दृष्‍टिकोण

गणतन्त्र दिवसः व्याख्या र व्यवहारमा फरक

नेपालमा गणतन्त्र दिवस भव्यताका साथ मनाइँदै छ । २३८ वर्ष लामो शाह वंश राजपरम्पराको अन्त्यको घोषणा भएको  दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रुपमा मनाउन थालिएको छ । जनआन्दोलन २०६२/६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको दिनलाई गणतन्त्र दिवसका रुपमा मनाइँदै आइएको छ ।

गणतन्त्रमा  राजा वा रानी नभईकन जनताद्वारा चुनिएका प्रतिनीधीहरुले शासन गर्ने गर्दछ । माओवादी जन युद्ध उत्कर्षमा पुग्दै गर्दा  नारायणहिटी दरबार हत्याकाण्डपछि राजसंस्थाप्रति  आस्था ढल्यो । राजा ज्ञानेन्द्रले ८ जेठ ०५९ को संसद् विघटन गरे सोही वर्ष १८ असोजको निर्वाचित प्रधानमन्त्री हटाउने कदम चाले । दुई वर्षपछि १९ माघ ०६१ को शाही कदमले तत्कालीन संविधानको धारा १२७ लाई आफूखुसी व्याख्या गरि शासन सत्ताको बागडोर आफ्नै हातमा लिए।

तत्कालीन बिद्रोही माओवादी र  ७ दलहरुका बिचमा १२ बुंदे सम्झौता भयो, चैत्र २४ मा दोश्रो जनआन्दोलन आह्वान भयो त्यो १९ दिन सम्म चलेपछि अन्ततः  राजा ज्ञानेन्द्रले शाही घोषणा मार्फत जनताको नासो जनतालाई सुम्पिए ।

त्यसपछि गिरिजा प्रसाद कोईरालाको नेतृत्वमा सरकार बन्यो विघटित संसद पुनर्स्थापना भयो त्यो संगै ०६३ जेठ ४ गते बसेको बैठकले राजदरबारको अधिकार कटौती गर्यो र प्रधानमन्त्रीको जिम्मेवारी गिरिजा प्रसाद कोईरालाले सम्हाले । त्यसपछि तत्कालीन माओवादी संग सरकारले २०६३ मंसिरमा शान्ति सम्झौता गर्दै माओवादी समेत संसद र सरकारमा सम्मीलित भई २०६४ चैत्र २८ मा संविधानसभाको निर्वाचन सम्पन्न भयो ।

संविधान सभाको पहिलो बैठक २०६५ साल ज्येष्ठ १५ मा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको तर्फबाट गृहमन्त्री कृष्णप्रसाद सिटौलाले प्रस्तुत गरेको गणतन्त्र कार्यान्वयन गर्ने प्रस्तावमाथि मतदान हुँदा पक्षमा ५६० र विपक्षमा ४ मत परेको थियो । तत्कालीन राजा ज्ञानेन्द्रले गणतन्त्रको स्थापनालाई सहज ढंगले स्वीकारे । सरकारले तोकेको १५ दिने म्याद भित्रै उनले  जेठ २९ गते साँझ नारायणहिटी राजदरवार छाडेका थिए ।

आफ्नो सम्बोधनमा उनले भनेका थिए, “जनताको चाहना र इच्छालाई नै सर्वोपरी मान्ने राजपरम्परा अनुसार संविधानसभाको निर्वाचन र गत जेठ १५ गते संविधानसभाको बैठकले गरेको निर्णयलाई मैले सहज बनाउन सहयोगीको भूमिका सम्पन्न गरेको छु।”

आज गणतन्त्र घोषणा भएको यतिका समयमा जनजिविकाका सवालमा कुनै उल्लेख्य प्रगती नभए पनि मुलुकले राजनीतिक रुपमा भने निकै छलाङ मार्यो । यो बिचमा पहिलो संविधानसभा त्यसै तुहिए पनि बिरलै हुने दोश्रो संविधानसभाको निर्वाचन सम्पन्न भई संविधानसभा बाट नयाँ संविधान जारी भई तिनै तहको निर्वाचन सम्पन्न भएको छ ।

गणतन्त्र भन्ने शब्दको व्याख्यालाई हामीले कसरी बुझेका छौं ? राजाको व्यवहार हामीलाई चित्त बुझेन, 'राजा अब तिम्रो ठाउँमा हामी राष्ट्रपति ल्याउँछौं' भन्यौं । राजाले पनि सहज स्वीकारे । राजनीति आफैँमा एउटा सेवाभावले गरिने विषय हो । हामी त्यसैभित्र देशभक्तिको उदाहरण दिन सक्छौं ।

जनता अधिकार सम्पन्न भएका छन् र यतिबेला दुई ठुला कम्युनिस्ट पार्टी एकीकरण भई एउटै भएका छन् देशमा एउटा बलियो सरकार बनेको छ, सुखी नेपाली र समृद्ध नेपालको नारा तय गरेको सरकारले, जसले आफ्नो  समयकाे दाेस्राे बजेट ल्याउँदैछ तर गति सुस्त र मार्गमा अलमल, अवराेधहरू धेराै छन् ।

नेपालमा गणतन्त्र आगाडि  राजपरिवारमै जन्मिएका ब्यक्ति अर्थात् राजाका छोराछोरी, मात्र राष्ट्रप्रमुख हुन पाउने व्यवस्था थियो । आज  गणतान्त्रिक नेपालमा जन्मिएका हरेक नागरीकले  भविष्यको राष्ट्रपति हुने सम्भावना बोकेका छन ।  यसैमा अगाडी बढेर अब समृद्धिको यात्रा तय गरोस्, सम्पन्न नेपाल निर्माण गरोस् सबैलाई  गणतन्त्र दिवसको शुभकामना ।

गाउँ सहर डेस्क

तपाईँको मत