गाउँ सहर

बस र स्कार्पियो ठोक्किँदा बेहुलाका बाबुआमासहित ६ को मृत्यु

  • २७ मङ्सिर बिहीबार, २०७५ | ०७:२५:०० मा प्रकाशित

दाङ ।  चितवनबाट बाँकेको शम्शेरगञ्जका लागि जन्ती लिएर हिँडेको स्कार्पियो र यात्रु बस ठोक्किएर दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ। बा १२ च ३१२२ नम्बरको स्कार्पियो र महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको ना ५ ख ४०९० नम्बरको बस बिहिबार बिहान ठोक्किएर दुर्घटना भएको हो । 

मृत्यु हुनेहरुमा बाँकेको राप्ती सोनारीगाउँपालिका -८ शम्शेरगञ्ज बस्ने ४९ वर्षीय विश्वनाथ अधिकारी, ५ वर्षीय प्रविण केसी, ५३ वर्षीय मानबहादुर केसी छन् । उनीहरूको लमहीस्थित फ्लोरेन्स अस्पतालमा उपचारका क्रममा मृत्यु हो ।

यस्तै सोही गाउँपालिका ८ की ४९ वर्षीया बिमला खत्री, ३१ वर्षीय दीपककुमार खड्का र कोहलपुर नगरपालिका १२ का ७८ वर्षीय दक्तबहादुर खत्रीको लमही अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय लमहिका निमित्त प्रमुख पुरण मल्लले जानकारी दिए ।

मृत्यु हुनेमा दुलाहाका बुवा मानबहादुर केसी, आमा बिमला खत्री र भतिज प्रविन केसी रहेका स्थानीय खेमराज गौतमले बताए। घाइतेमा राप्तीसोनारी -८ की ४५ वर्षीया गीतादेवी खत्री र चालक यमबहादुर बुढा रहेका छन् ।

घाइते दुवैलाई कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको फ्लोरेन्स अस्पताल लमहीका प्रमुख डा।पुष्प भुषालले बताए। मृतक सबैको शव पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ ।

तपाईँको मत