भिडिओ

‘युद्ध सुरु गर्न सजिलो हुन्छ तर निभाउन गाह्राे हुनेछ’

पाकिस्तानी प्रधानमन्त्री इमरान खान

  • एजेन्सी
  • ७ फाल्गुण मंगलबार, २०७५ | १७:१९:०० मा प्रकाशित

इस्लाम्बाद । कश्मीरको पुलवामामा चार दिनअघि विद्रोहीको आत्मघाती आक्रमणबाट ४१ जना अर्धसैनिकको मृत्यु भएपछि उत्पन्न भएको भारत—पाक विवाद जारी रहँदा पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आज १ बजे सम्बोधन गरेका छन् । 

पुलवामामा भएको आत्मघाती आक्रमणमा पाकिस्तानको हात रहेको भारतले दाबी गर्दै आएको छ । यही कुरालाई खण्डन गर्दै प्रधानमन्त्री खानले कुनै आधार बेगर हिन्दुस्तानले आरोप लगाएको बताएका हुन् । 

भारत प्रशासित कश्मीरमा भारतीय सुरक्षा बल लक्षित भीषण आक्रमण तीन दशक यताकै ठूलो रक्तपातपूर्ण घटनाका रुपमा रहेको थियो । 

छुट्टी मनाएर काममा फर्कदै गरेका करिब दुई हजार ५०० सुरक्षाकर्मी लिएर गइरहेका ७८ ओटा सवारी साधनलाई लक्षित गरी विस्फोटक पदार्थले भरिएको एक भ्यानले आत्मघाती आक्रमण गरिएको थियो । 

यस आक्रमणको जैस ए–मोहम्मद इस्लामिक समूहले जिम्मेवारी लिएको थियो । सन् १९४७ मा बेलायतबाट स्वतन्त्र भएपछि कश्मीरलाई भारत र पाकिस्तानतर्फ विभक्त गरिएको थियो । आणविक हतियार भएका भारत र पाकिस्तानबीच कश्मीरको विषयलाई लिएर तीन पटक युद्ध भइसकेको छ । 

मसुद अजहरको नेतृत्वमा रहेको जैस ए–मोहम्मद आतङ्ककारी समूहलाई पाकिस्तानले पूर्णरुपमा स्वतन्त्रता दिएको र पाकिस्तानको नै नियन्त्रणमा यसले बढावा पाइरहेको भारतको दाबी छ । 

गत शुक्रबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आतङ्ककारी समूह र उनका मालिकले ठूलो गल्ती गरेका र यसको मूल्य चुकाउनु पर्ने चेतावनी दिएका थिए ।

पाकिस्तानले भने भारतको दाबी असत्य रहेको जनाएको छ । भारतीय सञ्चारमाध्यम र सरकारले काश्मिर आक्रमणमा पाकिस्तानको संलग्नता रहेको भनी गरिएको दाबी असत्य भएको र कुनै किसिमको अनुसन्धान बेगर पाकिस्तानविरुद्ध भारतले आरोप लगाउनु दुःखद भएको पाकिस्तानको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको थियो ।

यसै कुरालाई आज प्रधानमन्त्री खानले प्रमाणबेगर युद्धको कुरा गर्नु गलत भएको बताउँदै उनले भने, ‘युद्ध सुरु गर्न सजिलो हुन्छ तर निभाउन गाह्राे हुनेछ ।’ 
 

एजेन्सी

तपाईँको मत