पत्र-पत्रिकाबाट

सुमार्गीको रकम फर्काउन राष्ट्र बैंकको आलटाल

निकासा दिन हतारो, रोक्का गर्न उदासीन 

  • ९ माघ बुधबार, २०७५ | ०७:२५:०० मा प्रकाशित
फाइल फाेटाे

काठमाडौँ । व्यापारी अजेयराज सुमार्गीको शंकास्पद विदेशी लगानी रकम फिर्त्याउन सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयनमा राष्ट्र बैंकले आलटाल गरेको छ । सर्वोच्चले आदेश दिएको दुई साता बितिसके पनि राष्ट्र बैंकले उनको खाता रोक्का नगरी पत्राचारको काम मात्र गरिरहेको छ । 

पछिल्लो पटक राष्ट्र बैंकले मंगलबार इन्भेस्टमेन्ट बैंकबाट रकम सारिएका तीन बैंकहरूलाई पत्राचार गरेको छ। रकम भने ती बैंकबाट पनि अन्तै सारिइसकेको आशंका राष्ट्र बैंककै अधिकारीहरूको छ। यसबारे बुझ्न खोज्दा गभर्नर चिरञ्जीवी नेपाल र राष्ट्र बैंकका अन्य अधिकारीहरूले प्रतिक्रिया दिन मानेनन्। 

राष्ट्र बैंकले ‘सुमार्गीको खाता नरोक्नू’ भन्ने सर्वोच्च अदालतको अघिल्लो अन्तरिम आदेशको भोलिपल्टै रकम निकासाको अनुमति दिएको थियो। तर सर्वोच्चले आफ्नो अन्तरिम आदेश सच्याउँदै उनको मुक्तिश्री सिमेन्टमा निकासा भइसकेको रकम पहिलेकै अवस्थामा ल्याउन पुस २४ गते दिएको अर्को आदेश भने अझै कार्यान्वयन भएको छैन। 

राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले सुमार्गीले रकम सारिसकेका अन्य बैंकलाई फित्र्याउन पत्राचार गरेको मात्र जानकारी दिए। सुमार्गीले इन्भेस्टमेन्ट बैंकमा रहेको ७५ मिलियन अमेरिकी डलर ९करिब ८४ करोड रुपैयाँ० मध्ये १० करोड रुपैयाँ महालक्ष्मी विकास बैंक, २५ करोड रुपैयाँ नेपाल बंगलादेश बैंक र २० करोड प्राइम कमर्सियल बैंकमा सारेका थिए। बाँकी रकम इन्भेस्टमेन्ट बैंकमै छ। चार बैंकमा रहेको यो रकममध्ये उनले केही ऋण भुक्तानीका लागि प्रयोग गरिसकेका छन्। 

‘सर्वोच्चको आदेशअनुसार पैसा पूर्ववत् अवस्थामा राख्नका लागि यी तीन बैंकलाई निर्देशन दिएका हौं,’ पौडेलले भने, ‘अब ती बैंकहरूले पैसा फिर्ता गर्नुपर्छ।’ 

तर बैंकिङ क्षेत्रकै कानुनविद्हरू पत्राचार आदानप्रदानमा अल्मलिएर राष्ट्र बैंकको आलटाल गरिरहेको बताउँछन्। ‘जुन बैंकलाई पत्राचार गरिएको हो, त्यसबाट पनि सुमार्गीले रकम सारिसकेका हुन सक्छन्,’ एक कानुनविद्ले भने, ‘बैंकहरूबाट विवरण मगाएर राष्ट्र बैंकले केही घण्टामै खाता रोक्का राख्न सक्ने अधिकार प्रयोग नगरी पत्राचारमै समय गुजारिरहनु शंकास्पद छ। यो प्रक्रियाबाट रकम फिर्ता हुन कठिन छ।’ 

राष्ट्र बैंकले चरणबद्ध रूपमा निर्देशन मात्र जारी गरिरहँदा रकम फिर्ता आउने सम्भावना न्यून हुँदै जाने ती अधिकारीले बताए। ‘राष्ट्र बैंकले मंगलबार तीन बैंकलाई पत्र पठायो, ती बैंकले पैसा हामीसँग छैन, यी बैंकमा गएको छ भनेर उत्तर पठाउँछन्, त्यसपछि फेरि अरू बैंकलाई पत्र काट्छ,’ उनले भने, ‘यसरी प्रक्रिया लम्बाउनुको साटो राष्ट्र बैंकले एकै पटक सबै कारोबार अध्ययन गरी पैसा फिर्ताको पहल गर्नुपथ्र्यो।’ राष्ट्र बैंकको कामकारबाहीले शंका उत्पन्न गरेको उनले दाबी गरे। 

सुमार्गीका विभिन्न कम्पनीहरूमा आएको विदेशी लगानी ५ वर्षदेखि विवादमा छ। मुक्तिश्री सिमेन्टका नाममा आएको उनको वैदेशिक लगानीको रकम स्रोत नखुलेको भनी राष्ट्र बैंकले त्यतिबेलैदेखि खाता रोक्का राखेको थियो। गत पुस १० गते न्यायाधीश दीपकराज जोशीको एकल इजलासको आदेशले उक्त रकम खुला गरिदियो। राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपाल, विदेशी विनिमय विभाग, खाता रहेको नेपाल इन्भेस्टमेन्ट बैंकका अधिकारी र सुमार्गीबीचको मिलेमतोमा उक्त आदेशको भोलिपल्ट नै रकम निकासा भएको थियो। 

सर्वोच्चले गत पुस २६ गते अघिल्लो अन्तरिम आदेश खारेज गर्दै सुमार्गीको निकासा भइसकेको रकम पहिलेकै अवस्थामा ल्याउन अर्को आदेश जारी गरेको थियो। यो आदेश जारी भएपछि राष्ट्र बैंकले इन्भेस्टमेन्ट बैंकलाई रकम फिर्ता गर्नु भन्ने निर्देशन दियो। इन्भेस्टमेन्ट बैंकले आफ्नोमा रहेको सुमार्गीको खाता बन्द पनि गर्‍यो। 

अन्य बैंकलाई सर्वोच्चको आदेश र राष्ट्र बैंकको निर्देशन देखाउँदै पैसा फिर्ता गरिदिन आग्रह गर्‍यो। ती बैंकले इन्भेस्टमेन्ट बैंकको आग्रह मानेनन्। यो विवरणसहितको प्रतिउत्तर इन्भेस्टमेन्ट बैंकले राष्ट्र बैंकलाई पठायो। त्यसको एक सातापछि बल्ल राष्ट्र बैंकले रकम राखिएको भनिएका तीन बैंकहरूलाई रकम फिर्ता गरिदिनू भन्ने पत्राचार गरेको हो। सर्वोच्चको आदेश पालना गर्नु कर्तव्य भएकाले पैसा जम्मा भएको बैंकलाई नै पत्राचार गरेको प्रवक्ता पौडेलले बताए। 

अर्थमन्त्री युवराज खतिवडाले सुमार्गीको रकम भएका बैंकहरूको खाता रोक्का राख्नू भन्ने निर्देशन दिएका थिए। अर्थ मन्त्रालयले सुमार्गीको रकम अघिल्लो पटक हतारमा निकासा दिने गभर्नर नेपाल र राष्ट्र बैंकका अधिकारीहरूमाथि छानविन गरिरहेको छ। 
‘मैले अदालतको निर्णयको आधिकारिक कागजात नपाई भुक्तानीमा किन हतार गरेकोरु भनिसकेको छु,’ आइतबार बिहान कान्तिपुरसँग कुरा गर्दै अर्थमन्त्री खतिवडाले भने, ‘हतारोसँग भुक्तानी दिने अधिकारीहरूमाथि छानबिन गरिरहेका छौं।’ सुमार्गीले निकासा गरिसकेको रकम जुनै बैंकमा सारिए पनि खाता रोक्का गर्नू भन्ने निर्देशन दिएको उनले बताए। तर राष्ट्र बैंकले रकम फित्र्याउने वा खाता रोक्ने काम गरेको छैन। 

यसअघि पनि सुमार्गीले नेपाल स्याटेलाइट टेलिकमका नाममा राखेर रोक्का रहेको करिब २ अर्ब २० करोड रुपैयाँ सर्वोच्चको अन्तरिम आदेशबाट फुकुवा भइसकेको छ। मुद्दा भने अझै सर्वोच्चमा विचाराधीन छ। राष्ट्र बैंकले रोकिदिएको विदेशी लगानीको पूरै रकम सर्वोच्चका विगतका आदेशहरूले फुकुवा भइसकेको छ। सुमार्गीले हालसम्म करिब १२ अर्ब रुपैयाँ विदेशी लगानी भन्दै भित्र्याइसकेका छन्। 

टयाक्स हेवन मुलुकहरू ब्रिटिस भर्जिन आइल्यान्ड्स, साइप्रसमा आफ्नै नाममा कम्पनी खोली विदेशी लगानी भन्दै उनले रकम भित्र्याउने गरेका हुन्। उक्त रकम भित्र्याउँदा विदेशी लगानीका नियामक निकाय उद्योग विभाग र लगानी बोर्डबाट अनुमति लिएका छैनन्। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको प्रारम्भिक अध्ययनले सुमार्गीको रकमलाई अवैध भन्ने निष्कर्ष निकालेको छ। पाँच अनुसन्धान अधिकृत नियुक्त गरी सुमार्गीमाथि विस्तृत अनुसन्धान भइरहेको विभागले जनाएको छ।  कान्तिपुर दैनिकबाट

तपाईँको मत