राजनीति

‘रामराम बाबुराम’ कि अरू !

‘एकता देर आया, दुरुस्त आया’ : वरिष्ठ नेता अशोक राई

काठमाडौँ । सोमबार सङ्घीय समाजवादी फोरम, नेपाल र नयाँ शक्ति पार्टी जोडिएपछि राजनीतिक माहौल त तात्यो नै, सञ्जालमा ‘रामराम बाबुराम’ शब्दले टुच्च दिइरह्यो । दुई पार्टीका द्वय अध्यक्ष डा. बाबुराम भट्टराई र उपेन्द्र यादव कम्युनिष्ट, फेरी माओवादीबाटै हुर्किएका हुन् । उनीहरुको मिलनले अन्य दलका कार्यकर्तामा फरकपना ल्याएपनि सर्वसाधारणको नजरमा सामान्य नै देखियो । भएका सामाजिक सञ्जाल र राजनीतिक भिडले बहुलाएका, रामराम बाबुराम भन्दै विचरासँगै खुच्चिङ पनि मनाइरहेका देखिन्थे ।

एकताका ९ आधार भन्दै एकिकरणको सहमति गरेका उनीहरुले सोमबार दुई पार्टीले आफ्नो आफ्नो पार्टी विघटन भएको घोषणा गर्दै ‘समाजवादी पार्टी नेपाल’ निर्माण भएको घोषणा गरेका हुन् ।

राजधानीको प्रज्ञा भवनमा आयोजित कार्यक्रममा एकीकृत पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीको वकालत गर्ने भएको छ । त्यस्तै नेपालको शासकीय स्वरुपको पुर्नसंरचनाको माग अगाडि सार्ने र दश प्लस एक को अवधारणामा अगाडि बढ्ने जनाएका छन् ।

समाजवादी पार्टीमा २५ जना पदाधिकारी घोषणा भएको थियो । 

संघीय परिषदको अध्यक्ष बाबुराम भट्टराई र कार्यसमिति अध्यक्षमा उपेन्द्र यादव रहेका छन् भने सहअध्यक्षमा राजेन्द्र श्रेष्ठ रहेका छन् । पार्टीको वरिष्ठ नेता अशोककुमार राईलाई घोषणा गरिएको छ भने सहअध्यक्षको जिम्मेवारी राजेन्द्रप्रसाद श्रेष्ठलाई दिइएको छ ।

यस्तै उपाध्यक्षहरू  नवराज सुवेदी, परशुराम खापुङ, युवराज कार्की, रकम चेम्जोङ, रेणुकुमारी यादव, हिसिला यमी, लालबाबु राउत र हेमराज राई छन् । महासचिवहरूमा गंगानारायण श्रेष्ठ, रणध्वज कन्दङ्वा र रामसहायप्रसाद यादव छन् ।

उपमहासचिव डम्बर खतिवडा, दानबहादुर विश्वकर्मा, प्रकाश अधिकारी र सचिवहरुमा मोहम्मद इस्तियाक राई, दूर्गा सोब, परशुराम बस्नेत र प्रशान्त सिंह रहेका छन् । कोषाध्यक्षको जिम्मेवारी विजयकुमार यादवले पाएका छन् ।

सङ्घीय  समाजवादी फोरम, नेपाल र नयाँ शक्ति, नेपालबीच भएको एकीकरण घोषणमा समाजवादी पार्टीका नेताहरुले वर्तमान सत्तामा रहेको कम्युनिष्ट पार्टी र कांग्रेसको धज्जी उडाएका थिए । 

समाजवादी पार्टीका अध्ययक्ष बाबुराम भट्टराईले अहिलेको सरकारको खुलेर विरोध गरेका थिए । उनले कार्यक्रममा भने, “यो सरकार काण्ड नै काण्डले भरिएको छ । यि कम्युनिष्टहरु कम्युनिष्ट नभई कमाउनिष्ट हुन् । यिनीहरुले केवल कम्युनिष्टको खोल ओडेर कसेको र जनताले सुखको अनुभुति गर्न पाएको छैन । ति पार्टीहरुले नेपाली जनतालाई फुटाएको छ । अबको सरकार मधेसले चलाउनुपर्छ ।” उनले यदी हाम्रो सरकारको अवस्था यस्तै हो भने हामी आन्दोलनको आधीकेरी नै ल्याउन सक्ने चेतावनी दिए र उकुसमुकुस भएका नेताहरुश्र पनि यो पार्टीमा आउनुपर्ने र हाम्रो पार्टीलाई नम्बर १ पार्टी बनाउने बताए ।

प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले पनि यो पार्टी अबको केही वर्षमै नम्बर १ पार्टी बन्ने दाबी गरे ।

सहअध्यक्ष राजेन्द्र श्रेष्ठले कम्युनिष्ट पार्टी र कांग्रेस पार्टी अहिले थारो गाई जस्तै भएका छन् । दुध दिन्छन् कि भनेर जनताले पालनपोषण गरे तर कहिले दुध दिएन अब तपाईंहरु नै भन्नुहोस तिनीहरुलाई गौमाता भनेर पुज्ने की हामी हामी सबैको पहिचान र समान अधिकार भएको पार्टीलाई रोज्ने उनले भने । कांग्रेसले र कम्युनिष्ट पाटी सत्तामा आए पनि आफनो सामाजिक उत्तरदायित्व भुलेको पनि उनले बताए ।

‘अहिलेको सरकारको जस्तो सिंहदरकार अगाडी बसेर ढोका घचघचाउने होइन अब नेपाली जनतालाई सिंहदरबारमा स्वागत गर्ने दिन आउने छ र सबै नेपालीहरुले झन्डा फरफराउन पाउने छन’ उनले भने ।

उपाध्यक्ष रेणुकुमारी यादवले भनिन् “हाम्रो दुई पार्टी मिलेको देखेर अहिले कम्युनिष्ट र कांग्रेसको दात नै अमिलो भएको छ । यि दुई पार्टीले गरेको फोहोरलाई हटाएर सफा गर्ने काम समाजवादी पार्टीले गर्ने छ । अहिले नेपालको संविधान आधा गिलास पानी भरेको जस्तो छ । सबैको अधिकार सुनिश्चित नभएसम्म संविधान पुर्ण बन्न सक्दैन ।” उनले अगाडी भनिन, ‘यि पुराना दुई पार्टीले नेपाली जनतालाई धोका दिएको छ । यिनिहरुको खुट्टा भुईमा थिएन अब हाम्रो पार्टीको खुट्टा भुईमा हुने छ भने शिर आकाशमा हुने बताइन् । हामीहरु सुत्ने छैनौ हामी उठेर त्यो आधा गिलास पानीलाई भरी बनाउने छौ । संविधानलाई पुरा बनाउने छौँ ।’

त्यसैगरी उपाध्यक्ष हिसिला यमीले भनिन, ‘हाम्रो एकीकरणले अहिले सबै पार्टीको नजर हाम्रो तिर परेको छ । हामीले महिला र पुरुषलाई मात्र होइन तेस्रो लिङ्गीको अधिकारलाई पनि उठाउने छाैँ ।’

अर्का उपाध्यक्ष नवराज सुवेदीले भने, “नेपाल काण्डहरुले भरिएको अवस्था छ । सार्वजनिक जग्गा हडपर्ने काम भएको छ । घोटला भएको छ  । प्रजातान्त्रिक पार्टी भन्ने कांग्रेस र साम्यवादी भन्ने कम्युनिष्ट ति पार्टीका नेताहरु कोही पनि ति काण्डबाट चोखो हुन सकेको अवस्था छैन । हाम्रो पार्टी यस्ता काण्डहबाट मुक्त रहेको र विश्वाल व्यक्तिहरुको पार्टी भएकाले अब पुराना यी धोकेबाज पार्टी टिक्ने छैनन् ।”

कार्यक्रममा उपाध्यक्ष परशुराम खापुङले कांग्रेसमा वैचारिक संकट रहेको बताउँदै नेकपा दुईटा पार्टी मिलेर सत्ताको स्वार्थको निम्ति गठन भएको तर त्यसमा पनि वैचारिक संकट रहेको बताए । उनले भने, ‘तर हाम्रो पार्टी वैचारिक रुपमा स्पष्टता, अग्रगामी र मुलुकलाई बदल्ने पार्टी हो । षडयन्त्र गर्न खप्पिस रहेको ति पार्टीले हाम्रो गठनसँगै संयन्त्र गर्न सक्छन् । यो दलको विरुद्र सड्यन्त्र गर्नु भनेको पहाडसँग कुहीनोले लडनु जस्तै हो ।’

‘हाम्रो पार्टी एकिकरण हुन दुई वर्ष लाग्यो तर हाम्रो पार्टीको ‘एकता देर आया, दुरुस्त आया’ जस्तै भएको छ । आजभोली सिंहदरबारमा स्याल कराएको मात्रै सुनिन्छ । सिंहदरकारका सिंहहरु कहाँ हराए भन्दा सिंहहरु त आज यता प्रज्ञा प्रतिष्ठानमा छ’ भन्दै वरिष्ठ नेता अशोक कुमार राईले चिच्याएका थिए ।

प्रज्ञामा भिड थियो, भएभरका पत्रकारहरुले खचाखच भवन तातो थियो । चौथो ठूलो दल बनेको हर्षबढाइँ चलिरहेकै बेला सञ्जालमा एउटा हुँडरी चलिरहेको थियो । सबैले बाबुरामकै प्रसंगमा कलम र बोली चलाइरहेका थिए ।  कार्यसमिति अध्यक्षका बारेमा पनि मधेश आन्दोलनको चित्र र कारण जोडेर व्यंग्य हानिएको थियो ।

सो एकिकरण कार्यक्रमलाई लिएर विश्लेषक खगेन्द्र संग्रौलाले ट्विटरमा लेखेका छन, जसको बाबुरामले उत्तरपनि दिएका छन् । उनको ट्विटमा छ, — ‘सार्वजनिक मञ्चमा धरी राजसी गाथको रक्षार्थ बडो दम्भी मुद्रामा पछाडि पिस्तोलधारी सिपाहीलाई खडा गराउने मान्यवर क्रान्तिकारीले लोकलाई दिने लोकतन्त्र र समाजवादको अनुहार कस्तो होला ? अकिञ्चनको जिज्ञासा ।’

बाबुरामको उत्तर थियो — धन्यवाद, वरिष्ठ व्रो!  फोटोमा देखिएको हाम्रो यो कानेखुसी यही सुरक्षाकर्मीलाई हटाउने विषयमा थियो । मैले त हटिसकेहोलान् भन्ने ठानेको थिएँ, पछि फर्केर पुनस् चेक गर्न विर्सिएछ!  भूलचुक माफ होस्!  हाम्रो समाजवाद अर्को नक्कली जिनिस हैन साँच्चिकै उन्नत संघीय समाजवाद हुनेछ!

पार्टी एकताको प्रसंगलाई लिएर नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ट्विट गर्दै यसो भने, ‘सत्तारुढ र प्रतिपक्षी दलको जमेर आलोचना गर्दै र उपेन्द्र यादवको पार्टी एकीकरण भएको छ । तर, कुनै जवाफ बेगर एकीकरणलाई बधाई र एकीकृत पार्टीलाई शुभकामना । विभाजन होइन दलहरुको एकता र प्रतिस्पर्धाले बलियो बनाउँछ लोकतन्त्रलाई ।’

हुमन पराजुली ट्विटमा भन्छन— ‘देशका ३ मुख्य दलका जम्मा १० जना अध्यक्ष ! नेकपा २, राजपा ६, समाजवादी २-२ वा सो भन्दा बढी बैंक मर्ज गर्दा कतिजना सम्म सिईयो हुन्छन साँच्ची ।’

फेसबुकमा सन्तोष सिंखडा लेख्छन्, ‘ कुनै बेला उपेन्द्र यादव जनयुद्ध लडेका नेता थिए । पछि शान्तिकालमा उनले माओवादी त्यागे । गौरमा माओवादी धपाउने नाममा ५० जना भन्दा बढी सर्वसाधरण जनताको हत्या गर्ने दल उनकै थियो । त्यतिबेला माओवादीको वरिष्ठ नेता बाबुराम भट्टराई थिए । उपेन्द्र यादवलाई अध्यक्ष स्वीकार गरि बाबुराम भट्टराई मुसुमुसु हाँस्दै गर्दा गौर नरसंहारका शहिदहरुलाई सम्झिनु पर्छ कि पर्दैन ? प्रचण्डभन्दा कुन मानेमा तराईको एउटा सामन्ती र स्वार्थी उपेन्द्र यादव ठिक लाग्यो तपाईंलाई ? बाबुराम दाइ तपाईं उपेन्द्र जस्तो मान्छेलाई साथमा लिएर यसरी हाँस्दै गर्दा गौर हत्याकाण्डका ती सहिदहरु कति भक्कानो फुटाई रोए होलान तपाईंलाई याद छ ?’

नकारात्मक धारणाबीचमा सकारात्मक सन्देशको एकीकरण देशको लागि राम्रो भएको र दलहरूमा संकुचन ल्याएको बताउँछन् । उनीहरूले दुबै नताको गलत चर्चा भन्दापनि समकालिन आवश्यकता पूर्तिको लागि एकीकरण ऐतिहासिक मानेका छन जसको चित्र हेर्न भविश्य कुर्नैपर्छ ।

किनकी उन्नत समाजवादकाे लागि यी दुइ दल एकीकृत भएका हुन् ।

गाउँ सहर डेस्क

तपाईँको मत