सेवा

“बीमा अभिकर्ता/व्यवस्थापककाे क्षणिक बहकावमा एकोहोरो नबनौँ”

बहन गर्ने क्षमतामा ध्यान दिएर बीमा गराैँ

काठमाडौँ । वर्षको एकपटक, एक दिन त समस्या हो नी, त्यसपछि त बीमा कम्पनीबाटै ऋण पाइन्छ भन्दै अभिकर्ताको बहकावमा ठूलो रकमको जीवन बीमा गर्दैहुनुहुन्छ ? सावधान तपाईंको त्यो निर्णय जोखिम न्यूनिकरण होइन बढाउने हुन सक्छ ।

घटना—एक
जोरपाटी काठमाडौँका एक प्रविधि विज्ञ रोशन न्यौपानेले भने, ‘म त एक करोडको बीमा गर्ने सोच बनाउँदैछु । वर्षमा करिब ८ लाख जति किस्ता पर्नेरैछ, एकदिन जहाँबाट पनि व्यवस्थापन गरौँला । त्यो दिन तनाब नै लिउँला भनेर म तयार भएको छु ।’ 

बीमा अभिकर्ता अर्थात (एजेन्ट) ले भन्यो न्यौपाने तयार भए बीमा गर्न । जोखिम व्यवस्थापन हुन्छ भन्दै आफैँ जोखिमको बाटोको लागि तयार बने न्यौपाने । कमाई होला, उनले तिर्न सक्लान, तर कमाई नहुँदा जोखिम मोलेर संकलन गरेको रकमले उनको जीवन सुरक्षा हुन्छ कि जोखिम ! त्यो उनले सोचेनन् । अभिकर्ताले भन्दै गयो, एक वर्ष हो त्यसपछि त त्यहिँ ऋण लिने त्यहिँ तिर्ने ! यही शब्दका कारण न्यौपाने तयार भएका रहेछन् ।

घटना—दुई
रामेछापका प्रेम खड्का वर्षको एकदिन दुःख गर्ने बाचासहित बिस लाखको बीमा गरे । दुईकिस्ता तिरेर उनले रकम फिर्ता गरे । करिब २५ हजार जति चुना लगाए । किनकी रकम निकाल्दा निश्चित प्रतिशत काटिन्छ ।

घटना—तीन
झापाका हरि भट्टराईले दुईवटा जीवन बीमा कम्पनीमा बीमा गरे । एउटामा आफ्नो अनि अर्कोमा छोराको । लहलहैमा दुइवटा बीमा त किने तर केही वर्षको अन्तरालमै उनी थचक्क थच्किए । दुबैको किस्ता तिर्ने उनीसँग आय भएन र ऋण खोज्दै हिँडे । एउटाको कसो कसो उम्काए फेरी अर्को बीमा कम्पनीको तनावले हिँडेको कुरा गर्छन् ।

उनले बहकाव र क्षणिक पैसाको भरमा बीमा भार हुने बताउँदै थिए । यदी उनले एउटामात्रै बीमा सञ्चालन गरेको भए समस्या नआउने भन्दैथिए ।

घटना—चार
हुन त समाजमा परेपछि थुक्क बुद्धि भन्ने उदाहरणहरु नदेखिएको होइन । बीमा जोखिम बहन गर्ने साधन हो । तर यति हुँदा हुँदै पनि जोखिमको मामलामा अत्यधिक व्यवसायिक हुँदै जाँदा दबाव झेलेको पर्वत भण्डारीले बताए ।

घटना—पाँच
बीमा कम्पनीका अभिकर्ता, इकाइ व्यवस्थापक र व्यवस्थापकहरुले दैनिक गर्ने फोन, इमेल, पोस्टकार्ड र भेटमा गरेका कुराहरुले कुनैपनि ग्राहक नलोभिइने अवस्था रहेन । यही सम्पर्कमा बीमा गरिहाल्ने अवस्थाले पनि बीमाको अवधी नपुग्ने, चाँडै ऋणी हुनुपर्ने र दबाव झेल्नुपर्ने अवस्था आएको जीवन घोरसाइनेको पीडा छ । उनी भन्छन्, ‘एकै अभिकर्ता विभिन्न बीमा कम्पनीमा काम गर्दा एउटामाथि अर्को पोलिसी थपिदिँदा अहिले गाह्रो भएको छ ।’

यी प्रतिनिधि पात्रले कुल जनसंख्यालाई नसमेट्न सक्छ । तर सत्य यहि हो की सक्ने बीमाको अपरिहार्यतालाई नकार्न सकिँदैन तर बहकाव भन्दापनि क्षमतानुसारको बीमा आजको आवश्यकता हाे ।  

अहिले नेपालमा बीमा कम्पनीको संख्या ३९ पुगेको छ । ती कम्पनीको स्वामित्व संरचनाको आधारमा १८ जीवन बीमा, २० निर्जीवन बीमा र १ कम्पनीले पुनर्बीमा व्यवसाय सञ्चालन गर्दै आएका छन् । हाम्रो समाजमा भन्ने गरिएको पनि छ, ‘धन होइन, मन चाहिन्छ’ ठिक त्यस्तै बीमा जसरी पनि गर्नुपर्छ भन्ने भावना लिनसके दुबै फाइदाबाट हामी जीवनको जोखिम कम गर्न सक्छौँ । तर उच्किएर वा बहकावमा लागेर ठूलो रकमको बीमा गर्दा तपाईंले सावधानी अपनाउनै पर्छ ।

जीवन अमूल्य रहेको अब कसैलाई व्याख्या गर्नु जरुरी छैन । तर, हेलचेक्र्याइँमा हामी जीवनको गुणात्मकतालाई बेला बखत लत्याइरहेका हुन्छौँ । संघर्षको दौरानमा जीवनका कयौँ आयामहरुलाई हामी खेलाँची गरिरहेका हुन्छौँ । त्यो समयमा बुझपचाए झैँ महत्वपूर्ण जीवन सुरक्षा कवचलाई पर पर सारिरहेका हुन्छौँ । अनि जब पर्छ त्यो समयमा पछुतो गर्ने हाम्रो परम्परा नै बनिसक्यो । परेको बेला नै साथीको रुपमा हुर्किएको जीवन बीमाको अंशलाई साथ नलिँदा भवितब्यबाट हामी झनै बढी पीडित भएका उदाहरणहरुले नै हो हामीलाई जीवन बीमा गराउने । 

तर समय र समाज परिवर्तन हुँदै गएको छ । सहरदेखि गाउँसम्म जीवन बीमाको बारेमा केही नयाँ प्याकेजहरु बाहेक अन्य कुराको व्यख्या गर्नु नपर्ला सायद । सञ्चार माध्यम, अभिकर्ता र अन्य सरोकारवालाहरुको मेहनतमा यो शब्द र यसको महत्वले झनै प्रधानता पाउँदै गएको छ । बीमा जागरणको हिसावले केही जिल्लाहरुका केही स्थानबाहेक जीवन बीमितहरुको संख्या दिनकै बढिरहेको छ । आज व्यक्तिगत होस् वा समूहिक, जीवन होस वा निर्जीवन बीमा, दुबैमा आम मानिसहरुको चासो र सदस्यता बढेको छ । तर बीमा कम्पनीले पनि केन्द्रीकृत प्रणालीमा आवद्ध भएर एकै व्यक्तिको क्षमता बढाएर बीमा गर्नुपर्नेमा जुनपनि पोलिसी निर्माण गरिदिँदा माथि उल्लेखित समस्याहरु बढ्दै गएको पाइन्छ ।

बीमा वास्तवमा बचत र लगानी दुबैको स्थल हो । बीमालाई जोखिम बहन गर्ने माध्यमको साधन रुपमा लिइन्छ । बीमाका विभिन्न कार्यक्रमहरुमा प्रवेश गरेर आवधिभित्र हरेक वर्ष किस्ता बुझाउनु पर्छ । समयमा किस्ता या रकम तिर्दा जीवनको जोखिम अर्थात कुनैपनि अप्रिय घटना घट्यो भने बीमा कम्पनीले उल्लेखित बीमा लेखअनुसारको क्षतिपूर्ति बहन गरेर घटना घटेको परिवारमा राहत उपलब्ध गराउँछ । अर्कोतिर यदी कुनै घटना घटेन भनेपनि समयावधि अनुसारको तत्कालिन व्याज जोडेर बीमितलाई रकम फिर्ता गरिन्छ । यतिमात्र होइन, ३ वर्ष बीमांक रकमको किस्ता तिरेपछि बीमकले ऋण पाउने व्यवस्था पनि छ जसको न्यूनतम ब्याज बीमा कम्पनीलाई तिर्नुपर्ने हुन्छ । कति किस्ता तिरेपछि ऋण पाउने भन्नेचाहिँ विभिन्न बीमा कम्पनीनुसार फरक भने हुनसक्छ । बीमालाई त्यति भएर हाम्रो समाजमा भन्न थालिएको छ - एक पन्त, दुई काम । यसले दुबै तरिकाबाट बीमितलाई सहयोग गरिरहेको हुन्छ । तर बीमा गर्न नसक्नेलाई ऋण दिन्छौँ सकिहाल्नुहुन्छ नि भन्दै बीमा गराउनु र सोही सन्देश जनतामा छर्दै हिँड्नु राम्रो देखिँदैन । हुन त रहर भन्दा कहरमा ध्यान दिइएको बीमा व्यवसायले बीमितको क्षमता भन्दापनि क्षणीक कमिशनको लोभमा बीमा गराइरहेको पनि देख्न सकिन्छ ।

“जुनसुकै वस्तुको अस्तित्व त्यतिञ्जेलसम्म मात्र रहन्छ जतिबेलासम्म त्यसले आफ्नो अस्तित्वविरूद्धको जोखिमलाई रोक्नसक्छ ।” भनाई मिठो र वैज्ञानिक छ तर व्यवहारिक पाटो केलाउँदा नसोचिएको डब्बल, त्रिबल बीमित अवस्थाले असहजता निम्त्याइरहेको छ । किनी आर्थिक भारले गर्दा यतिखेर जोखिमका झन् नयाँनयाँ स्वरुपहरू देखा परिरहेका छन् ।

“जति धेरै जोखिम हुन्छ त्यति नै सफलताको सम्भावना हुन्छ” भन्ने व्यवसायिक जगतमा जोखिम नभएको काम रोज्नु वा जोखिमबाट पन्छनु सम्भव छैन । यो चुनौतिको युगुमा जोखिमरहीत कार्य कल्पनाको कुरा मात्र हो । त्यसैले जोखिमयुक्त वातावरणमै सफलताको बाटो खोज्नु पर्छ । तर सीमा आवश्यक छ ।

यी सबै तत्वहरू बीमा व्यवसायमा विद्यमान रहने हुँदा अन्ततः बीमा नै जोखिम व्यवस्थापनको एउटा सशक्त र व्यवहारिक माध्यमका रूपमा स्थापित गराउन सक्नु तपाइँ सञ्चालकको पनि कर्तव्य हो । बीमा गराउने बहानामा उत्तेजित प्याकेज र ग्राहक तान्ने होडबाजीमा अभिकर्ताको गलत सूचना प्रवाह आखिरमा सबैको लागि घातक बन्न सक्छ । 

यसकारण नसक्ने अवस्थाका जनतालाई बीमामा समेल गराउँ, सक्ने भन्दै अनावश्यक बोझको लागि बीमा गर्न नउस्काऔँ । जोखिम व्यवस्थापनको नाममा उच्चजोखिम क्रियाकलापतर्फ पाइला नचालौँ ।

तपाईँको मत