अर्थतन्त्र

निरन्तर ओरालो सेयर बजारले लगानीकर्तामा थप निराशा चुलियाे

काठमाडाैँ । सेयर बजार अब त सुध्रिएला र साँवा त उठ्ला भन्ने साेचले निरन्तर धाेका पाइरहेकाे छ । निरन्तर ओरालो गतिमा सेयर बजार लागेपछि लगानीकर्ता थप निराश बन्न थालेका छन् । झनै विश्लेषकहरुले सेयर बजारको ओरालो गति तत्काल नरोकिने बताएपछि त लगानीकर्ताले खुइ...भन्न थालेका छन् । 

महँगो ब्याजको ऋण गरेरै भएपनि छोटो समयको अन्तरालमा अन्य क्षेत्रमा लगाएको पैसाको व्याजभन्दा राम्रो आम्दानी लिन सकेको उदाहरणलाई टेक्दै सेयरमा लगानी बढ्दै गएको थियाे । यस बजारको आकर्षणको मुख्य क्षेत्रहरूमा बैंकिङ्ग, लघुवित्त, जलविद्युत, होटल, बीमा, संस्थान आदि परेका थिए । बजार सानै भएपनि गाउँ लगायत सहरबासीको पछिल्ला यस सहभागिताले रोजगारी लगायत आर्थिक चहलपहलमा वृद्धि गराएको थियाे । अस्थिर मौसमबाहेक अन्य समयमा भने समग्रको रोजाइमा अब्बल बन्दै गएको सेयर बजार पछिल्लो समय नमज्जाले थेचारिएको छ । सेयर बजारमा लगभग १५ अर्बकाे लगानी छ । तर पछिल्लाे सरकारी नीति र व्यवहारले बजार माथि उस्कन सकेकाे छैन । यसले लगानीकर्तालाइ घरकाे न घाटकाे बनाइदिएकाे छ ।

राजनैतिक ज्ञानसँगै वित्तीय ज्ञान र सीपको चासो पछिल्लो समयमा बढ्दै गएको परिवेशमा पूँजी बजार प्रतिको संकिर्ण सोचका कारण बजार आज "खाए खा नखाए घिच" भन्ने अवस्था सिर्जना भएकाे छ । यो अवस्थाको जिम्मेवार व्यक्ति सरकार भएको छ । कुना कन्दाराका स्थान र व्यक्तिहरू सबैको पहुँचता देखिएको सेयर बजारमा सरकारकै आँखा लाग्यो, आज यो अवस्था भोग्नुपरेको छ । यदी यहि अवस्थामात्र निरन्तरता हुने हो भनेपनि यो बजार मुख्य पेशाभित्र पर्ने दिन अब लगभग सकिएको छ । 

हिजोसम्म आज कुन संस्थाको सेयर खुल्दैछ, कत्तिको जोखिम छ, बोनस र राइट सेयर कहिले बाँढ्दै छ ? जस्ता विविध पक्षहरूको छलफलहरूमा जताजतै चर्चा हुने देखिएपनि आज त्यो अवस्थामा ह्रासपन आएको छ । समुहिकता र अर्थोपाजनमा पुगेको सहयोगलाई चट्टै भूलेर ल्याइएको नीतिले सो क्षेत्रमा लगानी गर्नेको मन छियाछिया बनेको छ । सचेतनाको स्तरमा वृद्धि हुँदै गएको अवस्थामा आज पूँजी बजारको आकर्षणमा एकाएक बिकर्षण र निराशा छाएको छ । बिकृत नियन्त्रण गर्न भन्दै ल्याइएको नीतिले समग्रलाई असर पर्यो । यहि कारण अहिले जनतालाई थप ऋणको भारीमा महान चाड दशैँ, तिहार, छठ र नेपाल सम्बत मनाउन मनाउनुपर्ने वाध्यता छ । सम्झनुस त कस्तो हुन्छ !

सेयर बजारमा जोखिम र बजार मन्दीको सकस भनिसक्नु छैन । मूल्यमा भएको ह्रासले लगानीकर्ता आजित बनेका छन् । अहिले मानिसहरूको चहलपहलमा कमी भएका कारण थप लगानीका लागि लगानीकर्ताहरू आक्रमक देखिएका छैनन् । नेप्सेको पृष्ठभूमि त्यति माथि नपुगिरहेको यो अवस्थामा लगानीकर्ताहरूपनि पर्ख र हेरको अवस्थामा देखिएको स्पष्टै छ । तर त्याे दिन कहिले आउने हाे थाहा छैन । राजनैतिक अन्योलताको शिकारमा यो क्षेत्र प्रत्यक्ष पर्ने हुनाले पनि लाभ लिने र किन्दा फाइदाहुने वातावरण हुँदाहुँदैपनि लगानीकर्ताहरू त्यति सकारात्मक देखिएका भने छैनन् । पछिल्लो प्रतिवेदन थोरै सकारात्मक देखिएतापनि राजनैतिक ध्रुविकरणले बजारमा हावी जमाएको छ । यसका साथै केन्द्रीय बैँकले लघुवित्त बैँकको लाभांशमा कटैती र बैँकिङ्ग प्रणालीमा तरलता थोरै कम हुनुले यस क्षेत्रमा लगानी घटेको आंकलन गर्न सकिन्छ । पर्याप्त अनुगमन र मुल्यांकनको अभाव त देखिएकै हो, त्यसमा पनि जनमूखी वातावरण नबन्दा यस्ता संस्थाहरूबाट सरल सेवा भन्दापनि सुलभ सेवा प्राप्त हुन सकेको छैन । फलत्ः  केहि दिनबिचमा थप विकर्षणको यात्रातिर मोडिँदै गएको छ बजार । 

नेपालमा अधिकांले बैंक वा सहकारीबाट ऋण लिएर सेयरमा लगानी गरेका छन् । भाउ बढेपछि बेचौँला भनेर सोचेका लगानीकर्ता सेयर बजारको ओरालो गतिका कारण लगानी नै थेग्न नसक्ने अवस्थामा पुगेका छन् । विगत केही वर्षयता, सेयर लगानीकर्ताले थुप्रै सम्पत्ति गुमाएका छन्, कंगाल बनेका छन् । तीन वर्षयता मात्रै १५ लाख ६० हजार सेयर लगानीकर्ताको सम्पत्ति पाँच खर्ब ५० अर्ब रुपैयाँले घटेको छ । १२ साउन २०७३ मा नेपाली सेयर बजारको आकार २० खर्ब ७१ अर्ब रुपैयाँको थियो जुन मंगलबार बजार बन्द हुँदासम्म १५ खर्ब २१ अर्बमा झरेको छ । तथ्यांक नै काफी छ बजारकाे विष्लेशण गर्न

आखिरमा जस्तो भएपनि अनेकन समस्यासँग झेल्दै आएको नेपाली सेयर बजारको भविश्य सुनौलो छ भन्नु र फल पाउनु अब कथा जस्ताे भएकाे छ । सम्पत्ति खुम्चिँदै गएपछि बजारमा पैसा अभाव हुन थालेको छ । लगानीकर्ताहरुसँग लगानी गर्ने पैसा नभएको अवस्था छ । सेयरको मूल्य बढ्दा पुँजीगत लाभ लिएर जीवनस्तर उकासेका लगानीकर्ता पनि अहिले सेयको मूल्य ओरालो मात्रै लागिरहँदा संकटमा परेका छन् । ब्लु चिप भनिएका सेयरको मूल्य पनि निरन्तर घटिरहेको छ । सामान्यतया ६–८ वर्षको चक्रमा घटबढ हुने गरेको नेपाली सेयर बजारमा एक दशकयता दोस्रोपटक बियरिस देखिएको छ । न्युनतम विन्दुमा पुगेर पुनः फर्केको बजारले १२०० को विन्दु नाघेपछि लगानी थपिन थालेको थियो । तर, फेरि बजार ओर्लिन थालेपछि कतिपयले लगानी झिक्न थालेका छन् ।

बढ्दो व्यापार घाटा र शोधनान्तर घाटाका साथै पुँजीगत खर्च बढ्न नसक्दा बैंकिङ क्षेत्रमा पैसाको अभाव भइरहेको छ । जेठ मसान्तसम्म नेपालबाट ९० अर्ब ८३ करोड रुपैयाँ बाहिरिएको र रेमिट्यान्स, निर्यातबाट आएको कमाइ, पर्यटन क्षेत्रको आय, ऋण र अनुदानलगायत विभिन्न स्रोतमार्फत विदेशबाट नेपाल भित्रिएको पैसाले नपुगेपछि झन्डै ९१ अर्ब थप पैसा नेपालले विदेशमा तिर्नुुपरेको छ । स्वदेशी पुँजी पलायनका कारण बैंकमा लगानीयोग्य पुँजीको अभाव भई सेयर बजार प्रभावित भएको छ । पछिल्लो कानुनी सुधारका कारण पनि सेयर बजार प्रभावित बन्न पुगेको छ, जसको प्रत्यक्ष असर लगानीकर्ताको मनोबलमा परेको देखिन्छ ।

अवस्था यतिविघ्न हुँदापनि धितोपत्र बजारमा यस साता कूल १७२ कम्पनीको शेयर कारोबार भएकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार याे हप्ता कारोबार मापक नेप्से परिसूचक उतार चढावपूर्ण अवस्थामा रह्योे । यसै साता बजार ओरालो लागेर एघार सयको बिन्दुमा झरेको छ । बजारमा लगानीकर्ताको मनोविज्ञान नकारात्मकतातर्फ उन्मुख भएको भन्दै बजार ओरालो लागेको बताइँदै आएको छ । कारोबार रकम र नेप्सेको अवस्थाले पनि सोही कुरालाई इङ्गित गरेको छ । यस साता ६० लाख २४ हजार ९७५ कित्ता शेयर रु एक अर्ब ६१ करोड ४८ लाख ३८ हजार ३७७ मूल्यमा खरीद बिक्री भए । गत साताको अन्तिम दिन अर्थात् यही भदौ ५ गते बिहीबार नेप्से ०.९९ विन्दुले घटेर एक हजार २१३.०६ विन्दुमा झरेर बन्द भएको थियो ।

यस साताको पहिलो दिन आइतबार नेप्से ३.४५ विन्दुले घटेर एक हजार २०९.६२ विन्दुमा पग्यो । नेप्से ओरालो लाग्दा कारोबार रकमसमेत सस्तैमा समेटियो । कूल १७१ कम्पनीको १२ लाख ७५ हजार ६२३ कित्ता शेयर रु ३५ करोड दुई लाख ६९ हजार ५०९ मूल्यमा खरीद बिक्री भए । यस्तै सोमबार पनि नेप्से ६.४९ बिन्दुले घटेर एक हजार २०३.१३ बिन्दुमा पुग्यो । नेप्से घटेपनि कारोबार रकम भने औसतमा रह्यो । कूल १७२ कम्पनीको १६ लाख तीन हजार ३२६ कित्ता शेयर रु ३८ करोड पाँच लाख ९६ हजार ५७१ मा कारोबार भए । साताको तेस्रो दिन मङ्गलबार नेप्से परिसूचक उकालो लाग्यो । सो दिन नेप्से ४.८७ बिन्दुले बढेर एक हजार २०८ मा पुग्यो । कूल १६७ कम्पनीको आठ लाख ५० हजार ३८६ कित्ता शेयर रु २४ करोड ४६ लाख ६८ हजार २०९ मूल्यमा कारोबार भयो ।

यस्तै बुधबार नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो । नेप्से १०.२६ अङ्कले घटेर एक हजार १९७.७५ मा झ-यो । परिसूचक घटेपनि कारोबार भने औसत नै रह्यो । कूल १६८ कम्पनीका १३ लाख १९ हजार ८०६ कित्ता शेयर रु ३७ करोड १९ लाख ४४ हजार ४२९ मा खरीद बिक्री भए । साताको अन्तिम दिन बिहीबार कारोबार मापक नेप्से परिसूचक पुनः झिनो अङ्कले ओरालो लाग्यो । नेप्से १.३३ अङ्कले घटेर एक हजार १९६.४१ मा सीमित भयो । नेप्से घटेसँगै कारोबार रकमसमेत सस्तैमा समेटियो ।

कूल १७० कम्पनीको नौ लाख ७५ हजार ८३४ कित्ता शेयर रु २७ करोड ७३ लाख ५९ हजार ६५९ मा खरीदबिक्री भए । वाणिज्य बैंकको बोलवाला शेयर कारोवारका आधारमा यस साता वाणिज्य बैंकहरुकै बोलबाला रह्यो । आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट धमाधम लाभांश घोषणा हुन थालेपछि बजारमा वाणिज्य बैंक उपसमूहको नै बोलवाला रहेको हो ।

शेयर कारोबारका आधारमा कुमारी बैंक शीर्ष स्थानमा रहेको छ । यस्तै नेपाल बैंक लिमिटेड, एनआइसि एशिया बैंक, प्रभु बैंक, रसुवागढी जलविद्युत् कम्पनी, महालक्षमी विकास बैंक, मेगा बैंक, एनसिसि बैंक, माछापुच्छ्रे बैंक र माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी लिमिटेड क्रमशः शीर्ष स्थानमा रहे । छ कम्पनीका शेयर सूचीकृत स्टकमा यस साता विभिन्न छ कम्पनीका शेयर सूचीकृत भए । त्यसमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको एक करोड नौ लाख ९२ हजार ३२१ कित्ता शेयर लाभांश सूचीकृत भएको छ ।

यस्तै सेञ्चुरी बैंकको १६ लाख ५० हजार ९२ कित्ता शेयर लाभांश, उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाको दुई लाख २२ हजार ७५० कित्ता शेयर लाभांश, नागबेली लघुवित्त वित्तीय संस्थाको एक लाख ४३ हजार ८०० कित्ता शेयर लाभांश, गरिमा विकास लघुवित्त वित्तीय संस्थाको ३२ लाख ७५ हजार कित्ता हकप्रद शेयर र प्रिमियर इन्स्योरेन्स कम्पनीको ४९ लाख पाँच हजार ६०० कित्ता शेयर लाभांश सूचीकृत भएको छ ।

यसरी कहिले घट्दै अनि बढ्दै गरेकाे पुँजीबजारमा सम्भावना भएरपनि उचाे दिशामा जान सकेकाे छैन । लगानीकर्ताकाे निराशा युद्धस्तरमा बढेकाे छ । अब त भन्न थालेका छन्, बजार छाडेर अन्यत्र जाने । यसले बजारकाे भविश्य र लगानीकर्ताकाे मनाेविज्ञान अनि दिशा कता गइरहेकाे छ बुझ्न सकिन्छ । सम्बन्धित पक्ष निरंकुश जस्तै बनेकाे छ अथार्त कानमा तेल हालेर बसेकाे छ । गुहार गर्ने ठाउँ नै छैन जसले लगानीकर्ता ऋणकाे भारले थिचिएका छन् ।

 

गाउँ सहर डेस्क

तपाईँको मत