विश्व

जहाजमा आगलागी, १४ जनाको मृत्यु

  • ८ माघ मंगलबार, २०७५ | १४:४१:०० मा प्रकाशित

कीभ ।  क्रिमियाको तटीय क्षेत्रमा ग्याँस ट्याँकर बोकेको पानी जहाजमा आगलागी हुँदा चौध जनाको मृत्यु हुनुका साथै पाँच जना हराइरहेका छन् ।

तान्जानियाको झण्डा रहेको उक्त ग्यास ट्याँकरयुक्त पानी जहाज कृष्ण सागर (ब्लाक सी) मा दुर्घटनामा परेको अधिकारीहरुले बताएका छन् । 

रुसको सङ्घीय जल यातायात निकायका प्रवक्ता अलेक्सी क्राभचेन्कोले ११ जनाको शब समुद्रबाट निकालिएको बताए । उनले उद्धारकर्मीहरुले अरु तीन जनाको शब देखेका तर तिनीहरु पानीमा डुबेको जानकारी पनि दिए । 

क्यान्डी र मेइस्ट्रो नामका दुईवटा पानी जहाजमा चालक दलका सदस्यहरु भारत र टर्कीका नागरिकहरु रहेको बताइएको छ । 

क्यान्डीमा १७ जना चालक दलका सदस्यहरु थिए भने मेइस्ट्रोमा १४ जना सवार थिए । क्राभचेन्कोले १२ जनालाई जीवितै उद्धार गरिएको जानकारी दिए । बेपत्ता रहेका अरु पाँच जनाका बारेमा थाहा हुन सकेको छैन । 

एउटा जहाजबाट अर्को जहाजमा तेल भर्ने क्रममा अचानक आगो लागेको थियो । जहाजमा आगलागी शुरु हुनासाथ चालक दलका सदस्यहरु पानीमा हामफालेका थिए । क्राभचेन्कोले खोज तथा उद्धार कार्य जारी रहेको बताए । 

उक्त दुर्घटना कृष्ण सागरको कर्च स्ट्रेट नजिक भएको थियो । गत वर्षदेखि उक्त स्थान रुस र युक्रेनको विवादको केन्द्रमा रहेको छ । गत वर्ष नोभेम्बरमा रुसले कर्च स्ट्रेटमा तीनवटा युक्रेनी नौसैनिक जहाज सैनिक हस्तक्षेप गरी जबर्जस्ती नियन्त्रणमा लिएको थियो । एएफपी

तपाईँको मत