्न सकिने उल्लेख छ । तर त्यसाे भएकाे छैन । कांग्रेसले कानुनसम्मत हुने अनुसन्धानलाई सघाउनु राजनीतिक दलको कर्तव्य र दायित्व भएको भन्दै सरकारले गर्ने अनुसन्धानमा आफूहरुको सहयोग रहने मात्र बताएकाे छ ।

सामाजिक सञ्जालमा कांग्रेसप्रति सभापति देउवा र युवा नेताहरूकाे पनि कुटनीतिक भाषाकाे ढिलाे आएकाे धारणाले धेरैलाई आक्राेशित र आशंका जनाएका छन् । 

नेपाली नागरिक जो लोकतन्त्र र गणतन्त्र माथी विश्वास गर्छन् जो विधिकाे शासनमाथि भरोसा राख्दछ्न् र जनता हिंसा हत्यामा हैन शान्ति एकतामा विश्वास राख्दछ्न् तिनै जनताको भरोसा आस्था र विश्वासमाथी कुठाराघात गर्दै अपराधीलाई राजनितिको आवरण बचाउन खोजेकाे भन्दै याे घटनाका अभियुक्तलाई घुमाउराे तरिकाले बचाउन खाेज्नु स्वत लोकतन्त्र माथिको बेइमानी भएकाे आम नागरिककाे ठम्याइ र बुझाइ छ ।

विशेष गरि विश्वप्रकाश शर्मा, गगन कुमार थापा, प्रदीप पाैडेल जस्ता युवा नेताहरू यस्ता प्रकरणमा स्पष्ट नखुल्नु वा ढीलाे र कुटनीतिक ढंगले औपचारिकतामा सिमित हुनुले उनीहरू पनि कतै आपराधिक राजनीतिक आवरणलाई संरक्षण गर्ने पक्षमा त छैनन् भन्ने आम नागरिक र कांग्रेसजनकाे चासाे देखिन्छ । 

कांग्रेसका केन्द्रीय सदस्य तथा एक युवा नेता भन्छन्- 'हाम्राे पार्टीभित्रकाे गुटउपगुटले पनि यसमा काम गरिरहेकाे छ । याे घटनाले कृष्ण सिटाैला समूहमा खैलाबैला नै ल्याएकाे छ । किन भने तात्कालीन गृहमन्त्री रहेका सिटाैला पनि यस घटनामा आलमलाई बचाउन भूमिका खेलेकाे समाचार सार्वजनिक भएपछि र गगन र प्रदीप जस्ता सिटाैलाकाे खम्बा मानिने दुई नेताले घटनामा संलग्न दाेषी काेही पनि उम्कनुहुन्न भन्ने ढीलै भएपनि धारणा सार्वजनिक गरेपछि सिटाैला अफ्ठेराेमा परेका छन् ।' 

ती नेताकाे भनाइ अनुसार गगन र प्रदीप यस घटनापछि सिटाैलालाई काँध थापेर बसिरहने कि सिटाैला कित्ताबाट निस्कने भन्ने अन्याैलमा छन् । एकातिर ठूला नेताहरूबाट आपराधिक राजनीतिकाे बचाउकाे पक्षमा उभिनुपर्ने बाध्यता र अर्काेतिर लाेकतन्त्र र विधिकाे शासन भन्दै कराउँदै हिड्दा तिनै नेताहरूकाे भनाइ र गराइले अफ्ठेराेमा परिने डरले उनीहरू रणभुल्लमा छन् । उनीहरू मात्रै हाेइन कयाैं नेताहरू यस्तै दाेधारबाट बाहिर निस्कने प्रयासमा छन् तर आँट गर्न सकिरहेका छैनन् । 

ती नेताले भने- 'विधिकाे शासन पनि चाहिने नेता पनि छाेड्न नसक्नुका कारण आफ्नै राजनीतिक भविष्य कहिले सम्म दाउमा राख्ने भन्ने यक्ष प्रश्न उनीहरूमाथि आइलागेकाे देखिन्छ । यसै घटनाले उक्त समूहमा चिसाेपन देखिन थालेकाे छ ।' 

गाउँ सहर डेस्क

तपाईँको मत