निर्माण

समय, खर्च र आशामाथि तुषारोपात्

‘मेलम्ची’ झनै अन्यौल बन्दै

काठमाडौँ । इटालियन कम्पनी सीएमसीले अलपत्र पारेको राष्ट्रिय गौरवको आयोजना ‘मेलम्ची आयोजना’ मा लागत, समय र अन्यौलता अझ थप हुने देखिएको छ ।

करिब २६ वर्षदेखि सो आयोजनाको पानी काठमाडौँमा आउला र त्यसलाई प्रयोग गरौँला भनेर प्रतिक्षामा रहेका नागरिकलाई सो आयोजनामा ढिलाई हुँदा सबैभन्दा बढी समस्या त परेकै छ, त्योभन्दा बढी समस्या सरकार र राष्ट्रलाई पर्ने भएको छ ।

सरकारले सीएमसीलाई १४ दिनभित्र आयोजनामा फर्किने कि नफर्किने भनेर दिएको समय सकिन अब केही दिनमात्रै बाँकी रहेको बेला आयोजनाको आगामी बाटो के हुने भन्ने बारेमा पनि विभिन्न अन्योलता देखिएको छ ।

आयोजनामा यसअघि पनि चिनियाँ कम्पनीसँग ठेक्का तोडेर इटालीको कम्पनीलाई जिम्मा दिइएको हो । इटालीको कम्पनी आर्थिक रुपमा टाट पल्टेको भन्दै कामबाट हात झिक्न खोजेको छ । यसै सन्दर्भमा खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुरले उपयुक्त विकल्पका बारेमा मन्त्रिपरिषद्ले आवश्यक निर्णय गर्ने बताएका छन् । 

आयोजनामा हालसम्म करिब २७ अर्ब ७६ करोड रुपैयाँबराबरको लगानी भइसकेको छ । मेलम्ची आयोजनाको काम लम्बिँदै जाँदा आयोजनाको लागत समेत बढ्ने देखिएको छ । सीएमसीले आयोजना छोडेको अवस्थामा सो आयोजनाको लागत नयाँ प्रक्रियाबाट शुरु गर्दा थप तीन देखि ४ अर्बसम्म बढ्ने अनुमान उनीहरूले गरेका छन् ।

मेलम्चीको ठेकेदार पुनः काम गर्न आउला भन्ने आशा सबैलाई भइरहेका बेला खानेपानी सचिव गजेन्द्र ठाकुरले एकाएक उसको धरौटी जफत गरेका थिए । नेपाल इन्भेस्टमेन्ट बैंक र स्ट्यान्डर्ड चाटर्ड बैंकमा रहेको ठेकेदारको खाताबाट १९ पौष बिहिबार ठाकुरले ९५ करोड रुपैयाँ झिकी सरकारी खातामा जम्मा गराएका थिए । सचिव ठाकुरको यो कार्यले मेलम्ची झन अन्योलतातर्फ धकेलिएको थियो ।

साढे दुई दशकभन्दा अघिदेखि निर्माणको चर्चा भएको मेलम्ची आयोजनाबारे देखिएको पछिल्लो समस्याले यसको भविष्य अन्योलमा पर्ने शङ्का उब्जिरहेका बेला मन्त्रालयले भने तोकिएकै समयसीमामा काम सम्पन्न गर्ने दाबी गरिरहेको छ ।

पहिले पनि चिनियाँ ठेकेदार कम्पनीले यसैगरी उक्त आयोजना छाडेको थियो । अहिलेको ठेकेदार कम्पनीले भूकम्प, नाकाबन्दीलगायतका कारण देखाउँदै गत जेठमा पनि काम अवरूद्ध पारेको थियो । सरकारले धरौटी जफत गरेर आयोजना अघि बढाएपनि हालको ठेकेदारसँग कानुनी लडाइँ भने जारी रहनसक्ने विज्ञहरूले बताउँदै आइरहेका छन् ।

सन् २००१ मा सुरु भएर २००६ मा सम्पन्न हुनुपर्ने मेलम्ची खानेपानी आयोजना अहिलेसम्म पनि पूरा हुन सकेको छैन । सबैका बोली मिठा भएपनि यो आयोजनामा छल बाहेक केही देखिएको छैन । यो गतिविधिबाट प्रष्ट हुन्छ कि मेलम्चीको पानी काठमाडौँ आउन अझै कति समय लाग्छ भने विषयमा अन्योल कायम रहँदा डिप ट्युबवेलमा अनावश्यक रूपमा करोडौँ रुपैयाँ खर्च गरिरहेको छ केयुकेएल । 

बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौँमा ल्याउने सपना देखाउन थालिएको आर्थिक वर्ष २०५५/५६ मा आयोजना शुरू भएपछि हो । यसबीचमा दर्जनौं सरकार फेरिए । सरकार फेरिएसँगै सबैका बोली "अहिले झर्छ, भरे झर्छ" भन्ने मै सीमित रहे तर, मेलम्चीको पानी खाने काठमाडौँबासीको मनोकाङ्क्षा भने अझै पूरा हुन सकेको छैन । 

यो कछुवाको गतिले राष्ट्रलाई आर्थिक भारमात्र होइन विकासमा राष्ट्रले कस्तो प्रगति गर्दैछ र के सिकाउँदैछ ? स्पष्ट हुन्छ ।

गाउँ सहर डेस्क

तपाईँको मत