गाउँ सहर

मुख र विज्ञप्तिमा सीमित ‘प्रजातन्त्र दिवस’

तन्त्रकाे बे-प्रयाेग

काठमाडाैँ । नेपालमा प्रजातन्त्र दिवस २००७ सालको क्रान्ति सफल भएर १०४ वर्षे लामो निरङ्कुश जहानीया राणा शासन अन्त्य भएको सम्झनामा हरेक फागुन ७ गते मनाइन्छ ।प्रजातन्त्र स्थापनाका लागि भएको सङ्घर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले विसं १९९७ माघमा बलिदानी दिएका थिए । प्रजा परिषद नामक राजनीतिक दल भूमिगत रूपमा स्थापना गरी प्रजातन्त्र स्थापनाका लागि जनतामा जागरण ल्याएको अभियोगमा उनीहरुलाई मृत्युदण्ड दिइएको थियो ।

एकसय चार वर्षीय जहानियाँ राणा शासनको विरुद्धमा जनताले आन्दोलन गरी रगत बगाएपछि राणा शासकले जनतासमक्ष घुँडा टेक्न बाध्य भई प्रजातन्त्र स्थापना भएको घोषणा गरियो । तत्कालीन राजा त्रिभुवनको घोषणापछि राणा र नेपाली कांग्रेस सम्मिलित सरकार गठन भई नेपालमा प्रजातान्त्रिक शासनकालको सूत्रपात भयो ।

विसं २००० पछि स्थापना भएका नेपाल प्रजातन्त्र कांग्रेस र नेपाली राष्ट्रिय कांग्रेसको २००६ सालमा एकीकरणपछि नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलनले नेपालमा २००७ साल फाल्गुण ७ गते प्रजातन्त्र स्थापना गरेको थियो ।

फाल्गुण  ७ मा प्रजातन्त्र स्थापना भएको सम्झनामा सरकारले प्रत्येक वर्ष राजधानीको टुँडिखेलमा औपचारिक कार्यक्रमको आयोजना गरी विशेषरूपमा यो दिवस मनाउँदै आएको छ । दिवसका उपलक्ष्यमा सार्वजनिक बिदा समेत दिने गरिएको भएपनि केही वर्षबाट कटाइएको छ ।

प्रजातन्त्रलाई भाग लगाउँदा प्रजाको—तन्त्र भन्ने अर्थ लाग्छ । ६९ वर्षदेखि सबैको मुखमा यहि शब्द झुण्डिएपनि वास्तविक प्रजाको तन्त्रको स्वादमात्र पनि जनताले पाएको देखिँदैन । किनकी जो देशको कार्यकारी पदमा पुग्छन ती सबै राजाको शैलीमा ठाँटिन पूगेका छन् भने प्रजा अर्थात जनता सँधै न्यायको भिख मागिरहेका छन् ।

प्रजातन्त्र दिवस देशभर मुखमा औपचारिकता बोकेर मनाइरहेको बेला निर्मला पन्तदेखि पशुपति शर्मासम्म न्यायको लागि पिल्सिरहेका छन् । तरपनि सरकार र राजा सरहका पदहरुमा आशिन मान्यजनहरु प्रजातन्त्रको सहयात्री मानिरहेका छन् । आज देशमा न लेख्न पाइएको छ न बोल्न नै, जनता भएर । यहाँ राजाका रुपमा निरंकुशता लादिन थालेका छन् । सुविधा उनै उपभोग गर्नमा तल्लिन छन्, औँला उठाउँदा विरोधी मानिन थालिएको छ अनि आफूले अकुत कमाएर सर्वसाधारणमा कानून लाद्न थालिएका दृश्यले देशमा कुनैपनि तन्त्र आएपनि जनताले न्याय नपाएको र तन्त्र नबेहोरेको प्रष्ट पार्न अब समय खर्चनु नपर्ला ।

प्रजातन्त्रको रक्षा हुन नसक्दा मुलुकले अझै जनअधिकार र जनजीविकाका सवालमा अनेक संघर्षहरु अहिलेपनि गरिराख्नुपरेको छ । चुनाव भए शान्ति हुन्छ, गणतन्त्र आउँदा जनताले न्याय पाउलान भन्ने कुरा अब कथाजस्ता भएका छन् । कुनै व्यवस्थामा जनतालाई आनन्द भएको छैन । मुलुकमा नागरिक शासनको बहालीका लागि संघर्ष गरेका र जीवन अर्पण गरेका महान सहिदहरुको बलिदानीको अहिलेसम्म कदर हुन सकेको छैन । अहिले सार्वजनिक रुपमा मनाउनुपर्ने प्रजातन्त्र दिवस बन्द कोठामा सीमित बनेको छ ।

राष्ट्रपतिदेखि प्रधानमन्त्री हुँदै विभिन्न पार्टीका नेताहरु, पूर्व राजालगायत मान्यजनहरुबाट प्रजातन्त्र दिवसको शुभकामनाका अक्षरहरु सार्वजनिक भएका छन् । तर, उनीहरुले मुटुमाहात राखेर भनून्, के नेपालमा प्रजातन्त्र आयो? कसलाई आयो? भनेर सोद्धा उत्तर आउन आनाकानी हुने गर्दछ । उस्तै परे सोध्नेलाई झर्केर उत्तर आउनसक्छ । यही देखिएको छ देशमा ।

संघात्मक देशमा अहिले गणतन्त्र दिवस मनाइन्छ । हरेक व्यवस्थाहरु परिवर्तन भएपनि जनताले परिवर्तनको आभाष अहिलेसम्म गर्न पाएको देखिँदैन । भन्नलाई त सडक बढे, सञ्चार सुविधा थपियो, स्वास्थ्य शिक्षामा परिवर्तन आए भनेर एकाध स्थानमा उन्नती भएको देखाइन्छ । तर उनीहरुलाई अब उत्तर दिन नहिच्किचाउनुस, समाज गतिशिलताको परिवर्तनलाई प्रजातन्त्रसँग जोड्नु हाँस्यास्पद हुन्छ । पृथ्वी गोलो छ, घुमिरहन्छ जस्तै हो । यसमा पनि वास्तविक प्रजातन्त्रको अनुभूति जनतालाई नगराएसम्म प्रजातन्त्र दिवस नबुझेको भन्नैपर्छ ।

हुन त सरकारका हरेका काम कारवाहीहरुमा मेरो पार्टीले गरेको भन्ने देशमा यहाँ प्रक्रियागत सुधार भएका कुरालाई पनि हाम्रोले गरेको भन्ने चलन र हवला दिइन्छ भने कुरा गर्नुको कुनै तुक छैन । समाज अहिले यहि हावामा दौडिरहेको छ । प्रजातन्त्रको नाममा सत्तापक्षका सबै ठिक र कार्यकर्ता भर्तिकेन्द्रका अखडा बनाइएका छन् । तर, जनता सँधै पिल्सिरहेका छन्, जुन अहिलेसम्म बुझिएको छैन, बुझेर पचाइएकाे छ । 

तर हाम्रा शासकहरुको मुख अझै थाकेको छैन अनि प्रजातन्त्र दिवसको दिन विज्ञप्ति निकाल्न छाडेका छैनन्, अझै लाज पचाएर मुखले मात्रै भनिरहेका छन्— प्रजातन्त्र दिवसको शुभकामना ।।
 

गाउँ सहर डेस्क

तपाईँको मत