दृष्‍टिकोण

प्रधानमन्त्रीज्यु! अनुसन्धानलाई स्वतन्त्र रुपमा काम गर्न नदिने को थिए? कहाँ छन्? तिनीहरू विरुद्ध के कारबाही हुँदैछ?

कञ्चनपुर । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक वर्ष पुरा भएर तिनदिन पुगेकाे छ ।

गत वर्ष साउन १० गते साथीको घरमा गृहकार्य गर्न गएकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियाे भने साउन ११ गते घर नजिकैको उखुबारीमा उनको शव फेला परेको थियो । उक्त घटनाले देश बासिले नै दुखि बनाएकाे थियाे । त्यस बखत देशभर विभिन्न दबाबमूलक कार्यक्रम पनि भए । एक जनाकाे ज्यान नै गयाे, कयाैँ घाइते भए । 

लामो समय बितिसक्दासम्म अपराधी पहिचान गर्न सरकारले नसकेपछि निर्मलाको न्यायका लागि गरिएका दबाबमूलक कार्यक्रम पनि केही कम भएका छन् । निर्मलाकी आमा दुर्गादेवी बाँकी दुईटी छोरीको भविष्य हेर्दै राहत रकम बुझेर नगरपालिकामा करारकाे जागीर खान थालेकी छन् । उनी अहिले भीमदत्त नगरपालिकाको महिला शाखामा कार्यालय सहयोगीका रुपमा दैनिक चार सय रुपैयाँका दरले डोरहाजिरमा काम गरिरहेकी छन् । बाबुपनि आफ्नो दैनिक कामकाजमा फर्किएकी छन्, घरछेउ सानाे पसल गर्न थालेका छन् ।

यसबीचमा दर्जनभन्दा बढी टोलीबाट घटनाको अनुसन्धानका साथै ४ वटा प्रतिवेदन सार्वजनिक गरियो तर हत्यारा अझै रहस्यमा छ । यसबीचमा प्रधानमन्त्री, रक्षामन्त्री, गृहमन्त्री लगायत अनुुसन्धानका क्रममा दिएका अनेक बाेलीहरू सबै झुटा सावित भएका छन् । स्थानीय दीलिपसिंह विष्टलाई अभियुक्तका रुपमा पक्राउ गरियो तर पछि डीएनए परीक्षण नमिलेपछि उनलाइ पनि छाेडियाे । घटनाको एक वर्षसम्म सिआइबिका ४ टोलीसहित एक दर्जन टोलीको अनुसन्धान र ४ वटा प्रतिवेदनबाट पनि दोषी किटान हुन सकेको छैन । यता, कञ्चनपुरका प्रहरी उपरीक्षक दिनेश कुमार आचार्य निर्मलाको हत्यारा खोजी गर्ने कार्यलाई महत्वका साथ अगाडि बढाइएको दाबी गर्छन् । विगतका अनुसन्धानलाई पनि परीक्षण गर्दै थप अनुसन्धान गरिरहेको उनको भनाइ छ ।

निर्मला बलात्कार र हत्या काण्ड मा प्रधानमन्त्रीले प्रहरीबाट गल्ति भएको र अनुसन्धानले स्वतन्त्र रुपमा कम गर्न नपाएको भनि बोलेका थिए । रक्षामन्त्रीले हत्यारा पत्ता लागिसकेकाे बताएका थिए । गृहमन्त्रीले हत्यारा नजिकै रहेकाे बताएपनि अहिलेसम्म हत्याराकाे पहिचान हुन सकेकाे छैन । प्रधानमन्त्रीले यो अनुसन्धानलाई स्वतन्त्र रुपमा कम गर्ने नदिने को थिए र तिनीहरु अहिले कहाँ छन् र तिनीहरु विरुद्ध के कारबाही हुँदैछ? यो प्रश्नको उत्तर पनि दिनुपर्ने भनेर जनतादेखि नेतासम्मले दवाव दिन थालेका छन् ।

जीवनको उत्तरार्ध्वमा पनि न्याय मिलेका घटना देश तथा विदेशमा छन् । घटना भएकाे २० औँ वर्ष पछाडि न्याय पाएको प्रधानमन्त्री ओलीले पनि सार्वजनिक कार्यक्रमहरुमा भन्दै आएका पनि छन् । यस्तै अनेक अनुसन्धान र परिणाम निकालेपनि हत्यारासम्म पुग्न नसकेको घटना बनेको छ साउन १० गते हत्या भएकी निर्मला पन्त बलात्कार पछिको हत्याकाण्ड । सायद अब हत्यासँग आशंकित व्यक्तिहरुको अधिकतम् अनुसन्धान गर्न निकाय सफल भएको होला तर परिणाम शुन्य देखिएकाे छ । 

प्रहरीले अनुसन्धानका गरेको त्रुटिका कारण अहिलेसम्म निर्मलाका सरोकारवालाहरुले न्याय पाउन सकेका छैनन् । यहि अवस्था रहे न्यायको संभावना अब न्यून हुँदै गएको सर्वसाधारणले बताउन थालेका छन् । किनकी सरकारले गरिन, गरेको छैन भन्दैन । खोज्दैछु भन्छ तर छेउटुप्पो देखिएको छैन । यसबीचमा यातना पाउनेको संख्या लामै भइसकेको छ ।

अहिले आएर पुनः दिलिप सिंहकाे नाम फेरी जाेडिन पुगेकाे छ ।

न्याय माग्नेहरू मागिरहेका छन् । पहिले पहिले न्यायको लागि आवाज उठाउनेहरु गल्न थालेका छन, सरकारको काम कारवाहीले सबैलाई थकाएको छ । तर, न्याय माग्नेको आन्दोलन निरन्तर छ । यो परिवेशले निर्मला हत्याराको पहिचान हुन कति समयसम्म कुर्नुपर्ने हो आंकलन गर्न नसकिने जस्तै भएको छ । किनकी सरकार र प्रहरी भन्छ अधिकतम स्रोतका साथ खोजि भइरहेको छ तर भन्नैपर्छ परिणाम शुन्य ।

अनुसन्धानको क्रममा यातना पाएकाहरु अहिले सरकारसँग न्यायको भिख मागिरहेका छन् । मृत्युवरण गर्ने त गए-गए तर स्थलमा भएकाहरुलाई त न्याय दिन निकायले नसकिरहेको अवस्थामा निर्मलाले न्याय पाएको दिन कस्तो होला भनेर सर्वसाधारणहरु कानेखुसी गरिरहेका दृश्यहरु देखिन थालेका छन् ।

यसले सरकारप्रति झनै अविश्वास बढाइदिएकाे छ । पछिल्लाे समयमा सरकारका काम कारवाहीप्रति दिनकै विराेध र प्रदर्शनहरू हुँदै आएका छन् । 

निष्पक्ष अनुसन्धानबाट वास्तविक अपराधी पत्ता लगाई कानुनको कठघरामा उभ्याउन सकेमात्र निर्मलाको आत्माको शान्ति र परिवारको घाउमा मल्हम पट्टी लाग्नेछ ।

बाेलेर हाेइन, कामले देखाउनु पर्याे सरकार! कि सकिएन भन्न लाज भए कृपया सफेद झुट नबाेलेकै राम्राे । परिवार र सर्वसाधारण नागरिक गलाउने काम नगर । हेक्का राख- निर्मला हत्या भएकाे ३६५ जाेड २ दिन बितिसकेकाे छ ।

गाउँ सहर डेस्क

तपाईँको मत