प्रेरणा

किन कोही मानिस साह्रै भाग्यमानी हुन्छन् ?

किन केही मानिसहरू साह्रै भाग्यमानी हुन्छन् ? तपाईंले आफैलाई यी प्रश्न गरिराख्नुहुन्छ भने एक पटक पुनस् सोच्नुस् । “मानिसहरूले राम्रो हुन् वा नराम्रो आफ्ना भाग्य आफै कोर्छन्,” मनोविज्ञ रिचर्ड वाइजमन भन्छन् । वाइजमनले भाग्यको भूमिका र मानिसहरूको जीवनमा त्यसले पारेको प्रभावबारे अध्ययन गरिराखेका छन् । उनले त्यसलाई ‘वैज्ञानिक अनुसन्धान’ भनेका छन् जसले आफूलाई भाग्यमानी र भाग्यमानी नभएको ठान्नेहरूबीचको भिन्नता हेरिराखेको छ ।

निष्कर्ष के त ? भाग्य कुनै जादुयी क्षमता वा अप्रत्यासित नतिजा नभइ यो हामी कसरी सोच्छौँ र काम गर्छौ भन्ने हो । खासगरी, भाग्यमानी भनिने वा आफूलाई भाग्यमानी ठान्ने मानिसहरूले यी चार कुरा ठिकसँग गर्छन् ।

१. नयाँ अवसरहरूको पहिचान
आफूलाई भाग्यमानी ठान्ने मानिसहरू सही समय पहिचान गर्दै त्यसको सदुपयोग गर्छन् । जब उनीहरूले अगाडि नयाँ बाटो देख्छन्, खुशी साथ त्यस बाटोमा हिँड्छन् ।

भाग्यले साथ नदिएको ठान्नेहरूका हकमा भने त्यो ठ्याक्कै उल्टो हुन्छ, वाइजमन भन्छन् । “उनीहरू एउटै बाटोमा हुन्छन्। जसकै कारण अवसरहरू देखिए पनि उनीहरू त्यसको सदुपयोग गर्न डराउँछन् ।”

२. अन्तरआत्मालाई सुन्नु

नयाँ अवसरलाई सदुपयोग गर्नका लागि अन्तरआत्मालाई सुन्नुको अर्थ धेरै हुन्छ । भाग्यमानी मानिसहरू त्यसो गर्न धक मान्दैनन् । उनीहरूलाई केही कुरा ठिक लाग्यो भने त्यसमा ढुक्कैसँग विश्वास गरेर अगाडि बढ्छन् ।

अर्कोतर्फ आफूलाई भाग्यमानी नठान्नेहरू स्वभावैले धेरै गहिरिएर परिस्थितिको समीक्षा गर्छन्। जुन उनीहरूका लागि प्रत्युत्पादक भइदिन्छ।

वाइजमन भन्छन्, “उनीहरूका काम सफल हुनका लागि धेरै समय लाग्छ र उनीहरूको सोचाई धेरै फलदायी समेत भएको पाइँदैन।”

३. सफल हुने आशा

आशावादी मानिसहरूका रूपमा हेरिने भाग्यमानीहरू आफ्ना हरेक काममा सफल भइने सोच्छन् । “उनीहरू आफ्ना कामहरू राम्ररी हुने ठान्छन् र सोही धारणाले नै त्यो सजिलै पूरा भइदिए जस्तो हुन्छ,” वाइजमन भन्छन् ।

सधैभरी यसले काम गर्छ भन्ने छैन तर सकारात्मक सोचले अप्ठ्यारो परिस्थितिमा पनि गतिशील भइरहन भने सघाउँछ । यो गुणको प्रभाव यस्तो हुन्छ कि त्यसले अरू मानिसहरूलाई सहजै आकर्षित गर्छ ।

आफूलाई भाग्यमानी नठान्नेहरूमा भने निराशावादी सोच हावी भइदिन्छ । वाइजमनका अनुसार ‘आफ्ना उदास शैलीका कारण मानिसहरू त्यस्ता व्यक्तिहरूबाट पञ्छिन खोज्छन् ।’

४. सकारात्मक रहनु

यस स्वभावको साँचो भनेको सकारात्मक रहनु हो । नराम्रा कुराहरू सबैको जीवनमा घट्छन् तर भाग्यमानी मानिसहरू यस्तै अनुभवले त्यस्ता परिवेशमा काबु पाउन सक्छन् ।

उनीहरू त्यस्तो परिस्थिति बुझेरै अगाडि बढ्छन् । यसले खराब समयलाई पनि राम्रोमा परिणत गर्छ । तर आफूलाई भाग्यमानी नठान्नेहरू स(साना नकारात्मक कुराबाटै चिन्तित हुन्छन् । उनीहरू भविष्य बेरङ्गको हुँदैछ भन्ने सोचेर पर्यत्न गर्नु नै बेकार रहेको ठान्छन्।

भाग्यमानी हुन चाहनुहुन्छ ?

रिचर्ड वाइजमन भन्छन्, केही तरिका अपनाइयो भने जोकोही भाग्यमानी मानिसजसरी सोच्न र व्यवहार गर्न सक्छन् । त्योमध्ये एउटा ‘भाग्य डायरी’ बनाउनु र आफूलाई भाग्यमानी सोच्न थाल्नु पनि हो । “जेजस्तो भए पनि आफूमा घटेका सबैभन्दा सकारात्मक वा राम्रो कुरा के हो, त्यो लेख्नुहोस् ।”

यसले नकारात्मकता हटाएर जीवनका सकारात्मक पक्षमा केन्द्रित हुन सघाउँछ । हामीसँग हुने कतिपय घटना हाम्रो बसमा हुँदैनन् तर ‘भाग्य डायरी’ बनाउँदा हामीले त्यस्ता अवस्थासँग कसरी जुझ्ने भन्ने सिक्छौँ ।

त्यो रातारात भइहाल्ने कुरा होइन, वाइजमन भन्छन्, “तर केही हप्तामै मानिसमा यसको साँच्चिकै असर पर्न थाल्नेछ ।”

गाउँ सहर डेस्क

तपाईँको मत