विश्व

बंगलादेशमा आगलागी, ६९ जनाको मृत्यु

राहतकार्य जारी

  • एजेन्सी
  • ९ फाल्गुण बिहीबार, २०७५ | १०:४९:०० मा प्रकाशित

ढाका । बंगलादेशको राजधानी ढाकाको एक पुरानो इलाकामा रासायनिक गोदामको रुपमा प्रयोग भएको एक अपार्टमेन्टमा आगलागी हुँद ६९ जनाको मृत्यु भएको छ । 

बंगलादेशको दलमल विभागका प्रमुख अली अहमदले भने, ‘अहिले सम्म ६९ जनाको शब निकालिसकिएको छ । शबको संख्या बढ्न सक्छ । खोजिकार्य जारी छ ।’

ढाकाको पुरानो इलाका चौकबजारमा ग्यासको सिलिण्डरबाट लागेकोले आगो चारैतिर फैलिएको थियो, अहमदले भने । ज्वलनशील पदार्थ रहेको सो स्थानमा एक्कासी आगो फैलिएको थियो । 

दमकल अधिकारीले पत्रकारलाई आगलागी बुधबार राती १० बजेर ५५ मिनेटमा लागेको बताए । आगो नियन्त्रणमा लिइएपनि २०० भन्दा बढी दमकलकर्मीहरुको अथक प्रयास जारी रहेको थियो । उनीहरुले भने, ‘आगलागीका अन्य घटना जस्तो यो भएन । यहाँ भण्डार गरेर राखिएको उच्च ज्वलनशील पदार्थका कारण आगोले अनियन्त्रित रुप लिएको थियो ।

घटनामा घाइते भएकाहरु बढी संख्यामा महिला र बच्चा छन् । उनीहरुलाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ । ढाका मेडिकल कलेज अस्पतालमा एक पुलिस निरीक्षकले घटनामा घाइतेहरुको संख्या कम्तिमा ४५ रहेको बताए । 

ढाकाको पुरानो इलाकामा सन् २०१० मा आगलागीको यस्तै घटनामा १२० बढी मानिसहरुको मृत्यु भएको थियो । 
 

एजेन्सी

तपाईँको मत