दृष्‍टिकोण

दसैँ : अर्थ-समाज-साँस्कृतिकाे संयाेजन

दसैँ आयो । खाऊँला पिऊँला । कहाँ जाऊँला ? चोरी ल्याऊँला । धत्त पापी म त छुट्टै बसौँला ।

यो पुरानो उखानले नेपालको अर्थतन्त्रको वास्तविकता चित्रण गर्दछ । कमाइ नहुने/कमहुनेहरूको लागि हुने असन्तुलित अवस्थाले दसैँजस्तो चाड मनाउन परिरहेको समस्या वर्षौँदेखि उस्तै रहँदै आएको छ । दसैँ त आयो तर त्यसलाई सहज व्यवस्थापन गर्न नसक्दा ऋणग्रस्त स्थितिमा वृद्धि हुन गई जनजीवन क्षणभरमा असामान्य बनाइदिन्छ । हिजाेबाट यस चाडले घरदैलोमा निम्तो दिइसकेको छ । प्रगाढ सम्बन्ध विस्तार सँगै अर्थको चलखेल हुने यस पर्वमा बजार, वस्तु, यातायात तथा अन्य क्षेत्र क्रमशः चलायमान बन्ने क्रम सुरु भइसकेको छ ।  

दसैँसंगै आउने नयाँ-नयाँ सोच, सुविधा र महत्वकांक्षाहरू यस्तै समयमा मात्र उत्पन्न हुन्छन अनि क्रमशः सेलाउँदै जान्छन् । पुग्नेले पुरा गर्छन् त नपुग्नेको त्यसै रहन्छ । खाने, किन्ने र प्रयोग गर्ने यस्ता चाडबाडहरू वर्षेनी आउँछन, कुनै-कुनै अविश्मरणीय घटना जन्माउँदै विदा हुन्छन् । अनि लगत्तै अर्को उखान बजारमा निस्कन्छ.... आयो दसैँ ढोल बजाइ, गयो दसैँ ऋण बोकाइ । जत्ति नै धार्मिक र सामाजिक कुरा गरिएपनि वित्तीय स्रोतको अभावमा यी कुराहरू सम्भव देखिँदैनन् । यसकारण पनि चाडबाडको धड्कन नै आर्थिक पक्ष हो भन्न सकिन्छ । किनकी दह्रो स्रोत नभइकन चाडका विभिन्न पक्षहरूसँग चिनजान हुन कठिन हुने गर्दछ । सामाजिक प्रक्रियालाइ साथ दिन ऋण काढेरै भएपनि चाडपर्वलाई टार्नैपर्ने वाध्यता हामी माझ छ ।

महान पर्व नजिकँदै गर्दा देशको आर्थिक पक्षमा नसोचेको चलायमान प्रत्येक वर्ष आइरहन्छ । ठूलो हिस्सा यस पर्वमा लिन हुने गर्दछन् । तथ्यांक अनुसार देशको कुल जनसंख्याको लगभग् ८० प्रतिशत भन्दा बढीले यो चाड मान्ने गर्दछन् । सकेर या नसकेरै टाढा टाढाका मित्रगण, आफन्तहरू एक आपसमा खुसी साट्न भेला हुने गर्दछन् । भेटघाटले आन्तरिक पर्यटनमा धेरै ठुलो मद्दत गरेको कुरामा पनि दुइमत हुन सकिन्न । अर्थतन्त्रमा सुधारका संकेतहरू यसबेला देखिने गर्दछन् भने व्यापार पनि राम्ररी फस्टाउने गर्दछ । पुगेर वा नपुगेर जे÷जसरी भएपनि मनाउनुपर्ने कारणले गर्दापनि जमघटमा कुनै कमि रहँदैन, खर्चमा साँध-सीमाना नै हुँदैन । जता फ¥क्यो उतै खर्च । केवल गोजीमात्र गह्रौँ राख्नुपर्ने हुन्छ ।

यस्ता चाडहरूले टाढा-टाढा रहे÷भएका इष्टमित्रहरूलाई एकैजालोमा केन्द्रीत गर्ने, रिस राग भए मेटाउने प्रयास गर्ने हुनाले पनि यसको छुट्टै सामाजिक-धार्मिक महत्व रहेको छ । अन्य वर्षहरूको भन्दा यस वर्ष मानिसहरूको आगमन्संगै बिप्रेषणको आदान-प्रदान वढी देखिएको छ । जसको कारण स्थानीय क्षेत्रमा विशेष वस्तु तथा अवश्यकता अनुसार प्रयोगमा उल्लेख्य वृद्धि देखिन थालेको छ । पर्वको आगमन सँगै सुनसान् गाउँहरू देशी-विदेशी मानिसहरूले झकिझकाऊ हुँदै गएका छन् । लिङ्गे र रोटे पिङहरू क्रमशः ठडिन थालेका छन् । परम्परागत शैलीका पिङमा काठका रोटे पिङ त हराएरै गयो तर लिङ्गे पिङ चाहिँ अझैपनि लगाउने गरिन्छ । 

आधुनिकता सँगै सबै पक्षहरूमा आधुनिकीकरणले जरा गाड्दै जाँदा यस्ता परम्परागत प्रविधि र मौलिक उत्पादनहरूको भने माग बढेको बढ्यै छ । आवश्यकता वृद्धिलाई चाडबाडको लागि मात्र नभएर प्रविधिको संरक्षणमा भएको अग्रसरता भनेर बुझ्न पनि सकिन्छ । तर प्रयोगमा कमी आउनुले संरक्षण प्रयासमा कमी भएको कुरालाई नकार्न सकिँदैन । दसैँमा भूइँ छाड्नुपर्छ भन्ने परम्पराले गर्दा पनि हुनसक्छ पिङको सँख्यामा कटौति भएपनि लगाउन भने छाडिएको छैन । जति टाढा नै भएपनि त्यसको मज्जा लिनकै लागि मानिसहरू एकै ठाउँमा भेला हुने गरेकाछन् । भएका दुखः सुख साटासाट गर्दै मनोरञ्जनमा परिणत गर्दछन् र एकक्षणलाई भएपनि आनन्द प्राप्त गर्दछन् । यसले भातृत्व र भाइचाराको सम्बन्धमा महत्वपूर्ण थप योगदान दिने गरेको छ । अर्थात जसरी बुझेपनि दसैँले हरेक पक्षबाट छरिएका सबैलाई एकिकृत गर्दै लैजान मद्दत गरेको छ भन्दा फरक नपर्ला । 

दसैँसंगै बढेको अस्तव्यस्त यातायातले यसपटकपनि सेवामा सुगम केही स्थानहरूबाहेक अन्य ठाउँहरूमा सेवामा नयाँ शैली र प्रवाहमा प्रगति गरेको देखिँदैन । टिकट बुकिङ, सेवामा लापरवाही, समयको ढिलासुस्ती, ठगी, अराजकता यसपटक केही कम देखिएको छ । यसपटक टिकट बुकिङ्ग पहिले नै बन्द गरिएका थिए भने रहेका सिटहरू पनि पछडिका मात्र । सिट माग्दा आफ्ना ग्राहकहरूले अग्रिम बुकिङ गरेर सकिएको अपर्याप्त सूचना दिन पछि परेका छैनन् । अर्कोतिर संधैजसो भरिभराऊ हुने आन्तरिक हवाइसेवा यसपटक केही स्थानहरूमा बाहेक अरु ठाउँमा टिकटको उपलब्धतामा कुनै कठिनाइ नरहेको विमान सेवा प्रदाय संस्थाहरूले भनेपनि टिकट नपाएर दुःख पाउनेको सँख्यामा पनि कमी छैन ।

चाडबाडमा अगाडिका वर्षहरूको अभ्यासहरूले के देखाउँछ भने प्रायः सम्पूर्ण क्षेत्रहरुमा क्रृत्रिम अभाव देखाई मुल्यमा मनपरितन्त्र लादेको विभिन्न तथ्यहरू हामीमाझ ताजै छन् । त्यस कुरालाई मध्येनजर गर्दै सरोकारवालाहरूले बजार निरिक्षण कार्यलाई नियन्त्रणभन्दा बहिर जान दिनु हुँदैन र केहीतन्त्रलाई समयमै निरुत्साहित गर्नुपर्दछ । धर्म र भेटघाटलाई निरन्तरता दिने सवालमा अनेक शुल्क वृद्धि गराई बजार अस्तव्यस्त पार्नु हुँदैन । महङ्गीलाई नियन्त्रणमा राख्नु पर्दछ । छोटो समयमा धेरै कमाउने ध्येयलाई प्रभावकारी निरीक्षणले हटाउँदै सद्भावका साथ दसैँलाई मनाउन पाउने वातावरण बनाउन सक्नुपर्दछ ।

आर्थिक गतिविधि बढ्दैगर्दा हुनसक्ने जोखिमताको ख्याल गर्दै ज्यानै बिगार्ने र आर्थिक रुपमा पनि भड्किलो गतिविधि अवलम्बन गर्ने गलत शैलीको निरन्तरतालाई रोक्नुपर्दछ । यसो गर्न सकियो भने मात्र चाड पनि मान्ने र ऋण पनि नलाग्ने र सद्भावको निरन्तरतामा कमी हुने छैन । हामीले खोजेको दसैँ पनि यस्तै हो ।

वडादसैँको शुभकामना ।
 

गाउँ सहर डेस्क

तपाईँको मत