गाउँ सहर

विवाह पञ्चमी : योगी आदित्यनाथको जनकपुर भ्रमणबाट मोदीलाई के फाइदा ?

बीबीसी

जनकपुरमा आयोजित रामजानकी विवाह महोत्सवमा भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथको उपस्थितीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको धार्मिक कूटनीतिका रूपमा पनि अर्थ्याइएको छ ।

विवाह पञ्चमीका अवसरमा रामको जन्तीको टोलीलाई नेतृत्व गर्न योगी आदित्यनाथ बुधवार विहान जनकपुर आइपुगेका हुन् ।

रामको जन्मभूमि मानिने अयोध्याबाट हरेक वर्ष सीताको माइतीघर जनकपुरधाममा साधुसन्तहरूको टोलीसहित जन्ती आउने प्रचलन रहेको छ ।

दुलही पक्षको भूमिकामा रहने जनकपुरवासीले जन्तीको ठूलो स्वागत सत्कार गर्ने परम्परामा यसपटक उत्तर प्रदेशका मुख्यमन्त्रीको सहभागिताका कारण विशेष चहलपहल र रौनक थपिएको त छ नै चर्चा पनि ठूलै भएको छ ।

भारतको गोरखनाथ मठका प्रमुख तथा उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथलाई नै भगवान रामको जन्तीको नेतृत्वकर्ता बनाएर जनकपुर पठाउनुका पछाडि भारतको हिन्दूत्ववादी पार्टी बीजेपीका नेता तथा प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष स्वार्थ रहेको भनि विभिन्न टिप्पणीहरू भइरहेका छन् ।

नेपाल भारत सम्बन्धका जानकार तथा भारतीय सेनाका भूतपूर्व अधिकारी अशोक मेहता भन्छन् योगी आदित्यनाथमार्फत् प्रधानमन्त्री मोदी धार्मिक कूटनीति बढाउने प्रयासमा छन् ।

बीबीसीसँग कुरा गर्दै राजनीतिक टिप्पणीकार पनि रहेका जनरल अशोक मेहताले "काम नपाएर पटक(पटक नेपाल आउने गरेको" भन्ने आलोचनालाई पन्छाउन पनि प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना प्रतिनिधिका रूपमा योगी आदित्यनाथलाई जनकपुर पठाएको टिप्पणी गरे ।

मेहताले भने, "धार्मिक कूटनीतिलाई बढावा दिने प्रयासमा मोदीजीले योगी आदित्यनाथलाई नेपाल पठाएका हुन् । तर धार्मिक कूटनीतिभन्दा यसको राजनीतिक सन्देश बेसी छ ।"

यद्यपि त्यो राजनीतिक सन्देशबारे मेहताले विस्तृत केही खुलाएनन् ।

राजनीतिक फाइदा
तर सन् २०१९ मा भारतमा हुने आमनिर्वाचनमा सत्तारूढ भारतीय जनता पार्टीलाई योगी आदित्यनाथको भ्रमणले राजनीतिक फाइदा पुर्‍याउन सक्ने मेहताको ठम्याइ छ ।

उत्तरप्रदेशको राजधानी लखनउबाट नौजना मात्र अट्ने सानो विमानमा जनकपुर पुगेका योगी आदित्यनाथलाई जन्तीका रूपमा स्वागत गरिएको थियो ।

हिन्दूत्ववादी नेता योगी आदित्यनाथको सुरक्षालाई मध्यनजर गर्दै जनकपुरमा सुरक्षा व्यवस्था अत्यन्त कडा बनाइएको थियो ।

योगी आदित्यनाथ आउनुभन्दा केहीबेर अगावै जानकी मन्दिरको भित्री र बाहिरी भागबाट सर्वसाधारणलाई हटाइएको थियो ।

मन्दिरमा करिब पाँच घण्टासम्म सर्वसधारणको पूजाआजामा रोक लगाइएको थियो ।

विश्वास
हिन्दू धर्मशास्त्र अनुसार त्रेतायुगमा राम र सीताको जनकपुरधाममा विवाह भएको थियो। सीता स्वयंवरमा राम र उनका भाइहरूसँगै आएको धार्मिक विश्वास छ ।

रामले जनकराजाको दर्वारमा रहेको शिव धनुष तोडेपछि सीतासँग विवाह तय भएको थियो र रामका पिता दशरथले अयोध्याबाट जन्ती लिएर आएपछि विवाह भएको थियो ।

२०६२ सालदेखि अयोध्याबाट जन्ती आउन थालेको हो । तर पहिलो पटक जन्तीको नेतृत्व रामजन्मभूमि मानिने अयोध्या रहेको प्रदेशका मुख्यमन्त्रीले गरेका हुन् ।

यसअघि साधुसन्तहरू नै जन्ती  भएर आउने गर्थे । विगतका तुलनामा विवाह महोत्सवमा यो वर्ष बढी रौनक देखिएको छ भने खर्च पनि बढी नै गरिएको देखिन्छ ।

जानकी मन्दिरलाई बेहुलीझैँ सिँगारिएको छ। जन्तीको सम्मानमा प्रदेश सरकारले भण्डाराको आयोजना गरेको छ ।

जन्ती भएर आएका साधुसन्तलाई प्रदेश सरकारले बिदाइ समेत गरेको छ । बिदाइमा जन्तीलाई सीताराम अङ्कित वस्त्र प्रदान गरेको छ । 

तपाईँको मत