गाउँ सहर

‘सात तारा गुमाएको दिन’, निशब्द !

आयो टप्प टिप्यो, लग्यो, मिति पुग्यो टारेर र्टर्दैन त्यो,

काठमाडाैँ । बुधबार नेपाली आकासमा अर्को दुर्घटना भयो । करिब १२ वर्षअघि ताप्लेजुङमै हवाइ दुर्घटना भएको थियो । साे दुर्घटनामा पूर्व वन तथा भूसंरक्षण मन्त्री गोपाल राई सहित २४ जनाको मृत्यु भएको थियो ।

आज पुनः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्रप्रसाद अधिकारीसहित ७ जनाको मृत्यु भयो ।

एअर डाइनेस्टीको एएस३५० हेलिकप्टर बुधबार मध्यान्ह साढे एक बजे ताप्लेजुङको सिस्नेमा दुर्घटना हुँदा सात जनाको मृत्यु भएको हो ।

दुर्घटनामा परेर मन्त्री अधिकारीसहित पर्यटन व्यावसायी आङ्गछिरिङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रुवदास भोछीभोय, प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, उपसचिव युवराज दाहाल, नेपाली सेनाका जमदार अर्जुन घिमिरे र क्याप्टेन प्रभाकर केसीको ज्यान गएको छ ।

मौसम खराबीको कारणले दुर्घटना भएको प्रारम्भिक अनुमान त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलले गरेको छ । विमानस्थल महाप्रबन्धक राजकुमार क्षत्रीकाले हेलिकप्टर दुर्घटना हुनाको कारण मौसमको खराबी भएको बताएका छन् । 

मन्त्री अधिकारीसहितको टोली तेह्रथुमको चुहानडाँडा विमानस्थलको निरीक्षण सकेर ताप्लेजुङको पाथीभरा दर्शन गरेर फर्कने क्रममा मन्दिरबाट डेढ किलोमिटर यता अपराह्न करीब १ः३० बजे दुर्घटना भएको थियो । 

हेलिकप्टर दुर्घटनाको समाचार आएपछि देश स्तब्ध बनेको थियो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले यही समाचारलाई प्रस्तुत गरिरहेका थिए । देश तथा विदेशका सामाजिक सञ्जालमा घटना नहोस भनेर कामना गरिरहेका थिए ।

मृत्युले कसैलाई पर्खदैन भनेजस्तै घटना सत्य बन्यो हामीले वहाँहरुलाई गुमायौँ ।

मौसम सफा थिएन केही समयदेखि । आजपनि पानी परिनै रहेको छ । पहाडी तथा हिमाली क्षेत्रमा हिउँ परिरहेको छ । मौसम सफा नहुँदा नहुँदै हेलिकप्टरको उडानको विषयलाई लिएर देशवासी निराश पनि बनिरहेका छन् । शब्दहरु मनभित्र दविएका छन् । भौगोलिक विकटताका कारणले पनि लासहरु संकलनमा गाह्रो परेको थियो । मृततक दिग्गजका परिवारजन शोकाकुल अवस्थामा क्षतविक्षत स्वरुपको पर्खाइमा छन् ।

नेपालमा हुने हवाइ दुर्घटनामा भौगोलिक, मानवीय तथा प्राविधिक गरी तीनवटा मुख्य कारण रहेको विज्ञहरुको भनाइ छ । तीन कारणमध्ये सबैभन्दा बढी मानवीय त्रुटीले हवाइ दुर्घटना हुने गरेको दुर्घटनाका अध्ययन प्रतिवेदनहरु बताउँछन् ।

नेपालमा भएका ७३ दुर्घटनामा झण्डै आठ सयको मृत्यु भएको तथ्यांकले देखाउँछ ।

यसैले हाेला कविशिराेमणी लेखनाथ पाैड्यालका यी कालमहिमा लेखिइरहन्छन्...........

भाका, भूल, दया, क्षमा र ममता, सन्तोष जान्दैन त्यो,
इन्द्रै बिन्ति गरुन् झुकेर पदमा त्यो बिन्ति मान्दैन त्यो,
थुप्रोमा उधिनी मिठो र नमिठो रोजेर छान्दैन त्यो,
खाता जाँची सबै दुरुस्त नबुझी बिर्सेर हान्दैन त्यो ।१।

राजा रङ्क सबै समान उसका वैषम्य गर्दैन त्यो,
आयो टप्प टिप्यो, लग्यो, मिति पुग्यो टारेर र्टर्दैन त्यो,
लाखौँ औषध अस्त्रशस्त्र महिमा देखेर र्डर्दैन त्यो,
व्याधातुल्य लुकेर चल्दछ सदा मारेर मर्दैन त्यो ।२।

आँसुका दहमा नुहाउँछ चिसो पानी रुचाउन्न त्यो,
सुख्खा जर्जर अस्थिपञ्जर विना शैया बनाउन्न त्यो,
मैलो भष्मसिवाय अङ्गभरमा केही लगाउन्न त्यो,
हाहाकार सरी मिठो अरु कुनै संङ्गीत गाउन्न त्यो ।३।

जोजो मिल्छ सुलुक्क निल्छ मुखमा हाली चपाउन्न त्यो
थाल्यो च्वाम्म सबै चपाउन भने आहार पाउन्न त्यो,
जत्ती मिल्छ उती उकेल्दछ पनि केही पचाउन्न त्यो,
यै चालासित कल्पकल्प कहिल्यै खाई अघाउन्न त्यो ।४।

गाउँ सहर डेस्क

तपाईँको मत