दृष्‍टिकोण

‘पशुपतिकाे देशमा पशुपतिकै चर्चा’, जस्ताकाे तस्तै अपलाेड गर्न बद्री पंगेनीकाे आग्रह

‘लुट्न सके लुट कान्छा, लुट्न सके लुट, अरु देशमा पाइँदैन, नेपालमै हो छुट’

‘लुट्न सके लुट कान्छा, लुट्न सके लुट, अरु देशमा पाइँदैन, नेपालमै हो छुट’, बजारमा आयाे तर गायक पशुपति शर्माले नै यूटुबबाट हटाए । गीत आउनेबित्तिकै सरकारले राेकेकाे भन्ने समाचार आएपनि कसैकाे धम्की र सामाजिक सञ्जालमा शब्द चयनलाई लिएर विराेध आएका थिए । साे पश्चात आत्तिएका स्व्यं गायक शर्माले सच्याउने बाचा गरे । तर, विराेधभन्दा समर्थनमै अहिलेपनि याे गीत भाइरल बनेकाे छ । अधिकले धम्कीबाट गायक पछि हटेकाे आशंका गरिरहेका छन् ।

पशुपति शर्माको गीतले दुईवटा सन्देश दिएको छ । 

१. नेपाल मा विकास र निकास होस्, सदाचार होस्, दण्डहीनता अन्त्य होस् भनेर सक्दो योगदान गर्ने र कामना गर्नेलाई यो सकारात्मक सन्देश दिने गित हो । यो गीतले सत्तापक्ष र प्रमुख प्रतिपक्ष दुवै दलका शिर्ष नेता भ्रष्ट रहेको कुरा बुझाएर जनतालाई भविश्यमा भ्रष्टलाई चुनावमा नजिताउन सचेत गराउँछ । यहि भएर यो गीतलाई अन्य माध्यमबाट भए पनि जीवित बनाउने कोसिस गर्नुपर्छ नेपाललाई माया गर्ने सबैले ।

२. भ्रष्ट, तस्कर, गुण्डा, लगायत अपराधिहरुलाई यो गित नकारात्मक सन्देस दिने गित हो । यो गितले वर्सौदेखि चल्दै आएको लुटमाथि धावा बोल्दै जनता सचेत बनाउने दुष्प्रयास गरेको छ । यहि भएर शर्मालाई डर, त्रास देखाएर गित हटाउन बाध्य पारियो । 

यही प्रसंगमा लेखक सुमन बराल लेख्छन्, ‘अब बद्री पंगेनीले गाएको ‘मै पनि एमाले, सही पनि एमाले’ बोलको गीतलाई राष्ट्र गान बनाउनुपर्छ, दुई तिहाईको सरकारले ।' ‘धेरै भ्रष्टहरूको (नेकपा, कांग्रेस लगायतका सबै भ्रष्ट) सातो गएछ यो गीतले । पूर्व प्रधानमन्त्री देउवाले ‘कम्निस्ट आए भने, रुन पनि पाइँदैन, बोल्न त परको कुरा भनेका थिए । ठिकै भने जस्तो देखिएको छ । दबाब दिएर हटाउन बाध्य पार्नु पर्ने खालको कुनै कुरा गीतमा छैन । तसर्थ, यो गीतलाई मर्न दिनु हुँदैन, सबैले विभिन्न माध्यमबाट जनता माझ पुर्याउँ । यो गीतले सुतेका जनता ब्युझिन मद्दत पुग्छ ।’

स्वर्ग जस्तो देसमा यमराजको शासन (शाेषण)
हे सरकार पशुपति शर्मालाई तुरुन्त कारबाही गरियोस । कांग्रेसले पनि सरकारलाई शर्मालाई दण्डित गर्न जोडदार माग गर्नुपर्छ । सरकारको काम देखेर विश्व चकित् भएको बेलामा यस्तो भ्रामक कुरा गरेर जनतालाई सचेत बनाउने कोसिस गर्ने शर्मालाई हदै सम्म दण्डित गर्नुपर्छ ।

यही गीतकै प्रसंगमा पूर्व सचिव भीम उपाध्याय लेख्छन्— पशुपतिको ‘लुट्न सके...’ गीतका सबै शब्दरचना र लिरिक्स नेपालको परिवेशमा १०० प्रतिशत सत्य र सही छन् । कसैले त्यो भोजन पचाउन सक्नु नसक्नु उसको ऑत कति बलियो छ त्यसमा भरपर्छ ।

‘महाभ्रष्टहरूलाई खोजीखोजी संवैधानिक नियुक्ति दिऔं, लुट्ने लुटाउने काम मजाले गराऔंरगरौं,  यसबारे विरोधका स्वर सोसल मिडियामा लेखिएछ भने पुलिस लगाएर लेख्ने वा शेयरगर्नेलाई थुनाऔं वा नभए सोसल मिडिया बन्द गराईदिऔं । मिडियाले भ्रष्टको विरूद्ध सप्रमाण लेखेछ भने राजीनामा दिन लगाऔं र तत्काल स्वीकृत गरी सबै जोगिऔंरजोगाऔं । क्या संवैधानिक जुक्तिको आविष्कार गरिएछ नेपालमा, नोबेल पुरस्कारयोग्य संविधान बनाईएछ । मानियो संवैधानिक बुद्धिप्रसादहरूको तरकिवलाई पनि । हाम्रै पालामा नेपाल ‘स्वर्ग’ बन्छ कि क्या हो !’ उनले भनेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमै पूर्व सचिव उपाध्यायले भनेका छन्- पोहोर साल आजकै दिन मैले सोसल मिडियाको ताकतको बारेमा लेखेको थिएँ, हिजो पशुपतिको गीत सोसल मिडियामा भाईरल हुँदा ८ रेक्टरको भुईंचालो ल्याएर थररर हल्लाएको छ । 

“सोसल मिडियाले मुठ्ठीभरका परम्परागत मिडीयाको दादागिरी एकाधिकार र मेनिपुलेसन तोडेको छ । व्यक्ति सबैलाई स्वतन्त्र एमेचर पत्रकार बनाईदिएको छ । समाचाररविचार जंगलको आगो सरह प्रचारित र प्रशारित हुने अवस्था ल्याईदिएको छ । सबैको निगरानीमा सबै परेका छन् । यसबाट कतिको मुटुमा ढ्यांग्रो ठोकिन थालेको छ । छाडाहरू पदको लालची बनेको भण्डाफोर हुँदा नौटंकीबाजहरूलाई विचल्ली पारिएकोरखेदो खनिएको छ । नैतिकता स्वच्छता प्रभावकारिता योग्यताको सोसल मिडिया वालमा निरन्तर परिक्षण हुन थालेको छ, कुरालाई पारदर्शिताको उत्कर्षमा पुराएको छ । जो यसलाई बुझ्दैन उ सजिलै उत्तानो टांग लाग्न पर्ने परिस्थिति निर्माण गरिदिएको छ । सोसल मिडियाबाट भाग्नेहरू झन् बढी खेदाईमा पर्छन् ।”  उनले बताएका छन् ।

यता राष्ट्रिय लाेक तथा दाेहाेरीगीत प्रतिष्ठान नेपालले गीत संगीत अभिनय लगायतका अभिव्यक्तिका माध्यमबाट जनताले सरकारकाे या सावर्जनिक पदधारकहरूकाे आलाेचना गर्न पाउनुपर्ने, अभिव्यक्त स्वतन्त्रता अन्तर्गतकाे अधिकार हाे भन्ने विषयमा संस्थागत धारणा प्रष्ट पारेकाे छ । यसले वाक स्वतन्त्रता हनन नहुने भन्दै कसैबाट गीत डिजिटल प्लेटफर्ममा हटाउन आधिकारिक निवेदन नआएकाेले गायक शर्मालाइ अहिलेसम्म संस्थाले आधिकारिक अनुराेध नगरेकाे उल्लेख छ । एक अफ्ट्याराेमा सम्पूर्ण कलाकारहरू एकजुट हुने  अध्यक्ष बद्री पंगेनीद्वारा जारी विज्ञप्तिमा जनाइएकाे छ ।

संविधानमा के छ व्यवस्था ?

धारा १७. स्वतन्त्रताको हकः

(१) कानून बमोजिम बाहेक कुनै पनि व्यक्तिलाई वैयक्तिक स्वतन्त्रताबाट वञ्चित गरिने छैन ।

(२) प्रत्येक नागरिकलाई देहायको स्वतन्त्रता हुनेछः–

(क) विचार र अभिव्यक्तिको स्वतन्त्रता,
(ख) विना हातहतियार शान्तिपूर्वक भेला हुने स्वतन्त्रता,
(ग) राजनीतिक दल खोल्ने स्वतन्त्रता,
(घ) संघ र संस्था खोल्ने स्वतन्त्रता,
(ङ) नेपालको कुनै पनि भागमा आवतजावत र बसोबास गर्ने स्वतन्त्रता,
(च) नेपालको कुनै पनि भागमा पेशा, रोजगार गर्ने र उद्योग, व्यापार तथा व्यवसायको स्थापना र सञ्चालन गर्ने स्वतन्त्रता ।

तर,

(१) खण्ड (क) को कुनै कुराले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता र स्वाधीनतामा वा संघीय इकाइ वा विभिन्न जात, जाति, धर्म, सम्प्रदायबीचको सु–सम्बन्धमा खलल पर्नेे, जातीय भेदभाव वा छुवाछूतलाई दुरुत्साहन गर्ने, श्रमप्रति अवहेलना गर्ने, गाली बेइज्जती, अदालतको अवहेलना हुने, अपराध गर्न दुरुत्साहन गर्ने वा सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने कार्यमा मनासिब प्रतिबन्ध लगाउने गरी ऐन बनाउन रोक लगाएको मानिने छैन ।

(२) खण्ड (ख) को कुनै कुराले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता र स्वाधीनता, संघीयड इकाइबीचको सु–सम्बन्ध वा सार्वजनिक शान्ति र व्यवस्थामा खलल पर्ने कार्यमा मनासिब प्रतिबन्ध लगाउने गरी ऐन बनाउन रोक लगाएको मानिने छैन ।

(३) खण्ड (ग) को कुनै कुराले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता र स्वाधीनतामा खलल पर्ने, राष्ट्रको विरुद्ध जासूसी गर्ने, राष्ट्रिय गोपनीयता भंग गर्ने वा नेपालको सुरक्षामा आँच पुर्‍याउने गरी कुनै विदेशी राज्य, संगठन वा प्रतिनिधिलाई सहयोग गर्ने वा राज्यद्रोह गर्ने वा संघीय इकाइबीचको सु–सम्बन्धमा खलल पर्ने वा जातीय वा साम्प्रदायिक विद्वेष फैलाउने वा विभिन्न जात, जाति, धर्म र सम्प्रदायबीचको सु–सम्बन्धमा खलल पर्ने वा केवल जाति, भाषा, धर्म, सम्प्रदाय वा लिंगको आधारमा कुनै राजनीतिक दलको सदस्यता प्राप्त गर्ने वा बन्देज लगाउने वा नागरिकहरूबीच विभेद गर्ने गरी राजनीतिक दल गठन गर्ने, हिंसात्मक कार्य गर्न दुरुत्साहन गर्ने वा सार्वजनिक नैतिकताको प्रतिकूल हुने कार्र्यमा मनासिब प्रतिबन्ध लगाउने गरी ऐन बनाउन रोक लगाएको मानिने छैन ।

(४) खण्ड (घ) को कुनै कुराले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता र स्वाधीनतामा खलल पर्ने, राष्ट्रको विरुद्ध जासूसी गर्ने, राष्ट्रिय गोपनीयता भंग गर्ने वा नेपालको सुरक्षामा आँच पुर्‍याउने गरी कुनै विदेशी राज्य, संगठन वा प्रतिनिधिलाई सहयोग गर्ने, राज्यद्रोह गर्ने वा संघीय इकाइबीचको सु–सम्बन्धमा खलल पर्ने वा जातीय वा साम्प्रदायिक विद्वेष फैलाउने वा विभिन्न जात, जाति, धर्म र सम्प्रदायबीचको सु–सम्बन्धमा खलल पर्ने वा हिंसात्मक कार्य गर्न दुरुत्साहन गर्ने वा सार्वजनिक नैतिकताको प्रतिकूल हुने कार्यमा मनासिब प्रतिबन्ध लगाउने गरी ऐन बनाउन रोक लगाएको मानिने छैन ।

(५) खण्ड (ङ) को कुनै कुराले सर्वसाधारण जनताको हित वा संघीय इकाइबीचको सु–सम्बन्ध वा विभिन्न जात, जाति, धर्म वा सम्प्रदायहरूका बीचको सु–सम्बन्धमा खलल पर्ने वा हिंसात्मक कार्य गर्ने वा त्यस्तो कार्य गर्न दुरुत्साहन गर्ने कार्यमा मनासिब प्रतिबन्ध लगाउने गरी ऐन बनाउन रोक लगाएको मानिने छैन ।

(६) खण्ड (च) को कुनै कुराले संघीय इकाइबीचको सु– सम्बन्धमा खलल पुर्‍याउने कार्य वा सर्वसाधारण जनताको सार्वजनिक स्वास्थ्य, शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने कार्यमा रोक लगाउने वा कुनै खास उद्योग, व्यापार वा सेवा राज्यले मात्र सञ्चालन गर्न पाउने वा कुनै पेशा, रोजगार, उद्योग, व्यापार वा व्यवसाय गर्नका लागि कुनै शर्त वा योग्यता तोक्ने गरी ऐन बनाउन रोक लगाएको मानिने छैन ।

धारा १९. सञ्चारको हकः

(१) विद्युतीय प्रकाशन, प्रसारण तथा छापा लगायतका जुनसुकै माध्यमबाट कुनै समाचार, सम्पादकीय, लेख, रचना वा अन्य कुनै पाठ्य, श्रव्य, श्रव्यदृश्य सामग्रीको प्रकाशन तथा प्रसारण गर्न वा सूचना प्रवाह गर्न वा छाप्न पूर्व प्रतिबन्ध लगाइने छैन ।

तर नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता वा संघीय इकाइबीचको सु–सम्बन्ध वा विभिन्न जात, जाति, धर्म वा सम्प्रदाय बीचको सु–सम्बन्धमा खलल पर्ने, राज्यद्रोह, गाली बेइज्जती वा अदालतको अवहेलना हुने वा अपराध गर्न दुरुत्साहन गर्ने वा सार्वजनिक शिष्टाचार, नैतिकताको प्रतिकूल कार्य गर्ने, श्रमप्रति अवहेलना गर्ने र जातीय छुवाछूत एवं लैंगिक भेदभावलाई दुरुत्साहन गर्ने कार्यमा मनासिब प्रतिबन्ध लगाउने गरी ऐन बनाउन रोक लगाएको मानिने छैन ।

(२) कुनै श्रव्य, श्रव्यदृश्य वा विद्युतीय उपकरणको माध्यम वा छापाखानाबाट कुनै समाचार, लेख, सम्पादकीय, रचना, सूचना वा अन्य कुनै सामग्री मुद्रण वा प्रकाशन, प्रसारण गरे वा छापे बापत त्यस्तो सामग्री प्रकाशन, प्रसारण गर्ने वा छाप्ने रेडियो, टेलिभिजन, अनलाइन वा अन्य कुनै किसिमको डिजिटल वा विद्युतीय उपकरण, छापा वा अन्य सञ्चार माध्यमलाई बन्द, जफत वा दर्ता खारेज वा त्यस्तो सामग्री जफत गरिने छैन ।

तर यस उपधारामा लेखिएको कुनै कुराले रेडियो, टेलिभिजन, अनलाइन वा अन्य कुनै किसिमको डिजिटल वा विद्युतीय उपकरण, छापाखाना वा अन्य सञ्चार माध्यमको नियमन गर्न ऐन बनाउन बन्देज लगाएको मानिने छैन ।

(३) कानून बमोजिम बाहेक कुनै छापा, विद्युतीय प्रसारण तथा टेलिफोन लगायतका सञ्चार साधनलाई अवरुद्ध गरिने छैन ।

सरकारकाे हवाला दिँदै बन्द गर्न लगाएको भनिएकाे पशुपति शर्माको गीतको लिरिक्स यस्तो छ 
हाम्रा गाउँको एउटा भाई थाई शिक्षकमा लड्यो 
थाई शिक्षक हुन्छु भनी पढनुसम्म पढयो
बल्ल-बल्ल नाम निकाल्यो अहिले जागिर खान्छ
तेस्कै छोरो पढ्न फेरि बोर्डिङतिर जान्छ
लुट्न सके लुट कान्छा लुट्न सके लुट
अरु देशमा पाईंदैन नेपाल मै हो छुट ।
डाक्टरले नि जागिर यहाँ सरकारी कोटामा खान्छ
बिरामी जाँच्न फेरि क्लिनिकतिर तान्छ 
हाम्रा गाउँको अर्को भाईले सुब्बामा जागिर खायो
दुई वर्षमै घर ठड्यायो काँ'बार पैसो आयो 
लुट्न सके लुट कान्छा लुट सके लुट
अरु देशमा पाईदैन नेपाल मै हो छुट ।
गणतन्त्र ल्यायेम भन्छम फालेम भन्छन राजा 
तै फालेका राजा जस्ता कैयौं निस्के आज
जनताको मुटुभित्र काँडा कति-कति !
डेढ अर्बको हेलिकप्टर चढ्छन राष्ट्रपति
लुट्न सके लुट कान्छा लुट सके लुट
अरु देशमा पाईदैन नेपाल मै हो छुट ।
वाइडबडी जहाज किने अरे लुट्नुसम्म लुटे 
सुनकाण्ड खै कहाँ पुग्यो जेल मै छन कि छुटे
ठूलै नेता भ्रष्टाचारी न डराउँछन्-लुक्छन्
कार्याकर्ता कै बुझ्दैनन्, कुकुर जस्तै भुक्छन् 
लुट्न सके लुट कान्छा लुट सके लुट
अरु देशमा पाईदैन नेपाल मै हो छुट ।
हजुर बा नि यसै मरे बाउ नि यसै मर्छन् 
हाम्रो पनि त्यै हो गति बिकास कैले गर्छन्
गर्ने काम केहि हैन ठूला-ठूला भाषन 
स्वर्ग जस्तो देशमा हजुर यमराजको शासन
लुट्न सके लुट कान्छा लुट सके लुट
अरु देशमा पाईदैन नेपाल मै हो छुट ।
सडकतिर त्यस्तै जात्रा ट्राफिक लाइट छैन
ट्राफिक पुलिस सिट्टी फुक्छ कोइले सुन्ने हैन
तेति जाबो ट्राफिक लाइटलाई कति लाउँछ खर्छ ?
हाम्ले भन्न पर्ने हो कि आफैं बुझ्न पर्छ 
लुट्न सके लुट कान्छा लुट सके लुट
अरु देशमा पाईदैन नेपाल मै हो छुट ।
ठेक्दारले नि टेण्डर पार्छ लिन्छ ठेक्कापट्टा
झनै बिजोक पार्छ, छोड्छ काम भ्याउनुको सट्टा
यता गयो लुटेकैछन लुट्छन उता गयो
सबजनालाई लुट्नै पर्छ भन्ने मात्रै भयो 
लुट्न सके लुट कान्छा लुट सके लुट
अरु देशमा पाईदैन नेपाल मै हो छुट ।
ल्याङलुङ गर्ने हल्ला गर्ने ठूला मान्छे बन्छन्
तँलाई सोझो भन्दैनन भाई नामर्द हो भन्छन
अब गर्न छोड्दे कान्छा आदर्शको खेती 
केहि न केहि त बुझिस होला भने पछि यति
लुट्न सके लुट कान्छा लुट सके लुट
अरु देशमा पाईदैन नेपाल मै हो छुट।
(शब्द/सङ्गीत-स्वरः पशुपति शर्मा)

शर्माका कतिपय शब्दहरु उपयुक्त चयन नभएको कतिपयको ठम्याइ छ । शर्माको गीतको सार हाम्रो समाजको यथार्थसँग जोडिएको पनि छ । नेपालको सरकार साथै शासनमा बसेका र सत्तामा जान चाहनेहरुले औषधिको रुपमा ग्रहण गर्नुपर्दछ भन्ने तर्क पनि आएको छ । गीतकारलाई तर्साउन हुदैन । पाईंदैन भन्नेहरू पनि छन् । गीतले नेपालको हालको परिस्थितिलाई छर्लङ्ग उजागर गरेको छ । देश स्थिरतातिर सरकार लम्किँदै गएको भनिए पनि शर्मा जस्ता कयौंलाई चरम निराशाले छोपेको छ ।

सरकार व्यक्तिलाई शत्रु ठानिरहेछ । सुदृढ लोकतन्त्रका केही आधार हुन्छन् । ती आधारमा मुख्यतया सत्ताले विपक्षीको आवाजको कदर गर्नु, विधिको पालना गर्नु, लेख्न–बोल्न पाउने अधिकारको रक्षा गर्नु तथा दण्डहीनताको अन्त्य गर्नु पर्छन् । लोकतन्त्रमा देशको नीति–नियमभन्दा माथि कोही पनि हुँदैनन् । यस्ता आधार तथा नागरिकको मौलिक हकको रक्षा गर्न नसक्दा लोकतन्त्र सीमित व्यक्ति वा समूहका पेवाजस्तो हुन पुग्छ । मुलुकमा अराजक गतिविधि मौलाउन थाल्छ, कानुनी शासनको धज्जी उड्छ र दण्डहीनताले प्रश्रय पाउँछ । अहिले मुलुकमा झण्डै यही अवस्थाको आभास हुन थालेको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत