समाज

कपूत होइन, सपूत बन — डा. लोहनी

काठमाडौँ । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले नेपालका राजनीतिक दलहरुलाई सपूत बन्न सुझाव दिएका छन् । 

२९७औँ पृथ्वी जयन्तीका अवसरमा शुक्रबार काठमाडौँ नयाँ बानेश्वरमा आयोजित चियापान तथा शुभकामना-आदानप्रदान कार्यक्रममा डा. लोहनीले नेपालका राजनीतिक दलहरुका नेताहरुलाई कपूत नभएर सपूत बन्न सुझाव दिएका हुन् ।

उनले सरकारले कपूत शैली अपनाइरहेको आरोपपनि लगाए ।

कार्यक्रममा उनले भने, ‘नेपाल सरकारले कपूत शैलीको प्रवृत्ति देखाइरहेको छ । नेपाल एकीकरण गर्ने महान व्यक्तित्वलाई भुलेर होइन, सम्मान गरेर सपुत बन्नुस् ।’ 

कार्यक्रममा उनले विश्व मानचित्रमा नेपाललाई स्वतन्त्र र सार्वभौम राष्ट्रका रूपमा स्थापित गराउने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदानलाई नेपालीले बिर्सन नहुने पनि बताए ।

उनले भने, ‘पृथ्वीनारायणले बाइसे चौबिसे राज्यमा छरिएको भूगोललाई एकीकरणको परिकल्पना गरी आधुनिक नेपाल निर्माण गरेको स्मरण गर्नु आवश्यक छ । नेपालको यस्तो इतिहास बिर्सेर कहिले पनि र कोहीपनि महान बन्न सक्दैनन् ।’ 

जयन्ती कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, राप्रपा (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशम्शेर जवरा, नेकपा (माले) का महासचिव सिपी मैनाली, पूर्वप्रधानसेनापति रुक्माङ्गत कटवाल, संविधानविद भीमार्जुन आचार्य, साहित्यकार, कलाकारसहित सयौँ कार्यकर्ताको उपस्थिति थियो ।
 

तपाईँको मत