पूर्वाधार

सामुदायिक भवनमा रक्सी भट्टी ! त्रिपालमुनी सुत्केरी सेवा, जनप्रतिनिधि भन्छन् : ‘हटाउनै सकिएन’

  • ९ माघ बुधबार, २०७५ | १२:१८:०० मा प्रकाशित

रामेछाप । रामेछापको सुनापती गाउँपालिकास्थित स्वास्थ्य संस्थाकै एउटै आँगन भएकाे सामुदायिक भवनमा रक्सी भट्टी सञ्चालन हुन्छ भन्दा अचम्म लाग्न सक्छ । तर लामो समयदेखि त्यहि नै भइरहेको छ । 

सुनापती गाउँपालिका वडा नं.-२ दिमिपोखरीस्थित उप-स्वास्थ्य चौकी भवन र वडा कार्यालयकै आँगनमा रहेको सामुदायिक भवनमा खुलेआम भट्टी पसल चल्दा स्थानीय मर्कामा परेका हुन् । 

स्वास्थ्यचौकी जाँदा पनि स्थानीयहरु व्यङ्ग्य गर्दै 'स्वास्थ्यसेवा कि रक्सी भट्टी सेवा' भनेर प्रश्न गर्छन्, एक स्थानीयले भने । एउटै ठाउँमा स्वास्थ्य सेवा र भट्टी सञ्चालन हुँदा बिरामी र स्थानीय दिक्क छन् । उप-स्वास्थ्य चौकी र वडा कार्यालयको आँगनमै वर्षाैदेखि भट्टी पसल चल्दा स्थानीय निकाय र प्रशासनले कुनै मतलब नगरेको पीडित र स्थानीयले गुनासो गरेका छन् । 

किराना पसलका लागि भन्दै धावा घिसिङ लामाले ३ वटा कोठामा वर्षाैदेखि भट्टी पसल चलाएका हुन् । वडा नं.-२ का वडा अध्यक्ष कमलबहादुर केसीले स्वास्थ्य चौकीको आँगनमा भट्टी पसल चलिरहेको स्वीकार गर्दै गाउँलेले गुनासोसमेत गरेको पनि बताए ।

यस विषयमा सुनापती गाउँपालिका अध्यक्ष धावा लामासँग जिज्ञासा राख्दा आफूले कसैगरे पनि भट्टी पसल हटाउन नसकेको भन्दै लाचारी व्यक्त गरे । वर्थिङ सेन्टर पालमा चलाएर स्वास्थ्यचौकीको आँगनको सामुदायिक भवनका ३ वटा कोठा ओगटेर बसेको भट्टी पसल हटाउन आफूले प्रहरी, प्रशासनलाई पटक-पटक भनेपनि नसकेको अध्यक्ष लामाले बताए ।

नाता र विभिन्न कारणले स्वास्थ्यचौकीको आँगनमा रहेको भट्टी पसल हटाउन नसकेको भन्दै अध्यक्ष लामाले प्रशासनलाई खबरदारी गरिदिन सञ्चारमाध्यमलाई नै आग्रह गरे ।

रामेछापका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले विद्यालय, स्वास्थ्यचौकी जस्ता कार्यालय वरपर नै मदिराजन्य होटल खोल्न नपाइने भन्दै यस्तो गैरकार्य रोक्ने बताए । दिमीपोखरीको स्वास्थ्य चौकीको आँगनमा भट्टी पसल रहेको आफूलाई थाहा नभएको भन्दै उनले त्यस्तो पाइए तत्कालै सो पसल हटाउन प्रशासन लागिपर्ने प्रतिवद्धता जनाए । (यो समाचार रामेछापबाट निगरानी समूहले तयार पारेको हो ।)
 

तपाईँको मत