गाउँ सहर

बन्दीपुर डुम्रे बजारस्थित सार्वजनिक जग्गामा सञ्चालित पेट्रोलपम्प बन्द

  • २७ मङ्सिर बिहीबार, २०७५ | ११:५३:०० मा प्रकाशित

दमौली । तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रे बजारस्थित सार्वजनिक जग्गामा सञ्चालित छाब्दी आयल स्टोर्स गाउँपालिकाले बन्द गराएको छ ।

मङ्सिर ४ गते बसेको गाउँ कार्यपालिकाको बैठकको निर्णयअनुसार गाउँपालिकाले आज उक्त पेट्रोलपम्प बन्द गराएको हो । 

विगत १०/१२ वर्षदेखि सार्वजनिक जग्गा मिचेर सञ्चालन हुँदै आएको स्टोर्सलाई पटक–पटक उक्त ठाउँबाट हट्न आग्रह गरे पनि अटेर गरेपछि बन्द गर्नुपरेको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए । 

पृथ्वी राजमार्गको १० मिटर छेउमै सञ्चालित पेट्रोलपम्पले गर्दा बजार व्यवस्थापन गर्ने अभियानमा असहज भएपछि पेट्रोलपम्प बन्द गराइएको उनले जानकारी दिए । उनले भने, “बजार व्यवस्थापन गर्नका लागि स्थानीयवासीले पनि उक्त पेट्रोलपम्प त्यहाँबाट हटाउनुपर्ने माग राखेका थिए । पेट्रोलपम्पकै कारण बजार क्षेत्रमा सार्वजनिक सवारीसमेत अस्तव्यस्त हुने गरेको थियो ।” 

सार्वजनिक जग्गाबाट पेट्रोलपम्प हटाउन यसअघि नेपाल आयल निगम, सडक डिभिजन कार्यालय तनहुँ र गाउँपालिकाले पटक–पटक आग्रह गरेको थियो । सार्वजनिक जग्गाको संरक्षण गर्ने अभियानमा गाउँपालिका रहेकाले अन्य ठाउँका अतिक्रमित संरचनासमेत क्रमशः हटाउँदै जाने थापाले बताए। 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले केही समय अघिदेखिनै सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएको घर तथा टहरा भत्काउने अभियान शुरु गरिएको जानकारी दिए । स्टोर्सका सञ्चालक राजकपुर पियाले भने बिना जानकारी गाउँपालिकाले पेट्रोलपम्प बन्द गराएको प्रतिक्रिया दिए। 
 

तपाईँको मत