‘सर घर, खेत छ तपाइँसँग, मौरी पाल्नुहोस न !’

युवा नलजाए, ‘बेमौसमी तरकारी खेती’ ले रोक्न सक्षम बन्छ-वैदेशिक यात्रा

एक पढेका अर्थशास्त्रीले निराश हुँदै पैसाकै अभाव भयो भनिरहँदा अर्का उद्यमीले जवाफ दिए, ‘सर घर, खेत छ तपाइँसँग, मौरी पाल्नुहोस न !’

शब्द नसकिँदै उनि जँगिए र भने, ‘तपाइँले लेभल भूलेर कुरा गर्दै हुनुहुन्छ, भो कुरा नगर्नुहोस् ।’

नजिकै रहेको मलाई दुईबीचका अन्र्तक्रिया त्यति असहज त लागेको थिएन तर दोस्रो साथीले शब्द ग्रहणलाई लिएर अफ्ट्यारो मात्र लाग्यो । शब्दहरु यसै रहे ।

यो एक पढेका अर्थशास्त्रीको मात्र समस्या होइन, प्रत्येक नेपालीले भोगेको समस्या हो यो । पढेकाले कृषि काम गर्नु नहुने सोचको नमूना हो यो । दोश दुबैको छैन तर अर्थशास्त्रीले मौरी पालन गर्ने कुरालाई नराम्रोसँग लिए । मानौँ उनलाई गिराएरै कुरा गरियो ।

देशमा अहिले बेरोजगारीको प्रतिशत बढ्दै गएको छ । दैनिक १५सय बढी युवा अझै विदेसिन्छन् । खेत बाँझै छ तर सहर र विदेश जानुछ सबैलाई । छोटो समयमा पैसा कमाउने भूत चढेको छ, मानौ विदेशमा साना बोट छन अनि टिपेर देश तथा परिवारमा पठाउने जस्तो । देशमा काम गर्दा लाज हुन्छ अनि विदेश जाने फेशन नै बनेको छ, केही प्रतिशत बाहेक । उद्यमका कुरा देशमा कम हुन्छन् । यहीकारण न कृषि फस्टाएको छ न कुनै उद्योग नै । सेवा प्रवाहको नामका नाफामुखी उद्योगमात्र चलेका देखिन्छन् । यहीकारण पनि बाँझा खेत र स्रोतहरुले हामीलाई दिनकै सरापीरहेका छन् । हामी काम नै नगरी कमाउने र शौखिन हुने रोग हामीमा बढ्दैछ ।

नेपालमा करिब ६६ प्रतिशत जनता कृषि पेशामा निर्भर रहेका छन् । नेपाली अर्थतन्त्रको मेरुदण्ड भनेकै कृषि क्षेत्र हो । देशको ८० प्रतिशतभन्दा बढी जनसंख्या ग्रामीण क्षेत्रमा बसोबास गर्छन् र यस क्षेत्रका जनताको आय आर्जन एवं रोजगारीको प्रमुख स्रोत नै कृषि भएकोले कृषि तथा ग्रामीण क्षेत्रको एकिकृत विकासमा नै मुलुकको सम्पूर्ण विकास निर्भर भएको हुन्छ भन्दा फरक नपर्ला । कृषिमा आश्रित भएको यस परिप्रेक्ष्यमा देश विकासका प्रयासहरू कृषिमुखी हुनु आवश्यक छ । कृषि क्षेत्रको व्यवसयिक विकास र सम्पूर्ण स्रोत–साधनहरू यही क्षेत्रमा खर्च गर्न सके मात्र विकासको द्वारसँगै आत्मर्निर्भरतामा बल पुग्ने देखिन्छ । 

चालू योजनालाई आधार मान्दा कृषि क्षेत्रले नेपालको कूल गार्हस्थ उत्पादनको ३१.२ प्रतिशत ओगटेको छ र देशको दुइतिहाइ सक्रिय जनसंख्यालाई रोजगारी समेत दिएको छ । करिब २३.१ प्रतिशत भन्दा बढी नेपाली जनताहरू गरिबीको रेखामुनि छन् र ती मध्ये बहुसंख्यक जनताहरू ग्रामीण क्षेत्रमा बसोबास गर्दछन् । लगभग् ४० प्रतिशतभन्दा बढी नेपालीहरू दैनिक आवश्यक पर्ने शक्तिको लागि खाद्यान्न आपूर्ति गर्न असक्षम छन् । यसले गर्दा ग्रामीण क्षेत्रमा बसोबास गर्ने कृषकहरू शिक्षाको कमी र कृषि सामग्रीहरूको सीमित पहँुचका कारणले बढी जोखिममा परेका छन् । त्यति हुँदाहुँदै पनि, सीमित बाह्य सामग्रीको प्रयोग गरी उन्नत कृषि पद्धति अपनाएर कृषि उत्पादन बढाउन सक्ने अपेक्षित क्षमता राखेकै देखिन्छन् । 

नेपालमा कृषि क्षेत्रको विकास र विस्तार गर्नको लागि विभिन्न समयमा विभिन्न नीति र रणनीतिहरू स्थापीत भए अनि गए । विगतमा कृषि पेशा एक निर्वाहमुखी तथा परम्परागत शैलीमा आधारित थियो । तर, हाल आएर यो क्षेत्र आधुनिकीकरणतिर उन्मुख भइरहेको छ । नेपाल विश्व व्यापार संगठनको सदस्य भइसकेको यो अवस्थामा, हाम्रो भौगोलिक धरातलअनुसार विभिन्न कृषि उपजहरू उत्पादन हुने संभावना भएको, देशका युवा शक्ति कामको खोजीमा विदेशतिर आकर्षित भएर कष्टकर र जोखिम कार्य गर्न बाध्य भएको परिप्रेक्ष्यमा आर्थिक वृद्धि, रोजगारी , आयात प्रतिस्थापन, र खाद्यसुरक्षाका लागि कृषि क्षेत्रकोे आधुनिकीकरण र व्यावसायिक रूपमा नगदे बालीलाई प्राथमिकता दिनु आवश्यक देखिन्छ । यहि भएर पनि बेमौसमी तरकारी खेती उपयुक्त भएको जग्जाहेर छ । यसैक्षेत्रको विकासको लागि पछिल्लो समयमा बेमौसमी तरकारीको खेती बहुचर्चित विषयभित्र पर्न गएको छ । पूर्ति र मागको समायोजनको लागि पनि बेमौसमी तरकारी खेती अहिलेको अपरिहार्यता बनेको छ । खेतियोग्य जमीन भएका त्यसमा पनि कम जमीनको प्रयोगमा उच्च उत्पादन गर्न सकिने भएको हुनाले पनि यस्ता उत्पादनहरूको योगदान् दिन–प्रतिदिन बढ्न गएको हो । बजारमा यस्ता उत्पादनको माग पनि बढ्दो रहेको छ । यसले कृषि बजारीकरण, व्यवसायीकरण र विस्तारमा बढवा दिएको सबैसामू प्रष्ट छ ।

समुन्द्री सतहवाट हरेक ३०० मिटरको उचाइमा १ डिग्री सेन्टिग्रेड तापक्रम घट्दै जाने हुनाले त्यसै अनुसार बेमौसमी तरकारी उत्पादनको समय र तरिकाहरू अपनाइन्छ । नेपालमा खासगरी असार देखि मंसिर महिनासम्म उत्पादन गरिने तरकारी बालीलाई नै बेमौसमी तरकारी बाली भनिएको छ । यो समयमा उत्पादन हुने तरकारी अभाव हुने र बढी मूल्य पर्ने हुन्छ र यही कारणले किसानहरू बढी आकर्षित भैरहेका छन् । साेचेजति मानिसहरूकाे सहभागिता चाहिँ छँदैछैन ।

नेपालका मूख्य बेमौसमी तरकारी उत्पादनहरू, बाली लगाउने र उठाउने समय फरक रहेको छ । आलु मध्य सेप्टेम्बर, सुरु नोभेम्बर र जनवरी, फेब्रुअरी देखि मे सम्म बाली लगाइन्छ भने जनवरी, देखि मे सम्ममा बाली उठाउने गरिन्छ । यसरीनै टमाटर डिसेम्बरमा नर्सरी, मार्चमा रिप्लान्टेसन गरिन्छ भने मे देखि जुलाईसम्म बली उठाउने गरिन्छ । बैगन÷भन्टा मध्य फेब्रुअरी, जुनको अन्त्य र मध्य नोभेम्बरमा बाली लगाइन्छ भने मे देखि सेप्टेम्बरमा समाप्त, डिसेम्बर र अप्रिल देखि जुन मा बाली उठाउने गरिन्छ । यस्तै मूला जुलाई देखि डिसेम्बर र फेब्रुअरी र मार्चमा बाली लगाइन्छ भने सेप्टेम्बर देखि अक्टुबर, नोभेम्बर देखि जुन, जनवरी देखि मार्च र अप्रिल देखि मे भित्र बाली उठाउने गरिन्छ । क्रमशः फुलगोबी/काउली मे को अन्त्य देखि जुलाइ र अगष्ट मा बाली लगाउने र सेप्टेम्बर देखि जनवरीमा बाली उठाउने गरिन्छ । बन्दागोबी सेप्टेम्बर देखि नोभेम्बर र अगष्ट देखि अक्टुबरमा बाली लगाइन्छ र जनवरी देखि मार्च र डिसेम्बर देखि अप्रिलमा भित्र्याइन्छ । अदुवा अक्टुबरमा बाली लगाइन्छ भने मे मा बाली उठाइन्छ । 

यस्तै प्याज मे जुलाइ, अगष्ट र मध्य अक्टुबर देखि नोभेम्बरमा बाली लगाइन्छ भने फेब्रुअरी देखि मार्च र मे देखि जुनमा बाली उठाइन्छ । गाजर मे जुलाइ, अगष्ट र मध्य अक्टुबर देखि नोभेम्बरमा लगाएर डिसेम्बर देखि मार्च र अप्रिल देखि जुनमा उठाउने गरिन्छ । यस्तै सलाद र पालक सेप्टेम्बर र अक्टुबरमा बाली लगाएर क्रमश जनवरी र फेव्रुवरी अनि अक्टुबर देखि मार्चसम्म बाली उठाइन्छ । यसरीनै काँक्रो अक्टुबर सेप्टेम्बरको अन्त्यबाट मध्य नोभेम्बर सम्म बलाी लगाएर नोभेम्बर, डिसेम्बर, फेब्रुअरी र मार्चभित्र बाली उठाइन्छ । खुर्सानी फेब्रुअरी र मार्चमा लगाएर फेब्रुअरी र मार्च । अप्रिलदेखि जुलाईमा बाली उठाउने गरिन्छ । यस्तै मेथी अप्रिलमा बाली लगाएर अप्रिल अगष्ट देखि सेप्टेम्बरमा बाली उठाउने गरिन्छ । 

बेमौसमी तरकारीबाट बढी र चाँडै आम्दानी हुने, बेमौसममा पनि ताजा तरकारी उपभोग गर्न पाइने, पोषण तत्व उपलब्ध हुने, साथै विदेशमा निर्यात गरी विदेशी मुद्रा आर्जन गर्न सकिने, स्थानीय स्तरमा दक्ष, अर्धदक्ष तथा प्राविधिकहरूले रोजगारी सिर्जना हुने र तरकारी खेतीको व्यावसायीकरण हुने आदि विविध फाइदाहरू रहेका छन् । यसका साथै जनताको जीवनस्तरमा धेरै परिवर्तन पनि सम्भव गराएको पाइन्छ । बेमौसमी तरकारीको अधिक मागका कारण कृषक, बजार, थोकबिक्रेता र खुद्राबिक्रेता सबैको आर्थिक अवस्थामा फाइदा पुग्न गएको छ ।  यसका साथै यहि खेतीकै कारण गाऊँका अन्य विकासका पक्षहरूमा पनि परिवर्तन पुग्न गएको छ । तरकारी खेतीको बजारीकरणका लागि यातायात, बिक्री, प्रत्यक्ष बिक्री, मध्यस्थकर्ताबाट बिक्री, उत्पादक देखि उपभोक्ता, कृषक खुद्राबिक्रेता र उपभोक्ता, उत्पादक—कृषक समूह—र उपभोक्ता, कृषक—मध्यस्थकर्ता—खुद्राबिक्रेता—उपभोक्ता र कृषक—सहकारी—खुद्राबिक्रेता हुँदै उपभोक्ता बजार मार्गको प्रयोग हुने गर्दछन् । कृषि क्षेत्रलाई राष्ट्रको अर्थतन्त्रको मेरुदण्डको रुपमा अंगीकार गर्दै कृषि क्षेत्रको आधुनिकीकरण तथा व्यवसायीकरण गरी खाद्य तथा पोषण सुरक्षा, रोजगारी सिर्जना र गरिबी न्यूनीकरण तथा व्यापार सन्तुलनमा कृषि क्षेत्रको योगदान बढाउने र कृषक एवं अन्य सरोकारवालाहरूको आवश्यकता अनुरुप कृषि तथा पशुपक्षीजन्य वस्तुहरूको उत्पादन तथा उत्पादकत्वमा वृद्धि गरी ग्रामीण जनताको आर्थिक स्तरमा सुधार गर्ने उद्देश्य चालू योजनाले लिएको छ । तर, अझै युवा अाकर्षणमा छैनन् ।

नेपाली बजार व्यवस्था मौलिक प्रकृतिको छ । व्यवसायिकरूपमा सेवामुखी भावनाको कमी हुनु, वस्तु प्रतिस्पर्धामा कमी, अनुसन्धान तथा विकास विस्तारमा खासै चासो नदेखाउनु, परम्परागत प्रणाली लाई निरन्तरता दिनु, नयाँ प्रविधिको अभाव, खुला सिमानाका कारण अनियन्त्रित बजार, नयाँ अवसरहरूको कमी, उन्नत प्रविधिको अभाव, अस्थिर सरकारका कारण नीति बनाउनेहरूमा बजार व्यवस्थापनसम्बन्धी ज्ञानको अभाव आदि जस्ता पक्षहरूले यस क्षेत्रमा समस्या थुपारेका छन् । सबै कुराहरू राम्रा देखिएतापनि यस क्षेत्रमा अझ परिवर्तन ल्याउनका लागि नीति निर्माता र कृषकहरूलाई बजार व्यवस्थापन, विउको उपलब्धता, बाली शिक्षा र अभ्यास, प्राविधिक ज्ञान, बजारको विस्तार संगै पहुँचता र स्थानीय सरकारी एवम् गैरसरकारी संस्थाहरूको संलग्नतालाई समेटनु जरुरीे छ । यसले गर्दा कम्तिमा पनि तरकारीमा भएको परनिर्भरतामा कमी आई आत्मनिर्भर कृषिको लागि बाटो खुल्ला हुने पक्का छ । युवा, अब यता साेच्ने की !

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत