कला

‘म’ भित्रको चित्त खोल्ने पुस्तक ‘चित्त खुलोस् हृदयसँगै’

'म जे अनुभूत गर्छु, त्यसको स्वत्वलाई म हेर्छु । अनि देख्छु मेरो अनुभूति नै सिङ्गो म होइन, सम्पूर्ण म होइन । हो, मलाई पीडा हुन्छ, तर मेरो श्रीमान्, छोराछोरी र नातिनातिनाप्रति प्रेमको अनुभूति पनि त हुन्छ नि । त्यो प्रेमले मलाई सघाउँछ । मैले भोगेको पीडा त त्योभन्दा ठूलो अनुभूतिको एउटा अंश मात्रै हो । पीडा त्यसको एउटा सानो अंश हो भने प्रेम त्योभन्दा धेरै ठूलो । 

बुधबार सार्वजिनक गरिएकाे 'चित्त खुलोस् हृदयसँगै'  पुस्तककाे अंश हाे । बाैद्ध धर्म गुरू छोक्न्यी रिन्पोचेद्वारा लेखिएकाे उक्त पुस्तक सरोज धितालले नेपालीमा रुपान्तरण गरेका हुन् । 

१२२ पृष्ठको पुस्तकका लेखक रिन्पोचेले आठ वर्ष उमेरको छँदा घरमा आएको एउटा चिठीले कसरी जीवनको मोडै परिवर्तन गरिदियो भन्ने कुरा र त्यसपछि बौद्ध धर्मको आध्यात्मिकतसँग जोडरे उदाहरणसहितका अनुभूति लेखेका छन् । रिन्पोचेका सहलेखक एरिक स्वान्सनले अंग्रेजीमा अनुवाद गरेका छन् । 

लेखकले आफूलाई छोक्न्यी रिन्पोचेको तेस्रो अवतारका रुपमा व्याख्या गरेका छन् । सोह्रौ कर्मापाले टुल्कु अर्थात गुरुको अवतार भएको बुबाआमालाई चिठी पठाएको र पछि त्यो बाल्यअवस्थामा 'टुल्कु' भएर एउटा ध्यान, आध्यात्मिक परिधिभित्र नबसेको तर बुझ्दै गएपछि अध्ययन र ध्यानको भोको भएको उल्लेख गरेका छन् । 

उत्तरी गोर्खाको हिमाली गाउँमा जन्मेका रिन्पोचेले भन्छन्- 'भौतिक विकासको नयाँपनको भोकसँगै दु:खका नयाँ रुपहरु प्रकट हुँदैछन् । भौतिक समृद्धिसँगै मानसिक दु:खका नयाँ रुपले नगाँजून् । यस कुरामा पश्चिमा मुलुकहरु बढी मानसिक रोगबाट ग्रसित छन् । विकास र समृद्धिको यात्रामा हामीभित्रको न्यानोपन, र स्वाभाविक विश्रान्ति नगुमोस् भन्ने हेतुले बुद्धका सन्देशसँग जोडेर यो पुस्तक नेपालीमा भाषामा पनि आएकाे छ ।' 

अल्केमी पब्लिकेशनले बजारमा ल्याएकाे पुस्तकमा १३ वटा शीर्षकभित्र १०२ वटा उपशीर्षकभित्र आफूले भोगेका अनुभूतिहरुलाई जोडेर हामीले भोगिरहेका अभुभव देखुन्जेल र भोगुन्जेलका मात्र सत्य हुन् । ती पूर्ण छैन । सत्य त धेरै टाढा छ जसलाई हामीले खुला चित्तमार्फत हृदय खोलेर अनुभूति गरेपछि मात्र प्राप्त गर्छौं । त्यसैले सपनामा हामी जे अनुभव गछौं ती सत्य हुँदैनन, तर सपना देखन्जेल भने ती सबै सत्य नै प्रतित हुन्छन् । 

रिम्पोचे लेख्छन् - "शारीरिक, भावनात्मक र अवधारणात्मक प्रतिक्रियाहरु एकआपसमा लठारिएर कस्सिएको गाँठो बन्यो । त्यही गाँठो 'मनोढाँचामा' परिणत भयो । विचार, भाव र शारीरिक अनुभूतिका विभिन्न ग्रन्थिहरुलाई नै सत्यका रुपमा स्वीकार्दै तिनका सामु तत्काल आत्मसमर्पण गर्ने हाम्रो प्रवृत्ति हुन्छ । यो प्रवृत्तिले नै हामीलाई त्यो आफ्नो 'पुल' तर्न चाल्नुपर्ने पहिलो पाइला चाल्न अड्चन सुृजना गर्छ । पहिलो पाइलाबाट एक चोटि पछि हटिएछ भने पनि, एक छिन अडिएर आफ्ना विचार, भाव, अनुभूतिहरुलाई नियालेर आफूले वास्तविक ठानेका कुराहरु साँच्चिकै हुन कि होइनन् भनी आफैलाई सोध्न सक्छौँ ।" 

पुस्तकले सत्य के हो भन्नेबारे 'पुल' मार्फत सांकेतिक प्रयोगको रुपमा उदाहरण पेश गरिएको छ । जहाँ डर, असन्तष्टि, ईष्र्या, पीडा र आक्रोश जस्ता भावलाई सम्मान र विनम्रताकासाथ लिन सघाउने लेखककाे बुझाइ छ । 

हामीले हाम्रो उत्तरदायित्व निर्वाह गर्न हाम्रा सोच, भाव र व्यवहारलाई बुझ्यौँ भने मात्र आफूलाई तिनीहरुको हैकमबाट मुक्त भएमात्र संसारलाई हेर्ने हाम्रो दृष्टिकोणमा परिर्वतन आउने लेखककाे अपेक्षा छ  । पुस्तकमार्फत ध्यान र एकाग्र हुन कस्ताे विधि अपनाउन सकिन्छ भन्नेबारेमा पनि सामान्य जानकारी दिइएकाे छ। 

भोगेका चुनौतीहरुले नै हामीलाई उज्यालोका क्षणको गहिरो अनुभूति दिन सक्छन् । बाधालाई अवसरमा रुपान्तरण गर्न सम्भव छ । 'म' लाई उपयोग गर्न सक्ने खूबी विकास गर्नु भनेको दाँत माझ्ने जस्तै हो । बाँच्नका निम्ति हामीले खानुपर्छ, पिउनुपर्छ । तर, खानपिनपछि मुखमा केही बाँकी रहन्छ, दाँतमा केही अड्किन्छ । यसरी मुख फोहाेर हुन्छ भनेर हामी खानपिन गर्नै छोड्दैनौं । बरु हामी दाँत माझ्छौँ, कुल्ला गर्छौ । त्यसो नगरे दाँतमा कीरा पर्छ । खान पिउन त परयो तर दाँत माझ्न पनि पर्यो । 

जब हामी आफैँभित्रको झिल्कोलाई चिन्छौँ र खुल्छौँ, जब हाम्रो हृदय र चित्त खुल्छ, आफ्ना वरिपरिका सबैलाई पनि उसै गरी खुल्ने अवसर दिन्छौं । जब हामी आफूले तर्नुपर्ने जुनसुकै पुललाई पनि आत्मविश्वास र स्फुटताका साथ तर्न थाल्छौं । पुस्तककाे निचाेड हाे । 

बाैद्ध धर्मसँग जाेडिएकाे याे पुस्तकले आध्यात्मिकतासँग जाेडिएकाे र रिम्पाेचेकाे बाल्यकालदेखि हालसम्मका विभिन्न घटनाक्रमलाई जाेडिएकाे छ ।  

गाउँ सहर डेस्क

तपाईँको मत