सेवा

‘सामाजिक सुरक्षा कोष’ मा झण्डै पाँच सयको हाराहारीमा संस्था सामेल

सेवा सुविधाबाट बञ्चितीकरण त राेज्नुभएकाे छैन नी ?

काठमाडौँ । आर्थिक तथा सामाजिक रुपमा मानवीय रक्षाको लागि सुरु भएको सामाजिक सुरक्षा कोष लागू भएको ५० दिन बितेको छ ।  

कोषद्वारा लागू गरिएको ‘योगदानमा आधारित सामाजिक सुरक्षा मंसीर २० गतेसम्म सो कार्यक्रममा एक सय ९६ वटा उद्योग प्रतिष्ठान सूचीकरण प्रक्रियामा सामेल भएका थिए । तर करिब १ महिना पछिको तथ्याँकमा झण्डै ५०० को हाराहारीमा संस्थाहरु सामेल भएका छन् । 

कोषमा निजी क्षेत्रका २१ वटा वर्ग भएका संस्थाहरु आबद्ध भएका छन् । आबद्ध हुने संस्थामा होटल शंकर, सानीमा हाइड्रोपावर, डिप्लेमेन्ट प्रोजेक्ट, कान्तिपुर डिजिटल स्टुडियो, जवसाइट, बैंक, ईन्स्युरेन्स, एनजियो, आइएनजियो, मिडिया ग्रुप, म्यानपावर, सहकारी, हाउजिङ, अनलाइन मिडिया, विद्यालय, मेडिकल कलेज जस्ता सेवा बढी भएका क्षेत्रहरु सूचीकृत भएका छन् । 

मंसिर ६ गतेबाट पाैष ३० गतेसम्म ४७५ वटा संस्था सामाजिक सुरक्षा कोषमा आबद्ध भएको कोषले जनाएको छ । 

कार्यक्रममा सामेल हुनका लागि यही मंसीर ६ गतेदेखि आवेदन खुला गरिएको थियो ।

सूचीकरण प्रक्रियालाई सहज बनाउन कोषले अनलाईन सेवा पनि संचालन गरेको छ । श्रमिकले पेन्सनसहित स्वास्थ्य उपचार, दुर्घटना र आश्रित परिवारलाई समेत पेन्सन पाउने व्यवस्थासहित प्रधानमन्त्री केपी ओलीले गत मंसीर ११ गते मंगलबार कार्यक्रमको औपचारिक उद्घाटन गरेका थिए ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न ‘सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि’ २०७५ मंसिर ११ गते मंगलबार स्वीकृत गरेको थियो । 

कार्यविधिअनुसार सामाजिक सुरक्षा कोषमा योगदान गर्ने श्रमिकले चार प्रकारका सामाजिक सुरक्षा सुविधा प्राप्त गर्नेछन् । उनीहरुले कोषबाट औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा योजनाअनुसारको सामाजिक सुरक्षा प्राप्त गर्ने उल्लेख छ । 

लामो समय योगदान गरेका श्रमिकले ‘रित्तो हात’ घर फर्कनुपर्ने अवस्थाको अन्त्य गर्दै निश्चित अवधि सेवा गरेपछि निवृत्तीभरण (पेन्सन) प्राप्त गर्न सकिने ‘योगदानमा आधारित सामाजिक सुरक्षा’ कार्यक्रमको शुभारम्भ भएको थियो । 

कोषमा रोजगारदाताको २० प्रतिशत र श्रमिकको ११ प्रतिशत गरी ३१ प्रतिशत योगदान रहने व्यवस्था गरिएको छ । 

सामाजिक सुरक्षा कोषमा संस्थाहरुलाई आबद्ध गराउनको लागि सुरक्षा कोषले विभिन्न कार्यक्रमहरु गरी प्रचारप्रसार गरिरहेका छन् । अझै पनि कति संस्थाहरुलाई सामाजिक सुरक्षा कोषको बारेमा थाहा नभएकाले सामाजिक सुरक्षाको हक सुनिश्चत गर्न विभिन्न स्थानमा प्रचार-प्रसार गर्नु परेको सामाजिक सुरक्षा कोषकी निर्देशक रमा भट्टराईले बताइन् ।

कुनैपनि रोजगारदाताले सामाजिक सुरक्षा कोषमा आबद्ध हुन चाहेनन् भने उसलाई सरकारबाट हुने सबै सेवा सुविधाबाट बञ्चित गरिने घोषणा गरिसकेको छ ।

योगदानकर्ता सूचीकरणको प्रक्रिया भने हालसम्म शुरु भैसकेको छैन ।
 

तपाईँको मत