शिक्षा

विद्यार्थी संघ-संगठन र स्ववियु खारेज!

काठमाडौँ । सामाजिक सञ्जालमा एउटा तस्विर पोस्ट भयो । केही समयको अन्तरालमै अधिक संख्यामा सेयर र प्रतिक्रियाहरुले भरियो वाल । सबैको नजरमा पुग्यो/पुगेन, तर सरोकारवालाहरुमा त्यो पोस्टले मुटु नै काम्याे ।

नकामोस पनि किन! जुन पोस्टले वर्तमान विद्यार्थी संगठन, तिनका क्रियाकलापलाई छुने पत्र सार्वजनिक भएको थियो ।

पत्र हो गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेज बैतडीको ।

मिति २०७६/०४/०३ गते जारी गरिएको उक्त पत्र कलेज प्रमुख परमानन्द जोशीको हस्ताक्षरसहित जारी गरिएको छ ।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त उक्त कलेजले जारी गरिएको सूचनामा विद्यार्थी संघ-संगठन र स्ववियु खारेजी बारेमा छ ।

सूचनामा उक्त कलेजमा दर्ता भएका राजनीतिक पार्टी आवद्ध विद्यार्थी संघ संगठनहरु एक आपसमा झै-झगडा, कुटपिट, कलेजको शैक्षिक वातावरण अशान्त बनाउने चरण-चरणमा आपसमा भिड्ने, स्वयम संघ, संगठनमा अवद्ध विद्यार्थीहरु असुरक्षित महशुष गरी खारेजीका लागि निवेदन दिएअुनसार कलेजबाट संघ संगठन खारेज गरिएको  भनिएको छ ।

माथिको पत्र र विद्यार्थी संगठनका पछिल्ला गतिविधि नियाल्न गोकुलेश्वर एउटा नमूना बनेको छ । जहाँ विद्यार्थी संघ- संगठनले नै खारेजीको प्रस्ताव लगेर सर्वसम्मत कलेज प्रमुखको रोहवरमा संगठनको अन्त्य गरेका छन् । उनीहरूले गुण्डागर्दी, अराजकता स्वीकार गरेकाे पत्रले दर्शाउँछ । यसले पछिल्लो समयमा विद्यार्थी हक हित भन्दापनि अन्य गतिविधिमा विद्यार्थी नेता तथा कार्यकर्ताको ध्यान गएर यो अवस्था आएको आंकलन गर्न र उदाहरण दिन जाे काेहीकाे लागि सहज पनि बनेकाे छ । 

विद्यार्थी, नव युगको प्रवर्तक अनि कर्णधार हौँ भन्ने कुरा विद्यार्थी नेतृत्वले नसोचिदिँदा, हक तथा अधिकार सुनिश्चित गर्ने बहानामा अनियमितता र अराजकता झाँगिदै गएको र अवस्थाले सीमा नाघेपछि यो अवस्था आएको स्थानीय एक विद्यार्थीले गाउँ सहर डट कमलाई बताए । उनले भने, ‘विद्यार्थी अधिकार त कता हो कता संगठनहरुको मोलमोलाई र वेथिति हुर्कनाले यो अवस्था आएको हो । यो प्रजातन्त्रमाथिको आफ्नै निरंकुशता हो । यसले विद्यार्थी राजनीतिको गतिलाई पनि स्पष्ट झल्काएको छ ।’

तर पछिल्लो समयमा न शिक्षण संस्था, न विद्यार्थी, न कर्मचारी सबैले अनुशासन भुल्दै जानाले माथिका क्रियालपाहरु उत्पन्न हुन गएका छन् ।

एकाएक त्रिविको सम्बन्धन प्राप्त कलेजमा यो घटना हुनु र स्वयं विद्यार्थी संघ-संगठनको निवेदन पर्नु अनि संघ, संस्था खारेजीसम्म हुनुले सम्पूर्ण त्रिविका ६० आंगिक क्याम्पसहरु र सयाैँ सम्बन्धनप्राप्त कलेजहरुमा कस्तो संदेश जाला? नेपाल विद्यार्थी संघका नेता डिल्लीराम सुवेदीले बताए । उनले भने, ‘होला विकृति, बढे होलान हामी स्वीकार्छौँ तर त्यसलाई सुधार गरेर जानुको साटो विद्यार्थीहरुनै आफैँ निवेदन लग्दै खारेजी गर भन्नु गलत छ । यो विद्यार्थीको हकहितमा हुनै सक्दैन । यो गतिविधिले उसै त सरकार निरंकुश बन्दै गएको परिवेश र स्ववियूको चुनाव नभएको यो समयमा  त्रिविलाई मलजल गर्ने यस्ता गतिविधिले चुनाव, संगठन ध्वस्त गर्ने बाटो देखायो, जुन गलत छ ।’

विद्यार्थी विद्या र अर्थी मिलि बनेको शब्द हो । जसको शाब्दिक अर्थ ज्ञान आर्जन गर्ने व्यक्ति भनि बुझ्नु पर्दछ । विद्यार्थी त्यो हो जो केहि सिकिरहेको हुन्छ । विद्यार्थीहरु बालबालिका वा किशोर किशोरी हुन सक्छन्, उनीहरु कलेजमा गएर सिकिरहेका छन् तिनीहरू पनि विद्यार्थी हुन सक्छन् । विद्यार्थीको लागि अर्को शब्द शिष्य हो । सामान्यतया, विद्यार्थीले शिक्षकहरुसँग सिक्ने गर्दछन् । विद्यार्थीमा अनुशासन, लगनशीलता, सहानुभूति, सष्टाचार, जिम्मेवारी हुनुपर्दछ । 

तर पछिल्लो समयमा न शिक्षण संस्था, न विद्यार्थी, न कर्मचारी सबैले अनुशासन भुल्दै जानाले माथिका क्रियालपाहरु उत्पन्न हुन गएका छन् ।

०४६ को सफल जनआन्दोलनले सुशिक्षा र विद्यार्थी हकहितमा संगठन केन्द्रित हुनुपर्ने सन्देश दिएसँगै विद्यार्थी नेतृत्व कुनै अमुक दलको प्रतिनिधि भएर स्कुल/कलेजमा संगठन गर्ने नभएर स्कुल कलेजका स्वार्थलाई राजनीतिक संगठनमा पुर्याउने संयन्त्रमा रूपान्तरित हुनुपर्ने अवस्था आयो । यहीँबाट विद्यार्थी राजनीति अलमलमा परेको थियो र अहिलेसम्म छ ।

राजनीतिक दलहरुले कलेज/स्कुलमा आफ्नो स्वार्थको एजेन्सी बनाएर विद्यार्थी संगठनलाई उपयोग गरिरहेकै कारण त्यसका बिछट्टाहरू सिर्जना हुन थालेका छन् । विद्यार्थीमात्र उपयोग भएका होइनन्, शिक्षक, प्राध्यापक, कर्मचारी, पत्रकार कानुन व्यवसायी, डाक्टर, इन्जिनियर सबै पेसा र वर्गका मानिस आफ्नो वर्गीय स्वार्थको प्रतिनिधि हुनुको साटो अमूक राजनीतिक दलको भरिया जस्तो बन्न रुचाइरहेका देखिन्छन् । आफू कार्यरत संस्थाका स्वार्थहरुको प्रतिनिधि भएर राजनीतिक दलमा पुग्नुभन्दा राजनीतिक दलको प्रतिनिधि भएर कार्यालयमा हाजिर गर्नु गौरव बोध गर्ने प्रचलन बढ्दो छ । यो प्रचलन लोकतन्त्रमा लागेको हो । लोकतन्त्रलाई विकृत तुल्याउन यो ऐँजेरु पर्याप्त छ । यसैको शिकारमा विद्यार्थी दमदारले बेप्रयोग भएका छन् ।

स्थापित संस्था जन्माउन गाह्रो छ तर मार्न सजिलो हुन्छ । आज वैतडीको गोकुलेश्वरमा यो संघ-संस्था, स्ववियु खारेज भयो होला, अरुमा त्यसको संदेश गलत नजाला तर यो एउटा श्रृंखला भने अवश्य हुनसक्छ । यसले दिने संदेश भनेको बन्द गर्नपनि सकिन्छ भन्ने पनि हो । समग्र विद्यार्थी सुध्रने उदाहरण बन्नुपर्छ गोकुलेश्वर, नत्र खारेजी गर्ने होडबाजी अन्य कलेजमा पनि नहोला भन्न सकिन्न ।
 

गाउँ सहर डेस्क

तपाईँको मत