गाउँ सहर

दशैँकाे आशिष, उच्चारण गर्दै लगाउनुहाेस टीका

काठमाडौँ । विजया दशमीको दिनमा सोह्र सामग्रीले पूजा गरी यथाशक्ति हवन गरी जमरालाई पूजा गरी अनि भगवती दुर्गा, अन्य देवदेवीहरूलाई चढाई आरती र पुष्पाञ्जलि गरिन्छ । देवीका मूर्तिहरू र नवपत्रिकालाई बाजा, गाजा या वैदिक मन्त्र पढी जलाशयमा लगी सेलाई त्यसपछि घडाका जलले अभिषेक गरी देवीलाई चढाएको रातो अनि सेतो वस्त्रको कपडालाई प्रसादको रूपमा घाँटीमा लगाइन्छ। अनि घरका मोलमान्छेले भगवतीको प्रसाद स्वरूप अविर र दहीमा मुछेको चामलका टीका निधारमा, जमरा टाउकोमा लगाई दक्षिणा दिई आशीर्वाद दिइन्छ ।

टीका लगाउँदा दिने आशिष

आयुद्रोणसुते श्रीयँ दशरथे शत्रुक्षयँ राघवे
ऐश्वर्यँ नहुषे गतिश्च पवने मानँ च दुर्योधने |
दानँ सूर्यसुते बलँ हलधरे सत्यँ च कुन्तीसुते
विज्ञानँ विदुरे भवन्तु भवताँ कीर्तिश्च नारायणे ||

अश्वत्थामाको समान लामो आयु, राजा दशरथका समान ख्याती, राम चन्द्रका समान शत्रुलाई परास्त गर्ने क्षमता, राजा नहुषका समान ऐश्वर्य, वायुको समान वेग, दुर्योधनका समान मान-सम्मान, सूर्य पुत्र कर्णका समान दानी, बलरामका समान बलशाली, कुन्ती पुत्र युधिष्ठिरका समान सत्य वादी, विदुरका समान नीतिज्ञ र  नारायणका समान कीर्तिशाली बन्न सकियोस् ।

भद्रमस्ति शिवँ चास्तु महालक्ष्मी प्रसीदतु |
रक्षतु त्वाँ सदा देवा आशिष: सन्तु सर्वदा ||

कल्याण होस्, महालक्ष्मी प्रसन्न हुनुहोस्, देवताहरुले सधै रक्षा गरिरहुन्, सधैँ महापुरुषहरुको आशीर्वाद लागिरहोस् ।

जयन्ति मङ्गला काली भद्रकाली कपालिनी |
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोsस्तुते ||

जयन्ति, मङ्गला, काली, भद्रकाली, कपालिनी, दुर्गा, क्षमा, शिवा, धात्री, स्वाहा, स्वधा, नामले प्रसिद्ध तिमीलाई नमस्कार छ ।

जय त्वॅँ देवी चामुन्डे जय भूतार्तिहारिणी |
जय सर्वगते देवी कालरात्री नमोस्तुते ||

देवी, चामुन्डे, तिम्रो जय होस्, सम्पूर्ण प्राणीको दु:ख हरण गर्ने जगदम्बे, तिम्रो जय होस्, सबमा व्यापक रहनेवाली देवी, तीम्रो जय होस्, हे कालरात्री, तिमीलाई नमस्कार छ ।

सर्वमङ्गलमाङ्गल्ये शिवे सर्वार्थसाधिके | शरण्येत्र्यम्बके गौरि नारायणी नमोस्तुते ||

सब मङ्गलमा माङ्गल्यरुप,कल्याण स्वरुपिणी सर्वार्थ सिद्ध गर्ने शरणागतलाई शरण लिने, तीन नेत्रवाली हे गौरी, नारायणी तिमीलाई नमस्कार छ ।

गाउँ सहर डेस्क

तपाईँको मत