गाउँ सहर

उपभोक्तालाई ठगी गर्ने छ पेट्रोलपम्प सञ्चालकलाई कारवाही

  • ८ माघ मंगलबार, २०७५ | १५:५२:०० मा प्रकाशित

वीरगञ्ज । गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय पर्साले बाराका ६ पेट्रोलपम्प सञ्चालकलाई कारवाही गरेको छ ।

कम परिमाणको तेल बिक्री गरी उपभोक्तालाई ठगी गरेको भन्दै पेट्रोलपम्प सञ्चालकलाई कारवाही गरिएको हो । 

नापतौल ऐन २०२५ को दफा ३० को १ बमोजिम ती पेट्रोलपम्प सञ्चालकलाई १० दिनदेखि तीन महीनासम्मको कैद सजाय तथा रु १० हजारसम्म जरिवाना गरिएको कार्यालयका सूचना अधिकारी रजनिश झाले जानकारी दिए ।

गत असोजमा क्षेत्रीय प्रमुख शशीभूषण यादव, जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयको टोलीले अनुगमनका क्रममा ती पेट्रोलपम्पका सञ्चालकले उपभोक्तालाई ठगी गरेको भेटिएको थियो । 

कारवाहीमा परेका पेट्रोलपम्प सञ्चालकमा कलैया नगरपालिका–१३ स्थित विजय आयल स्टोरका सिन्दुका देवी, कलैया–१४ स्थित मोहमद आयल स्टोरका गीतादेवी साह, कलैया बधवनस्थित शिवशङ्कर ट्रेडर्सका किशोरी साह कलवार, गढीमाई– ४ स्थित हरिओम आयल स्टोरका रीतादेवी कलवार, बारा गङ्जभवानीपुरस्थित जयकिशन आयल स्टोरका बच्चुप्रसाद जैसवाल र सिमरास्थित बाबा आयल स्टोरका पञ्कजकुमार गुप्ता रहेका छन् ।

तपाईँको मत